Friday, January 24, 2025
Homeफिचरघुइयाबारीका घर–घरमा खानेपानी धारा

घुइयाबारीका घर–घरमा खानेपानी धारा

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, ३ बैशाख ।
कालिमाटी गाउँपालिका–७ घुइयाबारीकी पवित्रा बुढाको दिनचर्या खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घर नजिकै खानेपानीको मुहान नहुँदा उनी पिउने पानी ल्याउनको लागि सधै बबई नदीमा जान्थिन् । खानेपानी नहुँदा बबईको पानी खान थालेको बर्षौ भयो । ‘मान्छेले पिउने, वस्तुभाउलाई खुवाउने, नुहाउने र कपडा धुनको लागि बबई नदीको पानीको प्रयोग गर्दै आएकी छन्  ।’

‘डोकोमा गाग्री बोकेर जान्थ्यौँ, चैत–बैशाखमा पानी सफा देखिन्थ्यो, तर बर्खामा पानी धमिलो हुन्थ्यो, रूमालले छानेर प्रयोग गथ्र्यौ’ उनले भनिन् ‘तर अहिले उनको अहिले दैनिकी फेरिएको छ, पानीको लागि बबई जानुपर्दैन्, घरमा नै पानीको धारा छ, आवश्यकतानुसार प्रयोग गर्न पाइन्छ ।’ घुइयाबारीकै भिमसरा बुढाको पीडा पनि पवित्राको जस्तै थियो  ।

‘नदीको दूषित पानीले मानव स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुदाँहुँदै पनि नदीकै पानी प्रयोग गर्न बाध्य थियौँ’ उनले भनिन् ‘झाडापखाला, आउँजस्ता समस्या देखिन्थेँ, कतिपयलाई त एलर्जीसमेत भएको थियो, तर अब नदीको पानी प्रयोग गर्नुपर्दैन् ।’

पवित्रा र भिमसरा मात्रै होइन, अहिले घुइयाबारीका १ सय ४३ घरधुरी यसरी नै खुसी भएका छन् । विगतमा डोकोमा गाग्री बोकेर बबईको दूषित र फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको उनीहरूलाई भनाइ छ । स्थानीय गोपाल पुनले गाउँमै खानेपानीका लागि पहल थालेको झण्डै पाँच दशक पछि घर–घरमा पिउने पानी आएको बताए ।

कालिमाटी गाउँपालिका, जर्सी ओभरसिज एडको आर्थिक सहयोग र दलित विकास समाज सल्यानको व्यवस्थापनमा सञ्चालित रियलाइज परियोजनामार्फत खानेपानी योजना सम्पन्न भएपछि घुइयाबारी र बाघमारेका स्थानीय लाभान्वित भएका छन् । एक घर एक धारा अन्तर्गत प्रत्येक नागरिकका घरमा धारा जडान गरिएको छ भने सार्वजनिकस्थल विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीमा धारा जडान गरिएको हो ।

रियलाईज परियोजना र कालिमाटी गाउँपालिकाको लागत साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो । जसअन्र्तगत पतेरी खोला ग्राभिटी योजनाबाट ९१ घरधुरीका ४ सय ७३ जनसंख्या लाभान्वित भएका छन् । गाउँपालिकाको झण्डै ११ लाख, परियोजनाको झण्डै ७ लाख र स्थानीयको नगद तथा श्रमदानबाट यो खानेपानी योजना सम्पन्न भएको हो ।

यस्तै बाघमारे ग्राभिटी योजनाबाट ५२ घरधुरीका २ सय ७० जनसंख्या लाभान्वित भएका छन् । गाउँपालिकाको ८ लाख, परियोजनाको झण्डै ७ लाख र स्थानीयको नगद तथा श्रमदानबाट यो खानेपानी योजना पनि सम्पन्न भएको हो । निर्माण समितिका अध्यक्ष जीतबहादुर घर्तीले घर–घरमा पुगेको खानेपानीलाई दिगो व्यवस्थापनका लागि आफूहरू योजनावद्ध भएर लाग्ने बताए ।

परियोजनाका जिल्ला संयोजक महेश हिताङले बाँके राष्ट्रिय निकुञ्जले छोएको मध्यवर्ती क्षेत्रमा रहेर यस परियोजनाले विविध कार्यसञ्चालन गरेको बताए । विगतमा खानेपानीको अभावकै कारण स्थानीय नागरिकले सास्ती पाएको अवस्थामा विभिन्न क्षेत्रसँगको सहकार्यमा प्रत्येक नागरिकका घरमा खानेपानीका धारा जडान भएपछि नागरिकहरू खुसी भएको बताए । यसका साथै मध्यवर्ती क्षेत्रका नागरिकले भोग्दै आएका समस्याको पहिचान गरेर समाधानका लागि परियोजनाले काम गर्दै आएको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here