प्रदेश टुडे
दाङ, २६ फागुन । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि दाङको घोराहीमा ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ हुन लागेको छ । आजदेखि सञ्चालन हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रदर्शनी मुल आयोजक समितिले सम्पूर्ण तयारी पूरा भएको र प्रदर्शनीको उद्घाटन लुम्बिनी प्रदेशका प्रमुख अमिक सेरचनले गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । संघको आयोजनामा हुन लागेको प्रदर्शनीलाई ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नारा दिइएको छ । चैत ८ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिंगौरामा प्रदर्शनी हुनेछ ।
स्थानीय उत्पादनको बजारीकरण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गर्दै आर्थिक विकासमा टेवापुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यहाँको उत्पादित वस्तु पहिचान गराउने र स्थानीय भाषा, साहित्य कला, परम्परागत सीप, धार्मिक क्षेत्र एवं संस्कृतिको परिचय गराउँदै संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको रहेको मूल आयोजक समितिका संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिए ।
यस क्षेत्रमा स्थापित प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, दाङ जिल्लाको आर्थिक विकास पूर्वाधार विकास सक्रियता बढाउने, योजना निर्माणमा सहयोग पुर्याउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिइ राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउनुपर्दछ भन्ने सन्देश प्रभाव गर्ने, दाङलाई आगामी दिनमा औद्योगिक गन्तव्यस्थल बनाई लगानीमैत्री वातावरण निर्माणको सन्दर्भमा सरोकारवालाहरूको ध्यानाकर्षण गराउने उनले बताए ।
यस क्षेत्रमा उत्पादित हुने कृषिजन्य वस्तुहरू तथा जडीबुटीहरूको वारेमा उपभोक्तालाई जानकारी गराउँदै बजारीकरणमा सहयोग गर्ने, व्यावसायिक सचेतनाको अभिबृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन र उपभोक्ता जगत्मा सजकता ल्याउन ग्राहक र उत्पाादनकर्ताको प्रत्यक्ष भेट गराउने, लक्ष्मीपुर औद्योगिक क्षेत्रको विकास तुलसीपुर विमानस्थलको स्तरउन्नती, नारायणपुर विमानमा तिव्रता दिन, स्थानीय प्रदर्शनी स्थलको निर्माणको लागि अन्तरक्रिया, सभागृहको पार्किङको जग्गामा अण्डरग्राउण्ड पार्किङसहितका कम्पलेक्स निर्माणको योजना अगाडि बढाउने उद्देश्य लिएको छ । प्रदर्शनीमा करिव ५ लाखले अवलोकन गर्ने र २० करोडको कारोवार हुने अपेक्षा लिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।
प्रदर्शनीमा जिल्लाको आर्थिक तथा पूर्वाधार विकासका लागि अगाडि सारिएका योजनाहरूका वारेमा छलफल गरिने, योग शिविर तथा धार्मिक प्रवचन, यस क्षेत्रबाट उत्पादित वस्तुको प्रदर्शनी, स्थानीय थारू मगर, नेवार जातिको फुड फेस्टिबल, जातीय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकी, सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने भएको छ ।
त्यसैगरेर हेलिकप्टरबाट लुम्बिनी तथा कर्णालीका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको अवलोकन, विभिन्न मनोरञ्जनात्मक बालउद्यान समेत रहेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । प्रदर्शनका प्रवेशका लागि साधारण टिकट ६० रूपैयाँ, विद्यार्थीहरूलाई ४० रूपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक ७० वर्ष माथिमा नागरिकलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेश दिइने भएको छ ।
त्यसै गरेर अपाङ्ग ‘क’ र ‘ख’ वर्गकालाई परिचयपत्रको आधारमा निःशुल्क प्रवेश दिइने भएको प्रदर्शनी प्रचारप्रसार उपसमितिका संयोजक एकनारायण पौडेलले जानकारी दिए । प्रदर्शनीमा ३ सय स्टल रहेका छन् । प्रदर्शनीमा प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा १० उद्योग वाणिज्य संघअन्तर्गतका समूहको सहभागिता रहेको छ ।