Friday, January 24, 2025
Homebreaking-newsसमृद्ध नगरका लागि नेतृत्वको आकांक्षा

समृद्ध नगरका लागि नेतृत्वको आकांक्षा

- Advertisement -spot_img

स्थानीय तहको निर्वाचनको मिति आउन एक महिना पनि छैन् । बैशाख ३० मा हुने पालिकाको निर्वाचन मिति नजिकिदै जाँदा पालिकाको प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी घोषणा हुनेक्रम चलिरहेको छ । बैशाख ११ र १२ मा हुने उम्मेदवारी मनोनयनको समय नजिकिदै गएको अवस्थामा दललाई उम्मेदवार छनौटलाई तिब्रता दिएका छन् । प्रदेश टुडे राष्ट्रिय दैनिकले ‘आकांक्षी उम्मेदवारहरू सँग प्रदेश टुडे’ अभियान चलाएको छ । तुलसीपुर उपमहानगरपालिकाको नगरप्रमुखको आकांक्षा व्यक्त गरेकी नेकपा एमालेकी नेतृ माया आचार्य सँग अभियान अन्तर्गत संवाद गरेका छौं ।


स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा तपाईको तयारी कस्तो हुदैछ ?
पक्कै पनी स्थानीय तहको निर्वाचन नजिकिएको छ । चुनावी माहोल तातिरहेको छ । यो समयमा मैले नागरिकको घर–घरमा जाने, उहाँहरूका आवश्यकता, समस्याहरूको पहिचान गर्ने गरिरहेकी छु । हिजोका दिनमा पनि जनतामाझ गएर उहाँहरूसँग बस्ने, उहाँहरूका कुराहरू सुन्ने, मनन गर्ने काम मेरो निरन्तर चलिरहेकै हो । निर्वाचन नजिकिदै गर्दा चुनावलाई लक्षित गर्दै जनतासँगको भेटघाट, संवाद तिव्र बनाएको छु ।

उपमहानगरको प्रमुख पदमा तपाईको आकांक्षा देखिन्छ, तपाईको आकांक्षा किन ?

हो, म तुलसीपुर उपमहा–नगरपालिकाको प्रमुख पदको आकांक्षी हुँ । स्थानीय तहको चुनाव आइरहेका बेला अन्य व्यक्तिहरूको आकांक्षा बढ्दा मेरो पनि आकांक्षा हुनु स्वभाविक नै हो । एक पटकको कार्यकाल सफल भएको छ । वि.सं २०७४ को स्थानीय तहको निर्वाचन पछि मैले उपप्रमुखको जिम्मेवारी प्राप्त गरेर उपप्रमुखको रूपमा काम पनि गरिसकेकी छु ।

पाँच वर्षको कार्यकालमा मैले उपप्रमुखमा रहेर काम गर्दै गर्दा सिंगो उपमहानगरको अवस्था, यहाँको आवश्यकता, नागरिकका समस्याहरूलाई नजिकबाट बुझ्ने, समस्या समाधान गर्ने गरे । सिंगो उपमहानगर–पालिकालाई कसरी चलायमान गराउन सकिन्छ भन्नेबारे मेरो अनुभव पनि छ । उपप्रमुखको रूपमा रहे पनि मैले प्रमुखको सरह काम गर्दै आएकी छु ।

मेरो हरेक गतिविधिहरूलाई आमजनताले उत्कृष्ट मान्दै आउनुभएको छ । यसर्थ जनताको हौसलाकै कारणले पनि मैले मेयर पद दाबी गरेकी हुँ । अब सिंगो उपमहानगरको सुशासनलाई व्यवस्थित गर्दै विकाससँगै सामाजिक समावेशीताको ढंगले काम गर्न, योजनावद्ध रूपमा काम गर्न, दिगो विकासलाई सुनिश्चित गर्नका लागि पनि उपमाहनगरको प्रमुखमा मेरो आकांक्षा बढेको हो ।

एकपटक उपप्रमुख भएर काम गरिसकेपछि सहज र कुशल ढंगले नगर प्रमुखको रूपमा काम गर्ने आँट, दक्षता, क्षमता मसँग छ । नागरिकको आवश्यकता, सिंगोे उपमहानगरको आवश्यकतालाई प्रत्याभूत गर्न सक्ने क्षमता ममा भएकाले पनि म प्रमुखमा आउन खोजेको छु ।

पार्टीले टिकट दिनेमा कति ढुक्क हुनुहुन्छ ?

पार्टीले टिकट दिनुपर्छ । टिकट दिन्छ पनि । किनभने विकासका पक्षमा रहेर काम गर्ने, सामाजिक सुशासनका कुराहरूलाई प्राथमिकतामा राखेर योजनाहरू ल्याउने, योजना कार्यान्वयन गर्ने, समावेशी ढंगले काम गर्ने व्यक्तिलाई पार्टीले टिकट दिने हो । मैले पाँच वर्षसम्म जनताको माझमा रहेर काम गरेर देखाइसकेको छु । यसर्थ पनि टिकट पाउँछु भन्नेमा म ढुक्क छु ।

टिकट पाइसकेपछि चुनाव आधारहरू के–के छन् ?

