प्रदेश टुडे
दाङ,२ पुस । दाङको तुलसीपुरमा बिहीबारदेखि ‘तुलसीपुर महोत्सव’ सुरु भएको छ । महोत्सवको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गरेका छन् । चेम्बर अफ कमर्श तुलसीपुरको आयोजनामा पुस १२ गतेसम्ममा तुलसीपुर महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ ।
महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न सकेमात्रै महोत्सव सञ्चालनको सार्थकता हुने बताएका छन् । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण प्रवद्र्धन गर्ने भएको हुँदा मेला महोत्सव आवश्यक रहेको बताए । कारोबार धेरै गरेरमात्र हुँदैन्, स्थानीय उत्पादनले बजार पाउँछ कि पाउँदै भन्ने कुरा प्रमुख हो ।’ महोतसवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु नै पर्छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न सकेमात्रै देशले आर्थिक समृद्धि प्राप्त गर्ने उनले धारणा व्यक्त गरे । ‘मजदुरले श्रम गरेर उनीहरुको हातमा पैसा पर्नुपर्छ ।’ उनले भने– ‘मरिमेटी दुःख गर्ने तर पैसाजति देश बाहिर जान्छ भने कारोबार जतिको भएपनि केहि अर्थ हुँदैन् ।’ उनले महोत्सवले स्वदेशी उत्पादनको प्रवद्र्धनमात्र नभई स्थानीय कला संस्कृतिको संरक्षण गर्ने बताए । ‘नेपाल बहुजातिय, बहुभाषिक देश हो, सबैका आ–आफ्नै भाषा, संस्कृति छन्, तिनीहरुको संरक्षणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्छ ।’
तिमिल्सिनाले सामाजिक र व्यवसायिक संघसंस्थाहरु राजनीतिक दलको भातृसंगठन बन्न नहुने बताएका छन् । राजनीतिलाई हरेक क्षेत्रमा मिसाउने गलत प्रवृत्तिका कारण सामाजिक एकतामा ह्रास आएको बताए । मेला महोत्सव नेपालीहरुको पहिचान भएको भन्दै उनले एउटाले ल्याएको योजनालाई सबै व्यवसायीले साथ दिन जरुरी रहेको बताए । देशको समृद्धि र आर्थिक सशक्तिरकणका लागि सबै मिलेर हिँड्नुपर्नेमा जोड दिए । राजनीतिक देशको विकास, समृद्धि, सुशासनका लागि आवश्यक भएपनि रहेक क्षेत्रमा राजनीति मिसाउन गतल भएको बताए ।
अध्यक्ष तिमिल्सिनाले नागरिकको जीवनस्तर सुधार र देशलाई अगाडि बढाउनका लागि सहमति र सहकार्य अत्यावश्यक रहेको बताए । ‘आ–आफ्नो राजनीतिक आस्था हुन्छ, आस्था राख्न पाइन्छ तर आफ्नो आस्थाको भरमा सबैक्षेत्रमा राजनीतिक मिलाउन पाइन्छ’ उनले भने– ‘एकले अर्काको खुट्टा तानेर बलियो भइन्छ, एउटाले नयाँ काम थाल्दा अर्कोले अवरोध गरे त्यो काम सकरी सफल हुन्छ, अब त्यस्तो गर्ने होइन एउटा ल्याएका योजनालाई अर्काले साथ दिनुपर्छ ।’
उनले पूर्वाधार विकास, आर्थिक सशक्तिकरण, उद्यमशीलताको विकास, युवा रोजगारको विकासका लागि नयाँ ढंगले प्रतिस्पर्धा गर्न अनुरोध गरे । राम्रो कुरालाई अनुशरण गर्दै जाने र नराम्रो कुरालाई परिवर्तन गर्दै जानुपर्ने भन्दै उनले आमागी दिनमा मेला महोत्सव जसले आयोजना गरेपनि महोत्सव स्टल, उत्पादन, परिकारहरुको स्वाद लिने, रम्ने रमाउने काम सबैले गर्नुपर्ने बताए ।
उनले मेला महोत्सव स्थानीय नागरिकको जीवनस्तर सुधारका लागि सञ्चालन हुने भन्दै उनले महोत्सवमा उठेको रकम दुर्गम भेगका नागरिक, मजदुर परिवारका खल्तीसम्म पुग्ने महोत्सवले सार्थकता पाउने बताए । ‘नेताहरुले आफू राम्रो बनेर भन्दा अरुलाई सकेर जनमत बटुल्ने प्रवृत्ति बढेको छ ।’
उनले भने– ‘नागरिकले नेतृत्वमाथि खबरदारी गर्नुपर्छ, होइन भने राजनीति अझै विकृतितिर जान्छ ।’ सबैतिर राजनीतिको आँखाले हेर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनले बताए । ‘मेला महोत्सवलाई समेत राजैतिक आखाँले हेर्न थालियो ।’ उनले भने– ‘फुटेरभन्दा जुटेर हुन्छ भन्ने सबैमा चेतना पुग्न सक्यो भने देशको विकास हुन्छ, सरकार पनि त मिलेर बनेको छ ।
कार्यक्रममा चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोख्रेलले निजी क्षेत्रको प्रवद्र्धन भएमात्रै देशको विकास हुने बताए । ‘निजी क्षेत्रलाई राज्यले सम्बोधन गर्नुपर्छ’ उनले भने– ‘निजी क्षेत्रकै कारण देशमा आर्थिक विकास सम्भव छ ।’ उनले स्वदेशी उत्पादनलाई विदेशमा लैजानुपर्ने बताए । ‘स्वदेशका उत्पादन विदेश निर्यात गरी स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न सकिन्छ’ उनले भने–‘स्वदेशी वस्तुको निर्यातले मात्रै आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ ।’
कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले आफ्ना स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्दै सबैमा आत्मविश्वासको विकास गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिएकाले महोत्सव सफल बनाउने एकता, साथ, सहयोग र संस्कारको विकास हुनुपर्ने बताए । सरकारभन्दा बलियो संस्कार हुने भन्दै उनले हरेक क्षेत्रमा साथ, सहयोग र सहकार्य सहितकोे संस्कारको विकास गर्न सबैलाई अनुरोध गरे । कोमल वलीले सामान्य कुरामा पनि नागरिकहरु परनिर्भर हुनुपर्ने विडम्वनाको अवस्थाबाट मुक्ति हुनुपर्ने बताइन् ।
महोत्सव मूल आयोजक समितिका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षमा महोत्सवको शुभारम्भ भएको हो । महोत्सवमा तीन सय स्टल राखिएको छ । कार्यक्रमको महासचिव प्रेमप्रकाश गिरीले सहजीकरण गरेका थिए ।