तुलसीपुर, २३ असोज ।
कोरोना संक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल बेलझुण्डी तुलसीपुरमा स्थानान्तरण भएको छ । राप्ती प्रादेशिक तुलसीपुरअन्तर्गत रहेको कोरोना विशेष अस्पताल बेलझुण्डी प्रादेशिक अस्पताल तुलसीपुरमा अब एक युनिटका रूपमा रहन लागेको हो । अस्पतालमा स्थानान्तरण भएपछि अस्पतालभित्र कोरोना युनिटको रूपमा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
डेढ वर्ष अगाडी कोरोना नियन्त्रण गर्न र कोरोना उपचारको सहजताका लागि कोरोना विशेष अस्पताल निर्माण गरिएको थियो । प्रदेश सरकारको निर्णयबाट नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानको भवन प्रयोग गरेर कोरोना अस्पताल सञ्चालन गरिएको थियो । झण्डै १८ महिना बेलझुण्डीमा कोरोना अस्पताल सञ्चालन हँुदा विभिन्न समस्याहरू व्यहोर्नु परेको र धेरै कठिनाईसँग समेत जुध्नु परेको थियो ।
विद्यार्थीको आन्दोलनदेखि स्थानीयहरूको असहयोगसम्मको चुनौति र उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरूको बसाई व्यवस्थापनमा समस्या झेलेको अस्पतालले यो अवधिमा एक हजार ४८ जना कोरोना संक्रमितहरूको उपचार गरेको देखाएको छ । भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल सञ्चालन गरेको थियो ।
अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भौतिक संरचना निर्माण भएपछि कोरोना विशेष अस्पताललाई तुलसीपुरमा स्थानान्तरण गरिएको र अस्पतालको युनिटको रूपमा सञ्चालनमा ल्याएको कोरोना अस्पतालका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए । प्रादेशिक अस्पतालको प्राङ्गणमा नै कोरोना युनियट स्थापना भएपछि सबै प्रकारले सहज हुने र चिकित्सकीय पहुँच पनि बढ्ने उनले बताए ।
विद्यार्थीको आन्दोलनदेखि स्थानीयहरूको असहयोगसम्मको चुनौति र उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरूको बसाई व्यवस्थापनमा समस्या झेलेको अस्पतालले यो अवधिमा एक हजार ४८ जना कोरोना संक्रमितहरूको उपचार गरेको देखाएको छ । भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुण्डीमा कोरोना विशेष अस्पताल सञ्चालन गरेको थियो ।
कोरोना उपचार युनिटमा अहिले २० बेडको आईसियु, १५ बेडको पिआईसियु, १५ बेडको एनआईसियु र १० बेडको एचडियु गरी ६० बेड व्यवस्थापन गरिएको छ । युनिट बालबालिका केन्द्रित पनि गरिएको छ । असहज भएमा थप एक सय बेडको व्यवस्थापन हुने अस्पतालमा पूर्वाधार तयार भएको अस्पताल प्रशासनले बताएको छ । बेलझुण्डीका एक सय बेडको कोरोना अस्पताल सञ्चालनमा आएको थियो ।
यसैबीच राप्ती प्रादेशिक अस्पताल तुलसीपुर कोरोना इकाई उद्घाटन गरिएको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य भगवती शर्माको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रमुख आतिथ्यतामा कार्यक्रम भएको गरिएको हो । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहले कोरोना अस्पतालमा दाङसहित बाहिरी जिल्लाका संक्रमितहरूको उपचार थलो रहेको बताए ।
प्रदेश सरकारको निर्णय अनुसार विश्वविद्यालयको सहकार्यमा बेलझुण्डीमा अस्पताल सञ्चालन भएको र अहिले अस्पतालको आफ्नै पूर्वाधार भएपछि तुलसीपुर स्थानान्तरण गरिएको बताए ।
विश्वविद्यालय आयुर्वेद विद्यापीठका प्राचार्य डा. मंगलकान्त झाले जटिल अवस्थामा सहकार्य गरेर अस्पताल चलाएको भन्दै आगामी दिनमा पनि त्यो अवस्था आए विद्यापीठ सहकार्यका लागि तयार रहेको बताए । उनले अस्पताल स्थानान्तरणको निर्णयले विद्यापीठ खुसी रहेको र शिक्षण क्रियाकलापमा थप सहज हुने विश्वास लिइएको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष रामप्रसाद चालिसे, विमल रिजालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक दोर्णबहादुर वलीले गरेका थिए । अस्पतालमा अहिले कोरोना संक्रमित चारजनाको उपचार भइरहेको छ ।