- Advertisement -spot_img
Monday, December 6, 2021
Homeविचारघुमफिरको संस्कृति मनोवैज्ञानिक हुन्छ

घुमफिरको संस्कृति मनोवैज्ञानिक हुन्छ

- Advertisement -spot_img

कस्तुरीले आफ्नो बिनाको बास्ना खोज्न भौतारिएको जस्तै पर्यटनका लागि रमणीय स्थल खोज्दै हामी नेपालीहरू विभिन्न मुलुकमा यात्राको तय गर्दछौ । पहाड हेर्न दार्जलिङ पुग्दछौ, ताल हेर्न नैनिताल पुग्दछौ अझ नदीमा स्नान गर्न तीर्थाटनलाई भन्दै बनारस जाने गर्दछौ । पर्यटनको लागि नेपालमा के छैन ? मात्र समुन्द्र छैन तर समुन्द्रजस्तै सबैलाई लोभ्याउने प्राकृतिक हिमतालहरू छन् । नेपालमा आन्तरिक पर्यटकहरूलाई घुमफिर गर्ने धेरै स्थलहरू छन् ।

हिमाल, पहाड र तराई मिलेको भूमि, हिमालदेखि तराईसम्म रहेका ताल तलैया, विभिन्न तीर्थाटनका धार्मिकस्थल, विभिन्न जनजातिका भाषा र संस्कृति मात्र होइन जैविक विविधतामा रमाउनेहरूका लागि पनि पर्यटक भएर घुमफिर गर्ने धेरै ठाउँहरू छन् ।

मानव इतिहासमा पटक–पटक विभिन्न प्रकारका महामारीले मानवीय क्षति हुँदै आएको छ । तर पनि मानिसले घुमफिरको संस्कृति छाडेको छैन । घुमफिरको संस्कृति मनोवैज्ञानिक हुन्छ । घुमफिरको सभ्यताबाट मानव समाजको विकास भएको छ । चाहे त्यो जंगली अवस्थादेखि आधुनिक सभ्यताको विकासमा मानिसको धेरै समय घुमफिरमै बितेको छ । अहिले भने समाजमा घुमफिर अर्थात् पर्यटक फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । नेपालीहरू घुमफिरकै लागि एसियालगायतका युरोप, अमेरिकाका विभिन्न मुलुकमा जाने गर्दछन् ।

आन्तरिक पर्यटन विकासको लागि पर्यटकहरूको लागि खान, बस्न होमस्टे, होटल खुल्दै जानुपर्दछ । गाउँमा पुग्ने सडकमार्ग भरपर्दो हुनुपर्दछ । अर्कोतर्फ पर्यटकहरूको सुरक्षा, सञ्चार सुविधा र स्वास्थ्य केन्द्रहरूको पनि ब्यवस्था हुनुपर्दछ । पर्यटन क्षेत्रहरूको एउटा अभिन्न क्षेत्रको रूपमा अहिले सा“स्कृतिक पर्यटनलाई पनि लिने गरिन्छ ।

तालतलैया र प्राकृतिक सौन्दर्यमा रमाउन विदेशी भूमिमा पुग्ने बानी धेरै नेपालीहरूको छ । आफ्नै देशभित्र रहेका तालतलैया र प्राकृतिक, साँस्कृतिक र साहसिक पर्यटनमा रमाउने बानी धेरैको छैनभन्दा पनि हुन्छ । आफ्नै देशभित्रको सुन्दरतासँग आन्तरिक पर्यटकको रूपमा रमाउने धेरैको बानी छैन । यसभित्र धेरै कारण छन् । पर्यटनको विकास गर्न मूख्य पूर्वाधार आवश्यकता पर्दछ । पर्यटनको क्षेत्रमा पहिलो पूर्वाधार भनेको यातायात हो । यातायातबिना पर्यटनको विकास हँुदैन । यातायातको असुविधाकै कारण दुरदराजसम्म पर्यटकहरू घुमफिर गर्न जान रूचाउँदैनन् ।

संसारको जुनसुकै मुलुक किन नहोस् समुन्नत र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन हो । पर्यटनको विकास भयो भने मात्र गाउँदेखि शहरको विकास हुन्छ । आन्तरिक पर्यटनको लागि देशमा अनगिन्ती पर्यटकीय सम्भावना बोकेका भर्जिन गन्तव्यहरू छन् । ती गन्तब्यहरूको उचित प्रचारप्रसार भएको छैन । अनेकौ साँस्कृतिक तथा धार्मिक सम्पदा र तीर्थस्थलहरू संरक्षणको अभावमा लोपोन्मुख हुन लागेका छन् । त्यस्ता सबै धरोहरहरूको खोज र प्रचारप्रसार गर्नुपर्दछ । अर्कोतर्फ त्यस्ता भर्जिन गन्तव्यहरूमा आवश्यक पूर्वाधार र सूचना प्रविधिको विकास हुनुपर्दछ ।

