प्रदेश टुडे
दाङ, २४ कार्तिक । मंसिर २५ गते दाङमा आयोजना हुन लागिरहेको उत्सर्ग संगीत अवार्डको निर्णायक मण्डल चयन भएको छ । नेपाली गीत संगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरूको सम्मान गर्ने उद्देश्यले सञ्चालन हुन लागेको उक्त अवार्डको निर्णायकमा नायक अर्जुन श्रेष्ठ, संगीतकार सन्तोष श्रेष्ठ र लोकगायक झलक संगीतम चयन भएका छन् ।
राप्ती क्षेत्रका स्रष्टाहरू सहभागी हुने गरी आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड–२०७८ मा राप्ती क्षेत्रमा गाइने लोकभाका, रूपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिनेछ ।
पहल नेपाल तथा उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको राप्ती क्षेत्रका आठ स्रष्टाहरूलाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले संयुक्तरूपमा आयोजना गरेको उत्सर्ग संगीत अवार्ड–२०७८ मा नेपाली गीतसंगीतको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोले स्रष्टाहरू दामोदर बटुवा आचार्य, चन्द्रकला शाह, कोमल वली, कुलानन्द गिरी, चन्द्र शर्मा, सीता आचार्य, चुल्ह्या चौधरी र मोहलाल चन्द आधारलाई दीर्घ साधना सम्मान प्रदान गरिने कार्यक्रम निर्देशक केएल पीडितले बताए ।
कार्यक्रम निर्देशक पीडितका अनुसार अवार्ड कार्यक्रममा स्व. प्रेमप्रकाश मल्ल, स्व. जंगबहादुर गन्धर्व, स्व. मधुबाबु थापा, स्व. नारायण पाण्डे र स्व. मथुराप्रसाद श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिने भएको छ । साथै त्यस अवसरमा राप्ती क्षेत्रका विभिन्न जाति तथा समुदायका साँस्कृतिक झाँकीहरू प्रस्तुत गरिने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले बताए । अवार्ड वितरण समारोहमा लुम्बिनी प्रदेशका सभामुख एवं जनवादी कवि, गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई २५ हजार राशिको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।