जीतसागर जी.एम.
दाङ, ३० चैत ।
नेपालमा आर्थिक संकटको प्रभाव बढ्दै गएको हल्लाले नागरिक त्रसित बनेका छन् । आर्थिक संकट चुलिदै गएको हल्लाले बैंकहरूमा रकम निकाल्ने नागरिकको भिडभाडसमेत बढेको छ । केही दिनयता नेपाल पनि श्रीलंकाकै अवस्थामा आर्थिक संकटमा पुग्न थालेको खबरहरू बाहिर आइरहदा नागरिकस्तरमा त्रास बढेको हो । आर्थिक संकट आउन सक्ने भन्दै नागरिकले बैंकमा आफूले जम्मा गरेको रकम निकाल्न थालेका छन् । बैंकमा जम्मा गरेको रकम निकासा गर्न अहिले सेवाग्राहीको बैंकमा भिडभाड बढेको छ ।
बैंकमा जम्मा गरेको रकम निकाल्नका लागि करिब तीन घण्टा लाइनमा बस्नुपरेको तुलसीपुर–१३ का कमला रोकाले बताइन् । ‘तीन लाख रकम निकाल्नका लागि तीन घण्टा लाइनमा बस्नुप¥यो’ उनले भनिन्– ‘जम्मा गरेको आफ्नै रकम निकाल्न पनि घण्टौँ लाग्नुपर्छ, कर्जा त झन परको कुरा हो ।’ मंगलबार तुलसीपुरको नेपाल बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नबिल बैंक, मुक्तिनाथ बैंक, सानिमा बैंक, एनआइसी एसियालगायतका बैंकमा नागरिकको भिडभाड निकै देखियो ।
पछिल्लो समय बैंकमा रकम जम्मा गर्नेभन्दा पनि रकम झिक्नेहरूको बढी देखिएको छ । आर्थिक तरलता अभावमा बैंकहरूले पछिल्लो समय कर्जा प्रवाहसमेत गरिरहेका छैनन् । बैंकमा दुई/तीन दिनयता भिडभाड बढेपनि आर्थिक तरलताको त्रास हुन नसक्ने राष्ट्रिय वाणिज्य बैंक तुलसीपुर शाखाका प्रमुख गोपाल आचार्यले बताए ।
भिडभाड बढेपछि लामो समयसम्म लाइनमा बस्नुपरेको तुलसीपुर–१८ का माधव भुसालले बताए । ‘आर्थिक संकट चुलिन थालेको भन्ने खबर त सुनेका छौँ, बैंकमा पनि कतै त्यसकै प्रभाव त होइन्’ उनले भने– ‘मैले पनि मंगलबार बैंकमा करिब एक घण्टा लाइनमा बसेर रकम निकालेको हुँ ।’
बैंकले अहिले दैनिक सयाँै चेक साटिरहेका बताएका छन् । एक दिनमा मात्रै वाणिज्य बैंकले दुई सयभन्दा बढी चेकको रकम निकासा गरेको बताइएको छ । पछिल्लो समय बैंकमा रकम जम्मा गर्नेभन्दा पनि रकम झिक्नेहरूको बढी देखिएको छ । आर्थिक तरलता अभावमा बैंकहरूले पछिल्लो समय कर्जा प्रवाहसमेत गरिरहेका छैनन् । बैंकमा दुई/तीन दिनयता भिडभाड बढेपनि आर्थिक तरलताको त्रास हुन नसक्ने राष्ट्रिय वाणिज्य बैंक तुलसीपुर शाखाका प्रमुख गोपाल आचार्यले बताए ।
‘बैंकमा भिडभाड त बढेको छ, तर नागरिक आर्थिक तरलता अभावका कारण त्रासले बैंक आएको जस्तो लाग्दैन्’ उनले भने– ‘पासपोर्ट बनाउनेहरूका कारण पनि हिजोआज अलि बढी भिडभाड बढेको छ ।’ उनले बैंकमा पछिल्लो समय कर्जा प्रवाह भने रोकिएको बताए । ‘निक्षेपको रकम बढ्न सकेको छैन्, जसले गर्दा बैंकमा कर्जा प्रवाह रोकिएको स्थिति छ’ उनले भने–‘राष्ट्रिय वाणिज्य बैंकले करिब तीन महिनायता कर्जा प्रभाव रोकेको छ ।’
