हेमराज परिवर्तन
घोराही, २५ चैत ।
अर्जुन भुज २०५६ सालमा दाङको गढवा गाउँपलिका–८ (साविक कोइलाबास गाविस–९) मा जन्मिए । त्यही ठाउँमा रहँदै आएका उनका हजुरबुबा, हजुरआमालाई कहिल्यै नागरिकता चाहिएन । अर्जुनका बुबा प्रेमलाल भुजले भने नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए । तर, बाबुको नागरिकता नभएको कारण देखाउँदै उनको निवेदन प्रशासनले अस्वीकार गरिदियोे । नागरिकता नपाएपछि उनी आफ्ना बाबुबाजे जस्तै खेती–किसानीमै सीमित भए ।
अर्जुनकी आमा दीपा रावतको भने वंशजको नागरिकता छ । दीपाले बुबा बेलु रावतबाट १७ माघ २०५५ मा जिल्ला प्रशासन कार्यालय, दाङबाट वंशजको आधारमा नागरिकता लिएकी छन् । प्रेमलाल र दीपाका दुई सन्तानमध्ये अर्जुन र उनका भाइ अनिल उमेर पुगेर पनि नागरिकताविहीन अवस्थामा छन् अहिले ।
अहिलेकै स्थानमा आफ्ना तीन पुस्ताको बसोबास रहेको छ । ‘मेरा बुुबाका बाबा पनि यही ठाउँमा जन्मिनुुभएको हो’ प्रेमलालले भने, ‘काकाका छोराले नागरिकता लिए तर मेरो बुुबाले नागरिकता नबनाएर बित्नुुभयो । यसले गर्दा अहिले हामी अनागरिक भएका छौं ।’ प्रेमलाललाई २०५८ साल चैत १४ गतेको मितिमा श्री ५ को सरकार स्थानीय विकास मन्त्रालय कोइलाबास गाउँ विकास समितिको कार्यालयले परिचयपत्र दिएको छ । तर उनका बुुबाको नागरिकता नभएका कारण अहिले उनीसँगै दुई छोरोको नागरिकता बन्न सकेको छैन् ।
चुनावका बेलामा प्रमाण कागजपत्र नहेरी हजारौं मानिसलाई नागरिकता दिलाउने नेपाल सरकार तीन पुस्तादेखि नेपालमै बसेको अर्जुुन भुजको परिवारलाई नागरिकता दिन तयार भएको छैन ।
२२ वर्षीय अर्जुन नागरिकताका लागि धाउन थालेको तीन वर्ष भयो । उनीहरूका सुरूमा नागरिकताको सिफारिसका लागि उनले बुबाको (परिचयपत्र) र आमाको (वंशजको आधार) को नेपाली नागरिकतासँगै जन्मदर्ताको प्रमाणपत्र संलग्न गरी वडा कार्यालयमा निवेदन दिए ।
उक्त कागजपत्रको आधारमा वडा कार्यालयले सिफारिस पनि दियो र उनी जिल्ला प्रशासन कार्यालय दाङ पुगे । जिल्ला प्रशासन कार्यालयले जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई नागरिकता दिन नसकिने जवाफ दिएर फर्काइदियो ।
संविधानमा भएको व्यवस्थाबमोजिम आमाको वंशजको नागरिकताका आधारमा मात्रै पनि अर्जुन भुज नागरिकताका हकदार हुन् । तर, प्रमुख जिल्ला अधिकारी (सिडिओे) हिरालाल रेग्मीले उनलाई तत्काल नागरिकता दिन नसक्ने जवाफ दिए । केही समयअघि गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता नदिनु भन्ने परिपत्र जारी गरेको थियो । यो परिपत्रका विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । यो संसदको विषय हो ।
गृह मन्त्रालयले परिपत्र जारी गर्न मिल्दैन भन्ने व्यहोराको रिटमा सर्वोच्च अदालतले गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न र नगराउनु जिल्ला प्रशासन कार्यालयलाई अन्तरिम आदेश जारी गरेको थियो । यो आदेशसँगै उस्तै समस्या भोगेका केही मानिसले नागरिकता लिए पनि । सर्वोच्च अदालतको अन्तरिम आदेशविरूद्ध पुनः अदालतमा मुद्दा प¥यो । यो मुद्दा फैसला हुन बाँकी भएकाले नागरिकतासम्बन्धी विषय अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
