घोराही, २१ पुस ।
घोराहीमा रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले वित्तीय संस्थाहरूले नागरिकको आर्थिक जीवनस्तर सुधारतर्फ ध्यान दिनुपर्ने बताए । उनीहरूले आर्थिक आयआर्जन र सिपमूलक गतिविधिहरूलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
सो अवसरमा सामाजिक अभियन्ता ऋषिराज जंगलीले लघुवित्तले स्थापनादेखि नै सेवा विस्तार र वित्तिय प्रगतीका सूचकहरूमा उत्कृष्ट नतिजा दिन सफल रहेको बताए । गुणस्तरीय वित्तीय तथा सामाजिक सेवाको क्षेत्रमा निरन्तर प्रतिवद्ध भएर काम गरेको भन्दै प्रशंसासमेत गरे ।
संस्थाका कार्यकारी प्रमुख सौगात वीर चौधरीले ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने नारालाई संस्थाले अवलम्बन गरिरहेको बताए । संस्थाले दाङ, सल्यान, बाँके, बर्दियासहितका विभिन्न जिल्लाहरूमा २२ वटा शाखामार्फत ३६ हजार विपन्न परिवारहरूलाई वित्तीय कारोबारमा संलग्न गराई बचत तथा कर्जा सेवा सुविधा दिँदै आएको जानकारी दिए ।
संस्थाकी संस्थापक अध्यक्ष आसमानी चौधरीले प्रवद्र्धक संस्था ग्रामीण महिला उत्थान केन्द्रले २०६० देखि महिलाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक सुधारको काम गर्दै आइरहेको बताइन् । वित्तीय संस्थाले गरिवी निवारणसहित सामान्य नागरिकलाई बैंकको पहुँचसम्म पु¥याउन सक्ने बताइन् । कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकी थिइन् ।