नेपाल बैंक तुलसीपुर शाखाका प्रमुख निरज न्यौपानले बैंकहरूमा पछिल्लो दुई÷तीन दिनयता भिडभाड बढेको बताए । उनले नागरिकमा आर्थिक संकटको त्रासले भन्दा पनि अरू कारणले बैंकमा भिडभाड बढेको हुन सक्ने आँकलन सुनाए । ‘आर्थिक तरलता केही त अवश्य छ, तर नागरिकहरू त्यसकै कारण बैंकमा आउने रकम निकाल्ने त्यो अवस्था भने छैन्’ उनले भने– ‘नेपाल आर्मीको भ्याकेन्सी खुलेकाले पनि नेपाल बैंकमा बढी भिडभाड देखिएको छ ।’
बैंकले राष्ट्र बैंकको नीति अनुसार नै दैनिक ९ लाख ९ सय ९९ सम्म प्रतिव्यक्तिलाई चेक साट्ने गरेको उनले बताए । नेपाल बैंकले पनि करिब रकम अभावमा करिब ६ महिनादेखि कर्जा प्रवाह गर्न सकेको छैन । ‘बैंकमा रकम जम्मा गर्नेभन्दा निकाल्ने बढेका छन्’ उनले भने–‘निक्षेपमा रकम बढ्न नसकेको कारण बैंकले लगानी गर्न नसकेका हुन् ।’
बैंकहरूमा भिडभाड बढेपनि आर्थिक कारोबारमा समस्या नदेखिएको ग्लोबल आइएमी बैंकका तुलसीपुर शाखा प्रमुख उमंग अधिकारीले बताए । ‘आर्थिक संकटको हल्ला त छ, तर बैंकहरूमा अहिले नै त्यसको प्रभाव देखिएको त छैन्’ उनले भने– ‘निक्षेपमा रकम जम्मा गर्नेहरूको केही कमी भने आएको छ, जसका कारण कर्जा प्रवाहमा तीन/चार महिनायता समस्या देखिएको छ ।’
यद्यपि बैंकहरूले ठूला रकमका चेक साट्न दुई/तीन दिन लगाउने गरेको नागरिकले बताउने गरेका छन् । आर्थिक अवस्था केही खस्केको भएपनि आत्तिनुपर्ने अवस्थामा नपुगेको अर्थ जानकार निर्मल देवकोटाले बताए । ‘संचिती भन्ने कुरा कहिले बढ्छ, त्यसकै लागि संचिति चाहिने हो’ उनले भने–‘विदेशबाट आउने रेमिट्यान्स घट्दै गएका कारण संचितिमा केही समस्या देखिएको हो ।’
यदि अहिलेकै अवस्थामा आर्थिक संकट चुलिदै गएपछि नेपाल श्रीलंकाजस्तै हुन ७/८ महिना लाग्ने तर त्यो अवस्थामा नेपाल जान नसक्ने उनले दावि गरे । ‘कोरोना महामारीका कारण विदेश जानेको संख्यामा कमी आउँदा रेमिट्यान्समा केही समस्या देखिएको हो’ उनले भने– ‘अब आर्थिक कारोबार बढ्ने स्थिति छ, चुनावको चहलपहल पनि बढ्दै छ एकातिर भने अर्कोतिर विदेश जानेको संख्या पनि बढ्दै छ ।’
सामान्य चेकको रकमसमेत बैंकहरूले भुक्तानीमा अहिले आनाकानी गर्ने गरेका छन् । उरहरीका भरत खड्काले दुई दिन लाइन लागेर २ र ७ लाखको चेक तुलसीपुरको एक बैंकले साट्न नसकेको बताए । उनले दिनभर कुराएर बेलुका बैंकले चेक नसाटिदिदा आफूले साथीबाट सापट लिएर गर्जाे टारेको बताए । यद्यपि बैंकका कर्मचारीहरूले भने बैंकको अवस्थाको बारेमा र सेवाग्राहीले दैनिक पैसा निकासा गरिरहेको विषयमा खुलेर बोल्न सक्दैनन् । बहाना बनाएर यसको विषयान्तर गर्ने गरेका छन् ।