उमा भण्डारी दाङ, १६ पुस । पाठ्यक्रमका माध्यमबाट स्थानीय तहका आवश्यकतालाई सम्बोधन गर्दै सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउन तुलसीपुर उपमहानरले स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको छ । स्थानीयस्तरको माग र अपनत्वलाई आधार मानेर उपमहागनरले पाठ्यक्रम निर्माण गर्न लागेको हो ।
स्थानीय पाठ्यक्रमको सिद्धान्त र शिक्षाको १३ वटा उपक्षेत्रमा रहेर शिक्षा क्षेत्रको योजना २०७८–०८२ ढाँचाअनुसार उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको कामलाई अगाडि बढाएको छ । शुक्रबार उपमहागनरपालिकाले पाठ्यक्रम निर्माणको पहिलो चरणअन्र्तगत शिक्षाका विज्ञहरूसँग सुझाव संकलन गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका र युएसआईडीको तयार नेपालको परियोजनामा भएको अन्तरक्रिया कार्यक्रमका अवसरमा सहभागीहरूले स्थानीय परिवेशलाई समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । स्थानीय परिवेशअन्तर्गत तुलसीपुर क्षेत्रको भाषा, संस्कृति, परम्परा, नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थल, ललित कला, काष्ठकला, यसक्षेत्रको वातावरणीय प्रभाव, लोपोन्मुख समुदाय, लोपोन्मुख पशुपंक्षी, स्थानीय आवश्यकतालगायतका विषयवस्तुहरू समेटेर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने उनीहरूको सुझाव छ ।
नगरप्रवक्ता सूर्यबहादुर डाँगीको अध्यक्षतामा भएको छलफलमा शिक्षा विज्ञ मुकुन्द रिजालले बालबालिकाहरूको शैक्षिक गुणस्तर कसरी बृद्धि गर्ने ? भन्ने पक्षलाई ध्यान दिन जरूरी रहेको बताए । विद्यालयमा विद्यार्थीहरू उपस्थितिलाई नियमित गरी पढाइमा रूचि ल्याउने ढंगको पाठ्यक्रम निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
एनप्याब्सन जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेले तुलसीपुरको भाषा, संस्कृतिको पहिचान, स्थानीय सडक पूर्वाधार, एयरपोर्ट, ढललगायतका समग्र क्षेत्रको विषयवस्तु समेटेर सोहीअनुसारको ढाँचा निर्माण गर्न उमहानगरलाई सुझाव दिए । ‘हामीले तुलसीपुरलाई कसरी चिनाउन सक्छौँ भनेर मुख्य विषयवस्तु बनाउन जरूरी छ’ उनले भने– ‘स्थानीय पाठ्यक्रमले उपमहानगरको समग्र अवस्थाको बारेमा सहजै चित्रण गर्न सकोस् ।’
नेपाल शिक्षक संघ तुलसीपुरका नगर अध्यक्ष लेवेन्द्र केसीले स्थानीय पाठ्यक्रममा संस्कार र व्यवहारका कुराहरूलाई अनिवार्य रूपमा समेट्न जरूरी रहेको बताए । पछिल्लो समय बालिबालिकाहरू धुम्रपान, मद्यपान, सूर्तिजन्य पदार्थहरूको सेवन तथा प्रयोगमा संलग्न हुने गरेको भन्दै उनले बालबालिकाहरूलाई कुलतबाट बचाउनका लागि नैतिक शिक्षा अपरिहार्य भएको उनको भनाइ छ । उनले विद्यालयलाई सुविधा सम्पन्न बनाउन नसकेको अवस्थामा रहेका विद्यालयहरूले खानेपानी, सरसफाइ, शौचालय र विद्यार्थीहरू बस्ने ठाउँको आधारभूत पूर्वाधाहरूको व्यवस्थापन गर्नुपर्ने बताए ।
