गोपाल शर्मा भट्टराई दाङ, ६ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा रहेको पेट्रोलियम पदार्थ (तेलखानी) अलपत्र अवस्थामा परेको छ । आफै देशमा भएका र सम्भावना रहेका यस्ता स्रोतको पहिचान र व्यवस्थापनमा राज्य भने चुकिरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा (सविक फूलबारी गाविस–६ बखरिया) रहेको पेट्रोल खानीको उत्खनन, परिक्षण र संरचना निर्माण भएको पाँच दशकसम्ममा पनि त्यसको उपयोग तथा संरक्षण भएको छैन । भएका संरचनाहरू पूर्ण रूपमा प्रयोगविहीन अवस्थामा रहेका छन् ।
खानी तथा भूगर्व विभागले २०२७ सालमा उत्खनन गर्दा सो स्थानमा ९५ प्रतिशत पेट्रोलको खानी भएको प्रमाणित गरेको थियो । विभागले आधा काम गरेर खानीको पूर्ण अवस्था पत्ता लगाई केही संरचना बनाउँदासमेत खानीको सहिरूपमा अहिलेसम्म उपयोग गर्न सकेको छैन ।
स्थानीयहरूले भने तेल खानीको पुनः उत्खनन् गरी प्रयोगमा ल्याउन पर्ने आवाज पटक–पटक उठाइरहेका छन् । तर पनि ती आवास तीनै तहका सरकारले सुनेका छैनन् । बखरिया गाउँको पूर्व टोलमा रहेको पेट्रोल खानीलाई फेरी उत्खनन् गरी देशलाई आत्मनिर्भर बनाउनेतर्फ राज्यले सोच्नुपर्ने स्थानीय अगुवा देविराम कुसारी बताउँछन् ।
त्यतिबेला विभागले पेट्रोल निकालेर परिक्षणसमेत गरेको थियो । खानी खन्ने क्रममा सो क्षेत्रको नजिकमा ग्यास खानी भएको पनि पत्ता लागेको थियो । ग्यास खानीको अनुसन्धानका क्रममा उरहरीको क्वाङखोलादेखि सुकौराको पूर्वी कुवासम्म ग्यास खानीको सम्भावना भएको पत्ता लागेको बुढापाखाहरूले सुनाउने गरेको कुसारीले बताए ।
अहिले नेपालमा आइरहेको भन्दा पनि गुणस्तरीय भएको भन्दै त्यसलाई तत्काल प्रयोगमा ल्याइने जानकारी गराएको बखरिया पेट्रोल खानीका जानकार हरिभक्त भण्डारीले बताए । खानी उत्खनन् गर्दा विशेष भूमिका निर्वाह गरेका भण्डारीले खानीबाट पेट्रोलको ग्यास आएको बताए । त्यसैगरी पेट्रोलमा पाइने तत्व पनि आएको र खानीबाट निस्कने पानीले जमिन र हरियो घाँस जल्ने गरेको थियोे ।
त्यतिबेला विभागले एकजनालाई त्यसको रेखदेखका लागि पनि कटाएको थियो । उनी १५ वर्षसम्म रेखदेख गरेको र त्यसपछि बेवास्ता भएपछि छोडेका थिए । स्थानीय भूपाल बस्नेतले खानीको गोदाम प्रमुख भएर काम गरेका थिए । बखरियामा पेट्रोल खानी, सुकौरा गाउँको पूर्वमा पर्ने विद्यालय नजिककोे जरूवाको पानीलाई जापानी इन्जिनियरले परिक्षण गर्दा पानीमा आगो लागेको देखेको बस्नेतले सुनाउने गरेको कुसारीले बताए ।
अहिले बस्नेत जीवित छैनन् । त्यस ग्यास परिक्षणले पनि सो क्षेत्रमा ग्यास र बखरियामा पेट्रोल खानी भएको इन्जिनियरले नै त्यतिबेला जानकारी दिएका थिए । पेट्रोलियम पदार्थको सम्भावना भएको खानीलाई फेरी उत्खनन् गरिनुपर्ने माग स्थानीयहरूले गरेका छन् । जानकारहरू जिल्लामा खानीहरू धेरै ठाउँमा रहेको तर प्रयोगमा आउन नसकेको बताउँछन् । उनीहरूले पेट्रोल, डिजेल, कोइला, सिमेन्टको लागि चुनढुङ्गा, तामा र सुनखानी धेरै रहेको बताउँछन् ।
कसरी आयो खानीको कुरा
२०२७ सालमा बखरियाका भूपाल बस्नेत भैसी चराउँदै थिए । शितलपुरमा भैसी चराउन गएको बेला तत्कालिन उरहरी गाउँ पञ्चायतका प्रधान इश्वरीप्रसाद उपाध्यायले बस्नेतलाई पेट्रोल खानी उत्खननका लागि जग्गा दिन आग्रह गरे । प्रधानको आग्रहलाई सजिलै स्वीकार गरी जग्गा दिने सहमति पत्रमा भूपाल बस्नेत र उनका बुवा नरबहादुर बस्नेतले सहीछाप गरिदिए । त्यसको लगतै जापानीज इन्जिनियरसहित खानी तथा भूगर्व विभागको टोली बखरियामा आयो । प्राविधिक टोली आएपछि बखरियामा धेरै भौतिक संरचना तयार भए ।
बखरियामा हाल जीर्ण अवस्थामा रहेको भवन पनि सोही समयमा निर्माण भएको गोदाम घर हो । यसरी संरचना तयार र कामदार छनोट भएपछि खानी खन्ने काम सुरू गरियो । सुरूमा दुम्ना भन्ने स्थानमा खने पनि त्यहाँ समस्या भएपछि बन्तरीमा खन्न सुरू गरियो । करिब १५ सय फिट गहिरो खनिएपछि खानी भएको ९५ प्रतिसत प्रमाणित भयो । यसरी खानी भएको सम्भावना बढेपछि बखरियामा खानी तथा भूगर्व विभागका कर्मचारी बसी खानीको गोदामका लागि स्थानीय भूपाल बस्नेतलाई भर्ना पनि गरियो । खानीका विषयमा राजकीय चासो पनि दिइयो । खानीबारेमा बुझ्न तत्कालिन राजा वीरेन्द्र बखरियाको वन्तरिमा आएका थिए । उनले बखरियामा खानी भएको भन्दै स्थानीयलाई बधाई पनि दिए । खानीका सामग्री १५ वर्षसम्म बखरियाको गोदाममा थन्किए तर समस्या समाधान नभएपछि २०४२÷४३ मा गोदाम खाली गरिए पछि खानीको काम पूर्णरूपले रोकिएको छ । सरकारले यस्ता खानीहरूको उत्खनन गरी प्रयोग गर्नसकेमा महंगोमा पेटो«ल किन्नुको साटो आवश्यक पेट्रोल देशभित्र उत्पादन हुने थियो ।