मैले चुनाव जित्ने आधारमा भनेकै मेरा जनता हुन् । मैले यो पाँच वर्षको कार्यकालमा कसरी काम गरे, के–के गरे सबैको निगरानी र मूल्यांकन जनताले गरिरहनु भएको छ । उहाँहरूकै कारणले नै म प्रमुखमा आउन खोजेको हुँ । तुलसीपुर उपमहानगरको प्रमुखमा मेरो आवश्यकता छ भन्ने महसुस जनताले गर्नुभएको छ । जब उहाँहरूको मुख्य आवश्यकता नै मेरो नेतृत्व हो भने त्यो नै सबैभन्दा ठूलो आधार हो ।

म एउटा सामान्य परिवारमा हुर्किएर राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील रहेर यहाँसम्म आएको छु । मलाई कुनै पनि व्यक्तिगत स्वार्थ छैन । आफ्नो अवस्था जस्तो छ त्यसैमा रहेर जनतासँग रमाउँदै उहाँहरूको सेवा गर्ने अवसर मिल्यो । यसले पनि मलाई ठूलो आधार सिर्जना गरिदिएको छ । मैले हरेक व्यक्तिको आवश्यकता, उहाँहरूको समस्यालाई मसिनो गरेर बुझ्ने, सरल र सहज ढंगले उहाँहरूको गुनासो सुन्ने, उहाँहरूको गुनासो सम्वोधन गर्ने, आवश्यक परेको समयमा जनताको लागि भोकै प्यासै पनि दौडिए । जनतासँगै उहाँहरूको घर–घरमा पुगेर उहाँहरूकै आवश्यकताका आधारमा कामहरू गर्दै आए ।

आज हेर्नुस् म नपुगेको कुन ठाउँ छ ? कुन क्षेत्र छ ? म हरेक ठाउँमा दिनरात नभनी दौडिएको छु । कुनै फजुल खर्च नगरी, कुनै बहानाबाजी नगरी जनताले बोलाएको ठाउँमा, उहाँहरूको आवश्यकता परेको ठाउँमा भनेको समयमा पुग्ने गरेको छु । स्थानीय सरकारमा उपप्रमुख भएर काम गर्दैगर्दा सिंगो उपमहानगर सम्हाल्ने गरी काम गरेको छु । त्यो सबै जनताले देख्नु भएको छ ।

सामान्य जीवनशैलीमा रहेर जनताको माझमा काम गर्ने मेरो बानीका कारण फेरी पनि यो उपमहानगरमा तपाई आउनुपर्छ भन्ने जनताको माग छ । त्यो मागले पनि मलाई प्रमुख पदमा ल्याउने छ भन्नेमा विश्वस्त छु । मेयर पदमा जनताले नै ल्याउन खोज्नु भएको छ । उहाँहरूले नै मलाई जिताउनु हुनेछ ।

नगरको योजना के छ ?

सर्वप्रथम सिंगो उपमहानगरलाई सुशासनमैत्री नगर बनाउनेमा मेरो क्रियाशीलता रहने छ । जबसम्म सुशासनको पाटो बलियो बन्दैन तबसम्म कुनैपनि क्षेत्रको विकास दिगो बन्न सक्दैन । त्यसैले विकासको पक्षमा रहेर काम गर्दै गर्दा आर्थिक, सामाजिक, सांस्कृतिक सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने मेरो योजना रहेको छ । उपमहानगरका अधूरा योजनाहरूलाई पूरा गर्नका लागि, लैंगिक समानता, समतामूलक समाज निर्माण गर्नका लागि योजनावद्ध रूपमा काम गर्नुपर्दछ ।

विशेषगरी महिला, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिकहरूको सवाललाई सम्बोधन गर्न सक्ने गरी योजनाका खाकाहरू निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारलगायतका पूर्वाधार क्षेत्रहरूको विकास गरी सिंगो उपमहानगरको दिगो विकासमा मेरो क्रियाशीलता रहनेछ । विभिन्न विभेदजन्य सामाजिक संरचनाहरूको अन्त्य गरी सभ्य, सुखी र खुसी नगर बनाउने मेरो योजना रहेको छ । साथै विभिन्न कारणले पछाडि पारिएका क्षेत्रको पहुँचमा बृद्धि ल्याउन, आर्थिक सशक्तिकरणका कार्यक्रमहरू ल्याई समृद्ध तुलसीपुर स्थापना गर्ने योजना छ ।

– प्रस्तुति उमा भण्डारी

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here