नेपाल राष्ट्रिय शिक्षक संघ तुलसीपुर समिति अध्यक्ष होमराज डाँगीले गरिबीका कारण पढाइ छुटेका बालिबालिकाहरूलाई लक्षित गरी विद्यार्थी, अभिभावक शिक्षालाई पनि स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको सुझाव छ । ‘एउटा विद्यालयमा १० देखि १२ जना विद्यार्थीहरू गरिबीका कारण पढाइ छोडेर कमाउन जाने र वार्षिक परीक्षा दिन विद्यालय आउने अवस्था अझै छ’ उनले भने– ‘अभिभावकले बुझ्न नसक्दा बालिबालिकाहरू विद्यालय आउन सकेका छैनन्, यसर्थ विद्यालय छोड्दा बालिकाहरूलाई पर्ने असरहरूका बारेमा जानकारी लिन÷ दिन सकिने विषयवस्तु स्थानीय पाठ्यक्रममा समावेश हुुनुपर्छ यो अत्यावश्यक छ ।’
माध्यमिक विद्यालय कालाखोलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीले स्थानीय भाषाहरूमा आधारित पाठ्यक्रम निर्माण गर्नुपर्ने बताए । कतिपय बालबालिकाहरूले मातृभाषामा पढ्न र बोल्न नपाउँदा भाषा बुझ्न बुझाउन समस्या भइरहेको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका अधिकृत झरेन्द्र खेरल, युएसएआइडी साझेदारीका विश्वमणि खनाल, अखिल नेपाल शिक्षक संघ नगर सचिव कमलप्रसाद शर्मा, मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, वातावरणविज्ञ डिल्लीबहादुर रावतलगायतका विभिन्न शैक्षिक संस्थामा आवद्ध शिक्षक कर्मचारीहरूले स्थानीय ललितकला, भेषभूषा, धर्म, संस्कृति, लैंगिक समानता तथा समावेशीता, राष्ट्रिय पहिचान र स्थानीय पहिचान झल्कने विषयवस्तुहरूलाई पाठ्यक्रमको पहिलो प्राथमिकतामा राख्न सुझाव दिए ।
यस्तै पछिल्लो समय वातावरणीय प्रदुषण बढ्दै गइरहेकाले स्वच्छ वातावरणको निर्माण कसरी गर्न सकिन्छ ? समुदायमा लोपोन्मुख पशुपंक्षी र बोटविरूवाहरूको संरक्षण कसरी गर्न सकिन्छ ? भन्ने विषयवस्तुहरूलाई समेत समेटेर पाठ्यक्रम निर्माण गर्न जरूरी रहेको बताए । साथै आधारभूत तह पास गरेका विद्यार्थीहरूले आफ्नो दक्षता, सिप पहिचान गर्न सक्ने गरी आत्मनिर्भर र सिपमूलक विषयहरू समेत प्राथमिकतामा राख्नुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलुकद महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले दिगो विकासको लक्ष्य अनुसार गुणस्तरीय शिक्षाका लागि कक्षा १ देखि ८ सम्मका लागि स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम तयार पार्न लागिएको जानकारी दिए । सन् २०३० सम्म सबै बालबालिकाहरूलाई सान्दर्भिक साथै सिकाइका सकारात्मक असरहरू प्राप्त होस् भन्ने उद्देश्यले उनीहरूलाई निःशुल्क, न्यायोचित तथा गुणात्मक प्राथिमक र माध्यमिक शिक्षाको सुचिश्चितता स्थानीय पाठ्यक्रमको निर्माणको उद्देश्य रहेको बताए ।
तुलसीपुर उपमहानगर–पालिकाका प्रमुख घनश्याम पाण्डेले जीवनउपयोगी शिक्षाका लागि स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम लागू गर्न लागिएको बताए । उनले तुलसीपुरको संस्कृति, पर्यटन, कृषि, भाषा आदिमा रहेर पाठ्यक्रम तयार गरिने जानकारी दिए ।
उनका अनुसार स्थानीय पाठ्यक्रममा उपमहानगरको भौगोलिक तथा जनसंख्याको अवस्था, भाषा, संस्कृति, परम्परा, चाडपर्व, जातजाति, भेषभूषा, धर्म, प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र, वातावरण, ऐतिहासिक तथा सांस्कृतिक संरचना, पर्यावरणीय सचेतना तथा प्राकृतिक तथा मानवजन्य प्रकोप न्यूनीकरण र विपद् व्यवस्थापन, सूचना र प्रविधिलगायतका विषयवस्तुहरू समावेश गरिने छन् ।