Tuesday, May 20, 2025
Homebreaking-newsसन्दर्भः विश्व हुलाक दिवस, चिठीपत्र आउन छोडेपछि सेवा बढाउँदै हुलाक

सन्दर्भः विश्व हुलाक दिवस, चिठीपत्र आउन छोडेपछि सेवा बढाउँदै हुलाक

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २३ असोज ।
चिठ्ठी तिमीलाई लेखु भन्छु,
मनको कुरा मनमै रह्यो…
शम्भु राईकोे यो गीत सुन्दा अहिले युवा पुस्तालाई अनौठो लाग्न सक्छ । कुनै समय चिठीपत्रको जमाना थियो, अर्थात् आफन्तजन र प्रेमी–प्रेमिकाको खबर हल्काराले बोकी हिड्ने सन्देश चिठ्ठीमा हुन्थ्यो । तर अहिले चिठी होइन, इमेल र सामाजिक सञ्जालका ‘इनबक्स’मा आफन्तको सुख दुःखका सन्देश खस्ने गरेका छन् ।

ऊ बेला घर छेऊबाट हल्कारा अगाडि बढ्दै गर्दा आफन्तजनको चिठ्ठी हातमा पर्ने आशा हुन्थ्यो । टाढा रहेका आफन्तका सुख, पीडा र व्यथा तिनै चिठ्ठीमार्फत आउने गर्दथ्यो । विगतमा गाउँ–गाउँ पुग्ने हुल्कारा नै खबर आदानप्रदानका संवाहक थिए । घर बाहिर स्वदेश वा विदेशमा रहेका आफन्तजन र साथीसंगीका हाँसो र पीडा अभिव्यक्त हुन्थे, चिठ्ठीपत्रमा । परदेशिएका पतिको खबर थाहा पाउन हल्काराको बाटो हेरेर बस्थे पत्नीहरू । बाबुको खबर थाहा पाउन सन्तान र छोराछोरीको सञ्चोबिसञ्चो थाहा पाउन बाबुआमाहरू हल्काराको पर्खाइमा हुने गर्दथ्यो ।

एकदशक यता समयले कोल्टे फेरेको छ । झोलाभरि गाउँलेका सुख, दुःख बोकी हिड्ने हल्काराहरू देखिन छाडेका छन् । शहर–बजारमा राखिएका पत्र–मञ्जुषा पनि अब खाली–खाली हुन थालेका छन् । तर सामाजिक सञ्जाल र इमेलको इनबक्समा सन्देश भरिन थालेका छन् ।

अनि हात–हातमै रहेका मोबाइलमा बज्ने घण्टीले सन्देश लिने गरेको छ । हुलाक कार्यालय दाङ प्रमुख शोभाराम बस्नेत ऊ बेला बोराका बोरामा पत्र आउने गरेको बताउँछन् । ‘करिब २०६७÷२०६८ यताबाट हुलाकामा पत्र आउन छोडेको हो’ उनले भने– ‘अहिले करिब १० प्रतिशतमात्रै व्यक्तिगत चिठी आउने गरेको छ, बाँकी ९० प्रतिशत कार्यालयका चिठीमात्रै आउने गरेका छन् ।’

बदलिँदो परिस्थितिसँगै हुलाक कार्यालयले अन्य सेवाहरू विस्तार गर्दै लगेको उनले बताए । ‘हुलाक कार्यालयको काम चिठीपत्र आदान–प्रदान गर्ने हो भन्ने धेरैमा बुझाई छ’ उनले भने– ‘तर पछिल्लो समयमा हुलाक कार्यालयले चिठीपत्र आदानप्रदानसँगै अन्य धेरै किसिमका सेवा दिने गरेको छ ।’

हुलाक कार्यालयले चिठीपत्रको आदान–प्रदानसँगै हुलाक टिकट बिक्री सेवा, बहुमूल्य सामान (नगद तथा जिन्सी) पठाउनका लागि धनादेश सेवा प्रदान गरिरहेको उनले बताए ।

सूचनाको हक कार्यान्वयन गराउने काम, पत्रकारलाई रातो कार्ड बनाउने काम, पत्रपत्रिका तथा रेडियो टेलिभिजनको नविकरण र लोक कल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्ने काम गरिरहेको छ । यस्तै हुलाकले पछिल्लो समय रजिष्ट्रर गरिएको चिठी कहाँ पुग्यो भन्ने प्रणालीको विकास पनि गरेको प्रमुख बस्नेतले बताए ।

‘जिपिओ सिस्टममार्फत चिठी कहाँ पुग्यो ? भन्ने थाहा पाउन सकिने प्रणालीको विकास पनि गरेका छौँ’ उनले भने–‘यसलाई पोष्ट इन्टरनेट ट्रयाकिङ सिस्टम पनि भनिन्छ ।’

यस्तै हुलाक कार्यालयले बचत बैंक पनि सञ्चालन गरेको छ । हुलाकले अन्य बैंकको तुलनामा ब्याजदर बढी दिने गरी बचत बैंक सञ्चालन गरेको उनले बताए । ‘बचत बैंकमा रकम जम्मा गर्ने सेवाग्राहीले अरू बंैकभन्दा बढी ब्याजदर पाउनुहुन्छ’ उनले भने–‘ब्याजमा हामीले कर नकाटी दिने गरेका छौँ, अहिले ७ प्रतिशतसम्म ब्याज दिने गरेका छौँ ।’ जिल्ला हुलाक कार्यालयमार्फत अहिले करिब ८ सयजनाले बचत बैंकमा सेवा लिएको उनले बताए । दाङमा ७६ स्विकृत दरबन्दीसहित १०२ जना कर्मचारी रहेका छन् ।

यसैबीच जिल्ला हुलाक कार्यालयले विश्व हुलाक दिवसको अवसरमा तीनदिने विभिन्न कार्यक्रमको आयोजना गरेको छ । अक्टोबर ८, ९ र १० अर्थात् असोज २२, २३ र २४ गते विभिन्न कार्यक्रमको आयोजना गरेको प्रमुख बस्नेतले जानकारी दिए । दिवसको अवसरमा सेवाग्राहीलाई सम्मान, सरसफाई, दिपावली, कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here