दाङ, १३ माघ ।
कर्णाली डेभलपमेन्ट बैंकले दाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकले आफ्नो १९औँ शाखा जिल्लाको नारायणपुर बजारमा सञ्चालनमा ल्याएको हो ।
सेवाग्राहीलाई छिटोछरितो र सहज तरिकाले वित्तीय सेवा दिने उद्देश्यले नयाँ शाखा नारायणपुरमा विस्तार गरिएको बैंकका कार्यकारी अधिकृत दिनेश कुमार रावतले जानकारी दिए । शाखा सञ्चालनमा आएसँगै यसक्षेत्रका ग्राहकहरूका लागि मोबाईल बैंकिङ, एटिएम, आईपिएस, अनलाइन बैंकिङ, एबिबिएस सेवा उपलव्ध भएको बताए ।
उनका अनुसार दाङसहित बाँके, बर्दियामा पनि कार्यक्षेत्र विस्तार भइसकेको छ । हालै प्यूठान र रोल्पा जिल्लामा कार्यक्षेत्र थप गरी उक्त जिल्लाहरूमा शाखा सञ्जाल विस्तार गर्न लागिएको उनले जानकारी दिए । शाखाको उद्घाटन गर्दै नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतले सर्वसुलभ रूपमा वित्तीय सेवा प्रवाह गर्न अनुरोध गरे । यसक्षेत्रका व्यापारी, किसान र स्थानीयहरूलाई सहजरूपमा बैंकिङ सेवा प्राप्त गर्नसक्ने वातावरण निर्माण गर्न शुभकामना दिए ।
सो अवसरमा घोराही उपमहानगरपालिका–१० का वडाध्यक्ष चित्रबहादुर डाँगीले बैंकले नयाँ शाखा विस्तार गरी नारायणपुर क्षेत्रका विकासको एक खुड्किलो थप गरेको बताए । उनले गुनासोरहित सेवा प्रदान गर्न अनुरोधसमेत गरेका छन् । यस क्षेत्रको वित्तीय सेवा सुधार र त्यसको प्रभावकारिताका लागि स्थानीय निकायबाट आवश्यक सहयोग प्राप्त हुने प्रतिवद्धतासमेत व्यक्त गरे ।
कोभिड–१९को महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य निर्देशिकाको पूर्णपालनासहित बैंकको शाखा उद्घाटन गरिएको बंैकका नारायणपुर शाखा प्रमुख राजन ओलीले जानकारी दिए । उनका अनुसार शाखा विस्तारकै दिन २ करोड ५३ लाख निक्षेप संकलन भएको छ ।
बैंकको शाखा उद्घाटनमा नारायणपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश न्यौपाने, बैंकका कैन्द्रीय कार्यालयका कम्पनी सचिव, विभागीय प्रमुख, तुलसीपुर शाखा प्रमुख, बिजौरी शाखा प्रमुख, स्थानीय व्यवसायी र सेवाग्राहीहरूको सहभागिता रहेको थियो ।