अहिलेसम्म पर्यटकहरूलाई आकर्षण गर्ने प्राकृतिक सम्पदामा राज्यले खर्च गर्न परेको छैन । तर अब पर्यटनको विकास गर्न ती सम्पदाहरूलाई संरक्षण गर्दै जानुपर्दछ । यो बाहेक आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्न पार्क, फनपार्कजस्ता स्थलहरूको पनि विकास गर्दै जानुपर्दछ । पूर्वाधारको विकास गर्ने हो भने नयाँ गन्तव्यको पर्खाइमा बसेका आन्तरिक पर्यटक घुमफिर गर्न उत्साहित हुन्छन् ।

तर हामीकहाँ पर्यटन विकासको लागि पूर्वाधार निर्माण गर्ने काममा कुनै गुरूयोजना छैन । आवश्यकता हो या हैन ? आफूखुसी पर्यटनको पूर्वाधार बन्न थालेका छन् । प्राकृतिक भ्यूटावर बनेका पहाडको टुप्पोमा भ्यूटावर बनाउने होड चलेको छ । मोटरमार्ग पुगेको ठाउँमा केबुलकारको योजना बनेको छ र कहिकतै निर्माण पनि हुन लागेको छ । प्रत्येक जिल्लामा यस्ता धेरै उदाहरण भेटिन्छन् ।

आन्तरिक पर्यटन विकासको लागि पर्यटकहरूको लागि खान, बस्न होमस्टे, होटल खुल्दै जानुपर्दछ । गाउँमा पुग्ने सडकमार्ग भरपर्दो हुनुपर्दछ । अर्कोतर्फ पर्यटकहरूको सुरक्षा, सञ्चार सुविधा र स्वास्थ्य केन्द्रहरूको पनि ब्यवस्था हुनुपर्दछ । पर्यटन क्षेत्रहरूको एउटा अभिन्न क्षेत्रको रूपमा अहिले साँस्कृतिक पर्यटनलाई पनि लिने गरिन्छ । आफ्नो गाउँको कला, संस्कृति, प्राचीन भेषभूषा, रहनसहन, परम्परा झल्कने धेरै चिजहरूलाई विभिन्न साँस्कृतिक म्युजियमहरूको स्थापना गर्नुपर्दछ ।

नेपालमा अहिलेसम्म विभिन्न पर्यटन व्यवसायीहरू मूलत विदेशी पर्यटक र विदेश टुर प्याकेजहरूमा केन्द्रित हुँदै आएका थिए । अब आन्तरिक पर्यटकहरूका लागि विभिन्न पर्यटकीय गन्तव्यहरूको लागि सुलभ र उपयुक्त टुर प्याकेजहरू तयार गरी सहज पहुँच सृजना गर्ने हो भन्ने आन्तरिक पर्यटनमा उल्लेख्य सुधार आउन सक्छ । आन्तरिक पर्यटनको विकासको लागि विदेशी पर्यटकका लोकप्रिय गन्तव्यहरू जहाँ थिए ति स्थानहरूमा आन्तरिक पर्यटकलाई लक्षित गरी सुलभ दरका विभिन्न प्याकेजहरू अब पर्यटन ब्यवसायीहरूले उपलव्ध गराउने हो भने आन्तिरिक पर्यटनमा पनि व्यापक सुधार आउने छ ।

हामीकहाँ जोसँग पैसा र समय छ तर घुमफिर गर्ने संस्कृति छैन । घुमफिरमा रमाउनेहरूमा पनि देशभित्र घुमफिर गर्ने संस्कृति छैन । त्यस्ता मानिसहरूलाई देशभित्रका पर्यटकीयस्थल घुमफिर गर्ने संस्कृतिको विकास गर्नुपर्दछ । घुमफिरलाई संस्कृतिमा परिणत गर्नसके प्रत्येक नागरिकले अन्य फजुल खर्च कटौती गररे पनि आफ्नो इच्छाअनुसार कहि कतै घुमफिर गर्न सक्दछ ।

विश्वका कैयौं मुलुक पर्यटन ब्यवसायले दिगो आर्थिक विकास गर्न सफल भएका छन् । पर्यटनले आर्थिक गतिविधि बढाउने मात्र होइन रोजगारी पनि सृजना गर्दछ । पर्यटनले उत्पादन वृद्धि र विभिन्न आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्दछ । पर्यटनले कला, संस्कृति, रहनसहन, प्राकृतिक सम्पदा, स्थान विशेषको भौगोलिक, धार्मिक, साँस्कृतिक, सामाजिक वस्तुस्थितिसँगसमेत सम्बन्ध रहन्छ । प्राकृतिक वातावरण, ऐतिहासिक साँस्कृतिक सम्पदाजस्ता कुराहरूसँग पर्यटन प्रत्यक्षरूपमा जोडिएको हुन्छ । तर नेपालमा पूर्वाधारको अभावका कारण कतिपय जिल्लाका आकर्षक गन्तव्य पनि पर्यटन गतिविधिले गति लिएका छैनन् ।

