Tuesday, May 20, 2025
Homebreaking-newsखाद्य व्यवस्थाको खसी बोका खरिद बिक्री, किसानहरूका लागि अवसर

खाद्य व्यवस्थाको खसी बोका खरिद बिक्री, किसानहरूका लागि अवसर

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २१ असोज । तुलसीपुर उपमहानगरपालिका–३ शिरखोला निवासी यमबहादुर व्यवसायीक बाख्रापालक किसान हुन् । उनलाई पछिल्लो समय बाख्रापालन व्यवसायले तानेको छ । उनी बाख्रापालनबाट सन्तुष्टी सबैभन्दा धेरै दशैँको समयमा हुन्छन् । विशेषगरी उनले दशैँलाई लक्षित गर्दै खोर निर्माण गरी बाख्रापालन सुरू गरेका हुन् ।

एक वर्ष पालेर बेच्नयोग्य खसी बोका दशैँको समयमा एकमुष्ट बेच्दा उनीलाई सबैभन्दा आनन्द लाग्छ । दुई वर्षअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि खसी बोका खरिद गरिदिएपछि बाख्रापालनमा उनको चासो र लगाम बढ्न थालेको बताउँछन् । दशैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खसी बोका खरिद बिक्री कार्यक्रम बाख्रापालक किसानहरूका लागि राम्रो अवसर भएको उनले बताए ।

‘मैले गतवर्ष पाँचवटा खसी बोका एकैपटक बिक्री गर्ने अवसर पाएको थिए, यो वर्ष पनि आफ्ना पाँचवटा र छिमेकीहरूका पाँचवटा गरी दशवटा खसी बोका ल्याएको छु’ उनले भने– ‘कोहि आउला र बेचुला भन्ने भएन, हाम्रो लागि खसी बोका बिक्री गर्ने राम्रो मौका मिलेको छ ।’

गतवर्ष २७ केजीदेखि ५६ केजीसम्मका पाँचवटा खसी बोका बिक्री गरी एकलाख १२ हजार ७ सय रूपैयाँ आम्दानी गरेको उनले सुनाए भने अहिले उनको आम्दानी बढेको छ । यसवर्ष ६७ किलोसम्मका खसी बोका बिक्रीका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए । यसरी खसी बोका बिक्री गर्दा रकम एकमुष्ट आउने, लगानी लगाउन सकिने र आवश्यक काम गर्न सहज हुने भएकाले किसानहरूका लागि खाद्य व्यवस्थाको दशँै तिहार लक्षित कार्यक्रम निकै राम्रो भएको उनले बताए । साथै यसले किसानहरूमा खुशी थपेको उनको अनुभव छ ।

बबई गाउँपालिका वडा नम्बर ३ निवासी मानबहादुर खत्रीले पनि खसी बोका बिक्री वितरणले किसानहरूलाई सजता प्रदान गरेको बताए । ‘गाउँघरमा बिक्री गर्दा उधारोमा बेच्नुपर्ने, पैसा उठाउन एक÷दुई महिना लाग्ने, कम मूल्यमा बेच्नुपर्ने बाध्यता थियो’ उनले भने–‘योसँगै लागतार तीन वर्ष भयो मैले खाद्य व्यवस्था कार्यालयलाई खसी बोका बिक्री गर्न लागेको, बेच्न पनि सजिलो, मूल्य पनि राम्रो हुने भएकाले दशँै तिहारकै लागि खसी बोका पाल्ने गरेको छु ।’ यसवर्ष आठवटा खसी बोका बेच्न लागिएको बताउँदै उनले आगामी वर्षका लागि यो संख्या थप गर्ने योजना रहेको सुनाए ।

खाद्य व्यवस्था कार्यालयले खरिद गर्ने खसी बोकाहरूको नापतौलमा कुनै बेइमानी नहुने भएकाले किसानहरूका लागि राम्रो अवसर प्राप्त भएको तुलसीपुर–३ डाँडाखुट्टीका जीवलाल पुनले बताए । आफ्नो घरमा पालेका दशवटा खसी बोकाहरू यस वर्ष खाद्य व्यवस्थालाई बिक्री गर्न लागेको उनले जानकारी दिए ।

‘गाउँघरमा खसी बोका यस्तो उस्तो, मूल्य महँगो भयो घटाउनुस् भन्ने, बजार मूल्यभन्दा कममा तौल घटाएर दिनुस् भन्ने, आनाकानी गर्ने चलन छ’ उनले भने– ‘यहाँ न त मूल्य घटाउनु पर्छ, न उधारो दिनुपर्छ, खसी बोका स्वस्थ भए तौल अनुसार मुल्य पाइन्छ, त्यसैले गाउँमा नबेचेर यतै ल्याएको छु ।’

गाउँघरमा बिक्री गर्दा खसी बोकाको लागत मूल्य नै उठ्ने, भनेको समयमा बिक्री नहुने भएपछि किसानहरू दशैँ तिहार लक्षित गरी बाख्रापालन सञ्चालन गर्ने र खाद्य व्यवस्था कार्यालयलाई एकमुष्ट रूपमा बिक्री गर्ने गरेका छन् । दशैँ तिहारमा खसी बोकाको कारोबार धेरै हुने र बजारमा मनपरी मूल्य हुने भएकाले खाद्य व्यवस्था कार्यालयले दशैँ तिहारमा खसी बोका खरिद बिक्री गर्नु उपभोक्ता र किसानहरूको हितका लागि भएको उनीहरूको भनाइ छ ।

गतवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २५ केजीभन्दा माथिका खसीबोकाको प्रतिकेजी मूल्य पाँचसय ५० रूपैयाँ तोकेको थियो भने यसवर्ष उक्त मूल्यलाई बृद्धि गरी प्रतिकेजी पाँचसय ६५ रूपैयाँ तोकेको छ । दाङबाट दशैँका लागि ६ सय खसी बोका काठमाडौँ पठाइने तयारी गरेको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले बताए । उनले पहिलो चरणका २ सय खसी बोका पठाइ सकिएको र बाँकीलाई क्रमश पठाउने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here