हिमाल शर्मा
सल्यान, २० पुस ।
सल्यानमा वर्षेनी महको उत्पादन घट्दै गएको छ । मौरीको गोला बढ्दै गए पनि मौसम परिवर्तन र चरनको अभावका कारण वर्षेनी महको उत्पादन घट्दै गएको हो ।
विगतमा ८ क्विन्टलसम्म मह बेचेका कालिमाटी गाउँपालिका–२ झिगानेका लोकेन्द्र वलीले यो वर्ष मुस्किलले १ क्विन्टल मात्र मह उत्पादन भएको बताए । मौरीको गोला बढे पनि मह उत्पादन वर्षेनी घट्दै गएको उनको भनाइ छ ।
उनले भने, ‘पहिलेको भन्दा मौरीको गोला पनि बढाएका छौं तर मह भने घटिरहेको छ ।’ गत वर्ष ३ क्विन्टल मुस्किलले मह उत्पादन भएको थियो तर यो वर्ष १ क्विन्टल किलोमा सीमित हुनुपरेको बताए । २ सय घारमा रहेको मौरीको महबाट मात्रै १५ लाखभन्दा बढी आम्दानी गरेका वलीले यो वर्ष भने ५० हजार रूपैयाँ पनि नभएको बताए ।
झिगानेकै नेत्र वली पनि गत वर्ष ३ क्विन्टल मह उत्पादन गरेका थिए । यो वर्ष भने ७० किलो मात्रै मह उत्पादन भएको बताए । च्युरी फुल्ने मौसममा लगातार वर्षा हुँदा यो वर्ष मह उत्पादनमा भारी गिरावट आएको अर्का किसान उमेश कँडेलले बताए । ६० घारबाट विगतमा ३ क्विन्टलसम्म उत्पादन गर्ने गरेको भए पनि यो वर्ष भने ३५ किलो मात्र उत्पादन भएको बताए ।
उनले भने, ‘यहाँ मौरीको मुख्य चरन भनेको च्युरी हो । च्युरी फुल्ने समयमा लगातार पानी पर्दा मौरी चर्न नपाउँदा उत्पादनै भएन ।’ सल्यान मौरीपालनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर विगतको तुलनामा मह उत्पादन घट्दै गएको छ ।
मौरीपालनबाट जीवनयापन गर्दै आएका यहाँका किसान उत्पादन घटेसँगै समस्यामा परेका छन् ।
मौरीपालनमा लगानी बढाउँदै लगे पनि मह भने वर्षेनी घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । गत वर्ष कालिमाटी क्षेत्रमा जंगलमा झुसिल किराको प्रकोप र यो वर्ष लगातारको वर्षाका कारण मह उत्पादन घटेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।
कार्यालयका अनुसार जिल्लामा २ हजार ३ सय ७० मौरी घार रहेका छन् । गत आर्थिक वर्ष १२ दशमलव १ मेट्रिक टन मह उत्पादन भएको थियो ।