पछिल्लो समय नेपालीहरू बिदाको समयमा विभिन्न आन्तरिक पर्यटनको रूपमा घुमफिर गर्न थालेका छन् । नेपालबाट पर्यटक बनेर विदेश घुमफिर गर्न जानेको संख्या पनि बढ्दैछ । विभिन्न टुर एजेन्सीले ल्याउने आकर्षक घुमफिर प्याकेज, नेपालीमा बढ्दै गएको घुमफिर संस्कृति र खर्च गर्नसक्ने क्षमताका कारण आन्तरिक पर्यटनको क्षेत्रमा नेपालीको पहुँच विस्तारै बढदै गएको छ ।

अर्कोतर्फ सामाजिक सञ्जालको प्रभाव र सचेतनाका कारण पनि आन्तरिक पर्यटकको घुमफिर गर्ने संस्कृति बढ्दै गएको छ । यो आन्तरिक पर्यटनको क्षेत्रमा राम्रो पक्ष हो । विगत केही बर्षयता ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका होमस्टेले पनि आन्तरिक पर्यटक बढ्न थालेका हुन् । कामकाजको थकान मेटाउन र मनोरञ्जन गर्न पनि आन्तरिक पर्यटक होमस्टे पुग्न थालेका छन् । घुमफिरमा निस्कनु रमाइलोका लागि मात्र नभएर आन्तरिक पर्यटकहरूका लागि नयाँ अनुभव लिनु पनि हो ।

तर आन्तरिक पर्यटकहरू गाउँमा घुमफिर गर्दैमा पर्यटनको विकास हुने होइन । आन्तरिक पर्यटनको विकास गर्न वस्तुको उत्पादन बढाउनुपर्दछ । अहिले नेपालमा आन्तरिक पर्यटनबाट केवल अवलोकन मात्र भएको छ । आन्तरिक पर्यटक हुनको लागि उनीहरूको घुमफिरमा खर्च गर्ने बानीको विकास हुनुपर्दछ । आन्तरिक पर्यटकहरू खर्च गर्न तयार छन् तर खर्च गर्ने वस्तु र ठाउँ भेटाएका छैनन् ।

आन्तरिक पर्यटकहरू पुग्ने गन्तब्य वरपर वस्तुको उत्पादन भएन भने आर्थिक विकास हुँदैन । आर्थिक विकासको लागि उत्पादननै गर्नुपर्दछ । पर्यटकहरूले प्रयोग गर्ने सामग्रीहरूको उद्योग एवं कलकारखानाहरूको स्थापना गर्ने सोच अबको आन्तरिक पर्यटनमा हुनुपर्दछ । विभिन्न ट्राभल एजेन्सीलगायत सुविधा सम्पन्न होटल, रेष्टुरेण्टहरू, लजहरूको विकास पनि पर्यटकीय रूपमा विकास गर्दै जानुपर्दछ ।

अहिले देशमा अधिकांश युवाहरू बेरोजगारी छन् । यो समस्याले अब झन विकराल रूप लिदैछ । कृषि र पर्यटन क्षेत्रलाई ब्यवस्थित गरी रोजगार सृजना गर्न सकिन्छ । सरकारले यो बारेमा ध्यान दिन जरूरी छ । युवाहरूलाई देशभित्र काम गर्नुपर्छ भन्ने चेतना हरेक समुदायले अब जगाउनुपर्दछ । युवाहरूलाई ग्रामीण क्षेत्रमा कृषिलाई वैज्ञानिक ढंगले विस्तार गर्दै पर्यटन ब्यवसायमा जोडिन सकियो भने पर्यटनमा आर्थिक विकास हुन्छ ।

अबको पर्यटनमा पर्यावरणको ख्याल गर्नुपर्दछ । पर्यावरण मुलुकको सम्पदा हो र वातावरण अनुकूलको प्रभाव बिग्रियो भने आन्तरिक पर्यटन ब्यवसाय चल्दैन ।खोलानाला, हिमाल, पहाड, उपत्यका, आदिजस्ता भौगोलिक स्वरूपदेखि लिएर नदी, ताल, झरना, पोखरी, जंगल, चराचुरूङ्गी, जनावर आदिको सामूहिक परिवेश पर्यावरणका आधार हुन् । यि सबै विषयवस्तु पर्यटकहरूका लागि रूचिकर हुन्छन् । सामान्यत पर्यटनमा प्राकृतिक पर्यटन नै दिगो हुने गर्दछ । अबको पर्यटन बिकासले वातावरण र पर्यावरण जोगाउ पर्दछ । यो सोच भयो भने मात्र पर्यटनको बिकास हुन्छ ।

नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, आकर्षक प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मुलुक भनेर विश्वमै चिनिन्छ । तर हामीले त्यसको महत्व बुझन सकेका छैनौ भन्दा पनि हुन्छ । जुनकुरा बुझन नसक्दा जति पर्यटन क्षेत्रमा विकास हुनुपर्ने हो त्यति भने हुन सकेको छैन । विश्वका अधिकांश मुलुकहरूले पर्यटन क्षेत्रबाट भरपुर लाभ उठाउन सकिरहेको वेला नेपालले भने पर्यटन क्षेत्रको आवश्यक पूर्वाधारहरूको विकास र विस्तार गर्न नसक्दा पर्यटनको क्षेत्रमा पछाडी परेका छन् ।

पर्यटनका लागि नेपालमा के छैन ? प्राकृतिक मनोरम दृश्यवोलकन, कला, साँस्कृतिक, रहनसहन, भाषा, संस्कार, रितीरिवाज, धार्मिक स्थल, मनोरञ्जनात्मक, खेलकुद, तीर्थाटन, मेला, शहरी रमझम, ग्रामीण बसाई, साहसिक यात्रा, हिमाल आरोहण, विभिन्न स्थलको पदयात्रा, विभिन्न व्यापारिक मेला एवं प्रदर्शनी, अध्ययन, अनुसन्धानलगायत धेरै क्षेत्र छन् ।

नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र भेटिएका छन् । साना ठूला गरेर नदी, खोलानालाको संख्या पनि छ हजारभन्दा बढी छन् । देशभरि गरेको अध्ययनका क्रममा पाँच हजार ३ सय ५८ वटा ताल भेटिएका छन् । संरक्षणमा बढी चुनौतिमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् ।

अधिकांश ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एसियाका वाटर टावर पनि भन्ने गरिन्छ । कतिपय हिमनदीका मुल तालबाट फुटेका छन् भने कतिपय हिमालबाट हिमताल बनेका छन् । तुलनात्मकरूपमा विश्वका अन्य देशमा पाइनेभन्दा नेपालका तालतलैया स्वच्छ पानी मानिन्छ ।

आन्तरिक पर्यटकहरूका आ–आफ्नो सौख र रूचि हुन्छन् । कसैको सौख जन्मसिद्ध वा वंशाणुगत हुन्छन् भने केही पर्यटकले सामाजिकीकरणको प्रक्रियाबाट ग्रहण गर्दछन् । नयाँ ठाउँ घुमफिर गरेर विविध पक्षको अवलोकन र अनुभवको आनन्द लिनु पनि मानवीय सौख र रूचिका महत्वपूर्ण पाटो हो । जुन सौख र रूचि अहिले मानवीय स्वभावमा परिणत हुँदै समाजमा संस्कृतिकै रूपमा स्थापित भएको छ । जसरी बाह्य पर्यटकहरूमा घुमफिर निजी सौखभन्दा पनि समाजको संस्कृति नै बनेको छ । जसको लागि राज्यले सरकारी, गैरसरकारीलगायत निजी क्षेत्रसमेतका कर्मचारी तथा श्रमिकहरूलाई घुमफिरका लागि वार्षिक छुट्टी नै दिएर अन्य सहुलियत र सुविधासमेत दिने गर्दछन् ।

नेपालीहरूमा घुमफिर गर्ने रूचि विकास हुन थालेको छ । आजभोलि पर्यटनको बिट फराकिलो हुँदै गएको छ । पर्यटनहरू हिमाल, ताल र मठमन्दिरमा मात्र पुग्दछन् भन्ने बुझाइलाई अब भने ऐतिहासिक कुरा खोज कार्य गर्ने पर्यटकहरू कोत, गढी र इतिहास जोडिएका सम्पदामा समेत पुग्न थालेका छन् । पर्यटन विकासको लागि यो खुसीको कुरा हो । तर ति स्थानमा पुग्नको लागि धेरै ठाउँमा सडकको पूर्वाधार भने छैन ।

अब पूर्वाधारको विकास गर्दै परम्परागत कला, संस्कृतिलाई जीवन्त राख्दै यसलाई आन्तरिक पर्यटनको विकासमा जोड्नुपर्दछ । आन्तरिक पर्यटनको लागि साँस्कृतिक पर्यटन एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुनसक्छ । यसका लागि सरकारी तवरबाट आवश्यक नीति तथा कार्यक्रम ल्याएर योजनावद्ध ढंगबाट अगाडि बढ्नुपर्दछ । अब विभिन्न जनजातिहरूको विशिष्ट मूल्य, मान्यता र संस्कार, संस्कृतिलाई उपयोग गरी आन्तरिक पर्यटनको विकास गर्नुपर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here