जीतसागर जी.एम.
दाङ, २८ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ की यशोदा डाँगीको श्रीमान वैदेशिक रोजगारमा छन् । डाँगीलाई श्रीमानले विदेशबाट नियमितरूपमा आफ्नो कमाई पठाइरहेका छन् । यशोदालाई सुरूमा श्रीमानले पठाएको रकम बचाउन निकै मुस्किल प¥यो । तर अहिले बचत गर्न सहज भएको छ । कारण हो उनले आफ्नो दैनिक खर्च राख्न थालेकी छन् ।
‘श्रीमानले विदेशमा पठाएको रकम बचत गर्न खोज्दा पनि बढी खर्च हुन्थ्यो’ उनले भनिन्– ‘अहिले नियमित रूपमा खर्च विवरण राख्न थालेपछि बचत गर्न सजिलो भएको छ, किनभने एउटै शीर्षकमा हुने खर्च कटौती गरेर बचत गर्न सजिलो भएको छ ।’ घरमा हुने आम्दानी र खर्चको विवरण नियमित रूपमा राख्न थालेपछि श्रीमानसँगको आत्मीयता झनै बढेको छ ।
‘घरमा हुने आम्दानी र खर्चको विवरण राख्न थालेपछि श्रीमान पनि खुसी हुनुहुन्छ’ उनले भनिन्– ‘खर्चको हिसाव किताव नराख्दा कहिलेकाहिँ सामान्य विवाद हुन्थ्यो, रकमको हिसाव मिल्दैनथ्यो, अहिले त त्यो केही छैन्, श्रीमानले पनि प्रष्टरूपमा बुफ्न पाउनुभएको छ । सुजना केसी पनि पछिल्लो समय छोराछोरीको पढाइ खर्च, स्वास्थ्य उपचार खर्च, दैनिक खानपान खर्च कति हुन्छ ? भन्ने हिसावको खर्च विवरण राख्न थालेकी छन् ।
‘बचत गरेरमात्र खर्च गर्नुपर्छ भन्ने केही कुराको जानकारी नहुँदा बढी खर्च हुने गरेको थियो’ उनले भनिन्– ‘अहिले नियमित रूपमा खर्च विवरण राख्न थालेपछि खर्च पनि कम हुने गरेको छ, खर्च कम हुँदा बचत स्वभाविक रूपमा बढी भएको छ ।’ उनका श्रीमान पनि विदेशमा छन् । श्रीमानले विदेशमा कमाउन थालेपछि आफूले श्रीमानको कमाई बचाउनका लागि घरमा आय–व्ययको विवरण राख्न थालेको उनले बताइन् ।
‘वैदेशिक रोजगारीमा गएका श्रीमतीले रकम हिनामिना गरेको भन्ने लान्छना आइरहेको हुन्छ, यस्ता कुराबाट बच्नका लागि पनि मैले खर्चको हिसाव किताव राख्न थालेको हुँ’ उनले भनिन्– ‘श्रीमानलाई पनि मैले गरेको कामले निकै प्रभावित बनाएको छ, मप्रतिको विश्वास बढ्दै गएको छ ।’ विदेशमा श्रीमानले मात्रै कमाएर हुँदैन्, हामीले पनि केही गर्नुपर्छ भन्ने सोचका साथ सकेसम्म श्रीमानको कमाईलाई बचत गर्ने गरेको उनले बताइन् ।
वैदेशिक रोजगारीमा गएका श्रीमती वा श्रीमानलाई सामी परियोजनाले वित्तीय सारक्षता कक्षा दिने गरेको छ । वित्तीय साक्षरता कक्षाले धेरै महिलालाई बचत गर्ने बानीको विकास गराएको सामी परियोजना दाङका संयोजक बसन्ता पुनले बताइन् । ‘वैदेशिक रोजगारीमा गएका घरपरिवारलाई हामीले वित्तीय सारक्षरता कक्षा दिने गरेका छौँ’, उनले भनिन्– ‘वित्तीय साक्षरता कक्षाले धेरैलाई बचत गर्ने बानीको विकास मात्रै होइन्, उद्यममा लाग्न प्रोत्साहन पनि गरेकोछ ।’
‘बचत वृद्धि गरेर केही भएपनि उद्यममा जोड्न सकियोस् भनेर वित्तीय साक्षरता कक्षा चलाइरहेका छौँ’ उनले भनिन्– ‘यसले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन पनि सहयोग पुगेको छ ।’ दाङको घोराही, तुलसीपुर, लमही र बबई गाउँपालिकामा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको संयोजक पुनले बताइन् । ‘वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने मात्र नभई स्वदेशमै उद्यमी बढाउन सकेपछि रोजगारीका लागि विदेश जानु नपर्ने वातावरण निर्माण गर्न हामीले वित्तीय साक्षरता कक्षा चलाइरहेका छौँ ।’
यसवर्ष कोरोना महामारीका कारण दुईवटा कक्षामात्रै सञ्चालन गरेको उनले बताइन् । ‘गतवर्ष चारवटा पालिकामा चार÷चारवटा कक्षाहरू सञ्चालन गरिएको हो, यसवर्ष पनि चार÷चारवटा कक्षाहरू सञ्चालन गरिएको छ’ उनले भनिन्–‘गतवर्षको अनुभव के छ भने, जसले जग्गा बाँझो राख्नुभएको थियो, अहिले ति जमिनमा करेसाबारी बनाउनुभएको छ, यसले गर्दा आर्थिक उपार्जनमा धेरै सहयोग पुगेको छ ।’
वैदेशिक रोजगारीबाट आएका रकमको हिसाव किताव देखाउन नसक्दा श्रीमतीले विभिन्न किसिमका समस्या भोग्नुपरेको अवस्थामा वित्तीय कक्षाले धेरै सहज बनाएको उनले बताइन् । वित्तीय साक्षरता कक्षाले कामको बाँडफाँड बनाउन गर्ने जिम्मेवारीसमेत प्रदान गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा सञ्चालन भइरहेको वित्तीय साक्षरता कक्षाको अनुगमन गरिएको छ । अनुगमनको क्रममा कक्षामा सहभागी महिलाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि आवश्यक ज्ञान सीप हासिल गरेको बताएका छन् । उनीहरूले वित्तीय साक्षरता कक्षामार्फत खर्चको हिसाव किताव राख्न सिक्दै बचत गर्ने बानीको विकास गर्न सफल भएको बताएका छन् ।
विदेशमा श्रीमानले कमाएको रकम बचत गर्नका लागि घरमा आफूहरू पनि उद्यममा जोडिनुपर्ने कुराको सिकाइ पनि भएको उनीहरूको भनाइ छ । सामी परियोजनाका जिल्ला संयोजक बसन्ता पुनले वित्तीय साक्षरता कक्षाले बचत गर्ने बानीको विकास मात्रै नभएर वैदेशिक रोजगारीमा रहदा आवश्यक कागजातका बारेमा जानकारी परिवारलाई पनि हुनुपर्ने कुराको बोध गराइरहेको बताइन् ।