सिडिओ रेग्मी भन्छन्, ‘अर्जुुन लगायतकाले नागरिकता बन्नका लागि अदालतबाट विशेष नजिर बन्न आवश्यक छ । कि संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक कार्यान्वयन हुनुप¥यो । नागरिकता ऐनको अभावमा फैसला रोकिएको छ । नागरिकता ऐन संसदबाट पारित भयो भने पनि उहाँले नागरिकता पाउने बाटो खुल्छ ।’
‘संसद्मा विचाराधीन नागरिकता विधेयक जारी भएको छैन’ उनले भने ‘त्यसैकारण यसअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले संविधान जारी (३ असोज, २०७२) भएपछि कुनै पनि नागरिकता पाउन सकेका छैनन् ।’ पहिले नै उमेर पुगेर नागरिकता नलिएका वा ३ असोज २०७२ पछि नागरिकता पाउने उमेरमा पुगेका व्यक्तिहरू नागरिकताविहीन भएका छन् ।
प्रेमलाल भुज र दीपा रावतका छोरा आर्जुनको जन्म १ भदौ २०५८ मा गढवा–८ (साविक कोइलाबास गाउँ विकास समिति–९) मा भएको उनको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख छ । उनीहरू अहिले घोराही १४ मा बस्दै आएका छन् । वडाबाट बसाइँसराइँको प्रमाणपत्र लिएर घोराही–१४ मा बस्दै आएका छन् । त्यही प्रमाणपत्रको आधारमा वडाले उनलाई नागरिकताको लागि सिफारिस गरेको हो । बाबुको नागरिकतालगायत कुनै कागजात नभएकोले वडा कार्यालयले नाम, थर र ठेगाना मात्रै उल्लेख ग¥यो ।
जन्मदर्ता, नागरिकताको सिफारिस, आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपिसँगै नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे । पहिलो प्रयासमा नागरिकता नपाएका विकास कहिले सिफारिस त कहिले सर्जमिन मुचुल्का बोकेर पटक–पटक जिल्ला प्रशासन कार्यालय धाए । तर, बाबुको पहिचान र उनीसँग सम्बन्धित कागजात जुटाउनै नसक्दा अर्जुुनको नागरिकता बन्ने प्रक्रिया अघि बढेन ।
उनले आफ्नो आमाको नागरिकता, बुबाको पञ्चायतकालमा स्थानीय सरकारले दिएको परिचयपत्र, बसाइँसराइँका प्रमाणपत्र र जन्मदर्ता देखाउँदै आफूले नागरिकता बनाउन जाँदा पाएका दुःख सुनाएका थिए । सरकारी कर्मचारीले इण्डियन होला भन्दै गरेका उपेक्षा, फाइल फाल्दिदै उनीप्रति गरेका नराम्रा व्यवहार अनगिन्ती थिए ।
चुनावका बेलामा प्रमाण कागजपत्र नहेरी हजारौं मानिसलाई नागरिकता दिलाउने नेपाल सरकार तीन पुस्तादेखि नेपालमै बसेको अर्जुुन भुजको परिवारलाई नागरिकता दिन तयार भएको छैन । अर्जुुन जस्तै जन्मसिद्ध नागरिकता लिएका आमाबुबाका छोराछोरी यस्तै समस्यामा लडिरहेका छन् । राज्यविहीन भएर अप्ठेरो दैनिकी काटिरहेका छन् ।
अर्जुुन भन्छन्, ‘कि नेपाली नागरिक हैन भनेर प्रमाणित गर्नुप¥यो । हैन भने विना झमेला नागरिकता दिनुप¥यो । नागरिकता नहुँदा बैंकमा खातासमेत खोल्न मिल्दैन । जागीर पाइँदैन । सरकारी जागीर अप्लाइ नै गर्न मिल्दैन । ड्राइभिङ लाइसेन्ससमेत लिन मिल्दैन । कसरी चल्छ हाम्रो दैनिकी ? घरको आर्थिक अवस्था कमजोर छ । कहाँ गएर खाने जागीर ? बाँच्नु न मर्नु भैसक्यो ।’ नागरिकताको अभावमा धेरै राम्रा अवसर गुमाउन बाध्य हुनुपरेको ।
भोट दिन मन छ
नेताहरूले चुनावताका नागरिकताका विषयमा चर्को भाषण गर्दै खर्चेका शब्दहरू अर्जुनको दिमागमा उस्तै छन् । ‘नागरिकता दिन्छौं भनेको पाँच वर्ष हुनलाग्यो तर म जस्ताले नागरिकता पाएनौं’ उनी भन्छन, ‘नेताले नागरिकतालाई चुनावमा भोट माग्ने माध्यम मात्रै बनाए ।’
अर्जुनलाई जनताको पीरमर्का बुझ्न सक्ने नेतालाई भोट हाल्न मन छ तर नागरिकता नै छैन । ‘नागरिकता भए मेरो भोट जनता, समाज तथा देशका लागि काम गर्ने नेतालाई जान्थ्यो, तर मसँग नागरिकता नै छैन, मलाई चुनावले छुँदैन’, उनले सुनाए ।े