प्रदेश टुडे
तुलसीपुर, १ पुस । दाङको तुलसीपुरमा आज बिहिबारदेखि तुलसीपुर महोत्सव हुन लागेको छ । स्थानीय उत्पादन र बजारलाई प्राथमिकता दिएर उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले तुलसीपुर महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
चेम्बर अफ कमर्श तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवको बिहीबार दिउँसो १२ बजे राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन कार्यक्रम रहेको महोत्सव मूलआयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जनाएका छन् । आजदेखि सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
महोत्सवमा उद्घाटन समारोहमा विभिन्न प्रकारका झाँकी जुलुससहितको शोभा यात्राको आयोजना गरिएको छ । महोत्सवमा करिब ३ सय २५ वटा स्टल व्यवस्थापन गरिएको छ । जसमध्ये २५ वटा स्टल कृषिका लागि बनाइएको छ । महोत्सवमा पाँच करोडको आर्थिक कारोबार हुने र तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।
यसैबीच तुलसीपुर महोत्सवको पूर्वसन्ध्यामा तुलसीपुर बजार सरसफाइ गरिएको छ । तुलसीपुरको बसपार्क, आसपासका क्षेत्र, वीरेन्द्र चोक, विद्युत रोड हुँदै महोत्सव स्थलसम्म तीन टेक्टर फोहोर संकलन गरेर व्यवस्थापन गरेको महोत्सव मूलआयोजक समितिका संयोजक टोप बहादुर घर्तीले जानकारी दिए ।
सरसफाइ अभियानमा तुलसीपुर उपमहागनरपालिका, जनपथ प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्रेफ गोर्खाका ग्रुप र तुलसीपुर चेम्बरका पदाधिकारी लगायतको सहभागिता रहेको चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले जानकारी दिए । महोत्सव तुलसीपुरको घोराही रोडको उत्तरतर्फ खाली चौरमा हुँदैछ ।