शिवरात्रीका दिन शिवको पूजा आरधना गरे सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
प्रदेश टुडे
दाङ, १८ फागुन । दाङको घोराही–१५ मा सागर पौडेल तीन वर्षपछि शिवरात्रीको अवसरमा शिवालय गए । उनी घोराही उपमहानगरपालिका–५ मा रहेको धारापानीमा मंगलबार बिहानै पुगे । कोरोनाका कारण अघिल्ला वर्षहरूमा शिवरात्री मनाउन शिवालय नगएर सागर यस वर्ष भने पूरापुर दिनभर शिवभक्त बनेर मन्दिर छोडेनन् । आफ्नो परिवारसँग धारापानी गएका सागर परिवारसँग बेलुका मात्रै घर फर्किएको बताए । कोरोना कालमा शिवरात्रीमा मेला भर्न गएका थिएनौँ यस वर्ष शिवको दर्शन गरियो ।
तुलसीपुर उपमहानगर–पालिका–५ बसपार्कका सुविना श्रेष्ठ तुलसीपुरमा रहेको त्रिसिद्धेश्वरी मन्दिरमा पूजा गर्दै गरेको अवस्थामा भेटिइन् । युवा पुस्ताकी सुविना शिवरात्रीमा शिवको पूजा गर्न मन्दिर आएको सुनाइन् । ‘अरू बेला सधै घरमै पूजा गर्थे’ उनले भनिन्, ‘यसपटक कोरोनापछिको अवस्थामा केही सहज देखेर मन्दिरमै आए ।’ कालिका मन्दिर (त्रिसिद्धेश्वरी) घर छेउको मन्दिर भएकाले अन्यत्र नगएर यहि आएको उनको भनाइ छ ।
तुलसीपुर उपमहागरपालिका वडा नम्बर १३ की रमा वलीले मंगलवार मध्याह्नसम्म सितलपुरमा रहेको शिवालयमा पूजा गर्ने लाइनमा थिइन् । शिवरात्रीमा शिवकै मन्दिरमा पूजा गर्न सितलपुर आएको भए पनि भक्तजनहरू धेरै भएको हुँदा निकैबेर लाइनमा बस्नुपरेको सुनाइन् । ‘लाइनमै लागेको दुई घण्टा हुन लागिसक्यो अहिलेसम्म पालो आएको छैन’ उनले भनिन् ।
शिव भक्तहरूले शिवरात्रीको अवसरमा शिव मन्दिरमा मेला नै लगाए । दुई वर्षदेखि खुलेर शिवरात्रीमा पूजा आरधना गर्न नपाएका भक्तजनहरू यस वर्ष भने पूर्णरूपमा खेलेर शिवालय पुगेका छन् । शिवालयहरूको शिव भक्तहरूको भिडभाड र घुइँचो अनुमानभन्दा पनि बढी रहेको थियो । दर्शनार्थीको भिडभाडको कारणले पूजाआजामा समेत भक्तहरूलाई सास्ती भएको बताउँछन् ।
‘यसवर्ष कोरोनाका कारण भिडभाड छैन कि भनेको थिएँ तर भिडभाडले लाइन लागेको करिब एक घण्टापछि मात्रै पूजा गरेँ’ दंगीशरण–२ की देवी कुसारीले भनिन्– ‘यो वर्ष त कोरोनाको डर मलाई मात्रै होइन् अरूलाई पनि रै’नछ भन्ने लाग्यो । भिडभाडका कारण यसवर्ष पूजाआजा गर्न सहज नभएको उनले बताइन् । ‘भिडभाडकै बीचमा शिवको दर्शन गरियो, कोरोना जोखिम कायमै भएपनि डर सबै हटिसक्यो’ उनले भनिन् ‘म कोरोना पछि शिवालयमा पहिलो पटक आउँदा यस्तो भिडभाड पाए ।
शिवरात्रीको अवसरमा देशमा साना तथा ठूला शिवालयहरूमा भिडभाड पूजाआजा सबै ठाउँ थियो । पशुपतिनाथ मन्दिरदेखि तुलसीपुरको त्रिसिद्देश्वरी (कालिका) मन्दिरसम्ममा भक्तजनहरूको कमि थिएन । त्यस्तै घोराहीको धारापानी मन्दिरमा पनि उस्तै भिडभाड थियोे । दाङको प्रमुख धार्मिक एवं पर्यटकीय स्थलको रूपमा रहेको धारापानीमा शिवरात्रीको दिन हरेक वर्ष मेला लाग्ने गरेको छ ।
धार्मिक महत्व बोकेको सितलपुर, धारापानी त्रिसिद्देश्वरी–लगायत क्षेत्रमा कहिकतै भक्तचनहरू कमी देखिएन । सबै क्षेत्रमा भीडभाड नै रहेका थिए । त्रिसिद्देश्वरी मन्दिर व्यवस्थापन समितिका कावा अध्यक्ष घनश्याम उपाध्यायले शिवरात्रीमा यस वर्ष भक्तजनहरूको अत्यधिक सहभागिता भएको बताए । उनले विगतको भन्दा यसवर्ष धेरै भिडभाड भएको भन्दै समितिलाई व्यवस्थापन गर्नसमेत सकस रहेको बताए ।
धारापानी बिगतको वर्षजस्तै दर्शनार्थीको भिडभाड रहेको धारापानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए । ‘बितेका वर्षमा जस्तै यसवर्ष पनि धारापानीमा दर्शनार्थीहरूको भिडभाड लाग्यो’ उनले भने– ‘मानिसहरू पछिल्लो समय कोरोनासँग डराउन छोडेका छन्, यो भीडभाडले त्यस्तै देखियो ।’
उनले मन्दिरमा आउने दर्शनार्थीलाई आफूहरूले सकेसम्म व्यवस्थापन गरेको बताए । धारापानी मन्दिरमा शिवरात्रीको अवसरमा हरेक वर्ष तीन लाख बढीले अवलोकन गर्ने गरेको उनले बताए । ‘यसवर्ष पनि विगतका वर्षभन्दा कमि देखिएन’ उनले भने– ‘विगतका वर्षजस्तै भिडभाड भएकाले यसवर्ष पनि तीन लाख बढी दर्शनार्थी आएको अनुमान छ ।’
शिवरात्रीको अवसरमा दाङको धारापानी, तुलसीपुरको त्रिसिद्धेश्वरी, सितलपुर, बिजौरीको सुदय रामेश्वर शिवालय, पवननगरको शिवालय, देउखुरीको जखेरा ताल, सल्यानको छायाँक्षेत्रमा लाखौँ दर्शनार्थीले अवलोकन गरेका छन् । शिवरात्रीका दिन शिवको पूजा आरधना गरे सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले शिबरात्रीका दिन नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा आरधना गर्ने गर्छन् ।
ब्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्दि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । शिवरात्रीको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।