- Advertisement -spot_img
Friday, October 15, 2021
Homebreaking-newsप्रतिष्ठान स्थापनाका चार वर्ष, कहिले बन्ला स्वास्थ्य अध्ययनको थलो ?

प्रतिष्ठान स्थापनाका चार वर्ष, कहिले बन्ला स्वास्थ्य अध्ययनको थलो ?

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १२ असोज । स्वास्थ्य सेवा र शिक्षालाई प्रभावकारी बनाउने गरी स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चौथो वर्षमा छ । एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत लुम्बिनी प्रदेशको स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्थापना भएको थियो ।

प्रदेशमै विशेषज्ञ चिकित्सकहरू उत्पादन हुन सकून् र सस्तो तथा सुलभ शुल्कमा आमनागरिकको पहुँचमा चिकित्सकीय अध्ययन पुगोस् भनेर तत्कालिन प्रधानमन्त्री शुशील कोइरालाले दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेका थिए । प्रतिष्ठान स्थापना भएपनि एक वर्ष राप्ती उप क्षेत्रीय अस्पतालसँगको स्वामित्व विवादले २०७५ साल असोज १२ गतेदेखि मात्रै प्रतिष्ठान अस्तित्वमा आएर कार्यसम्पादन सुरू गरेको थियो । त्यहि अस्तित्वमा आएको मितिलाई प्रतिष्ठानले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।

स्थापनाको चार वर्षमा सकारात्मक तथा नकारात्मक दुबै पक्ष र विषयले सधै चर्चामा प्रतिष्ठान भइरहेको छ । कहिले पदाधिकारीको गतिविधिको चर्चा त कहिले आन्दोलनले चर्चामा आइरहेको प्रतिष्ठानले शैक्षिक गतिविधि सञ्चालनमा भने क्रियाशील हुन सकेको छैन । पटक–पटक उपचार र पूर्वाधारका विषयमा समेत प्रतिष्ठान विवादित बन्दै आयो । प्रतिष्ठानले चौथो स्थापना दिवस मनाउँदै गर्दा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीको कार्यकाल पनि अन्त्यतिर पुगेको छ ।

उपकुलपति भण्डारीले आफ्नो कार्यकालमा प्रतिष्ठानको बलियो फाउण्डेसन तयार भएको बताएकी छन् । पहिले पूर्वाधार तयार भएपछि मात्रै शैक्षिक कार्यक्रमको अनुमति पाइने भएको हुँदा प्रतिष्ठान हस्तान्तरण भएको तीन वर्षमा पूर्वाधार निर्माणमा समय दिएको र अब शैक्षिक गतिविधि सञ्चालन हुने उनले बताइन् ।

‘यो अवधिमा प्रतिष्ठानको धेरै उपलब्धि भएको छ’ उनले भनिन्, ‘पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सक व्यस्थापन, आधुनिक उपकरण व्यवस्थापन, सेवा सुधार, अक्सिजन प्लाण्ट निर्माणलगायतका महत्वपूर्ण कार्यहरू भएको छ ।’ उनले शैक्षिक गतिविधि सञ्चालन गर्न जग्गाको समेत व्यवस्थापन गरिएको बताइन् ।

उनले तीन सय बेडको अस्पताल पूर्वाधार तयार हुनसाथ शैक्षिक गतिविधि अघि बढ्ने बताइन् । तीन सय बेडको अस्पतालको पूर्वाधार निर्माण गरेर मात्रै शैक्षिक गतिविधि र कार्यक्रम सञ्चालन हुने हुन्छ, पूर्वाधार भएन भने अनुमति पाइदैन हाम्रो पनि त्यहि भएको हो । उपकुलपति भण्डारीले सिनेटले पूर्वाधार निर्माण शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताइन् ।

तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल तीन वर्ष पहिलो प्रतिष्ठानमा हस्तान्तरणपछि उपकुलपति भण्डारीले प्रतिष्ठानको भौतिक पूर्वाधारसहित अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउन लागिरहेका बताएकी छन् । अस्पतालको स्वास्थ्य सेवा सुधारदेखि दक्ष जनशक्तिको उचित ब्यवस्थापन गरेर सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ । विभिन्न आरोह अवरोह खेप्दै विभिन्न चुनौतिलाई पार गर्दै प्रतिष्ठानले अहिले सुधारात्मक उपलब्ध गरेको छ ।

प्रतिष्ठानमा १० बेडको आइसियु सञ्चालनमा आएको छ । चारवटा नयाँ अप्रेसन थ्रेटर सञ्चालनमा ल्याइएको छ । प्रतिष्ठानको अध्ययन अनुसन्धानसँगै शैक्षिक कार्यक्रमसहित अस्पतालको थप भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्ती अन्तिम चरणमा पुगेको उपकुलपति भण्डारीले बताइन् ।

अत्याधुनिक प्रयोगशाला सञ्चालनदेखि थप १५ बेडको आइसियु सञ्चालनको तयारीमा भएको प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानको सिनेटबाट अत्याधुनिक चार सय शै्ययाको अस्पताल बनाउने पास भएको छ भने कर्मचारी नियमावली लोकसेवाको अनुरूप अघि बढाउने प्रतिष्ठान सिनेटबाट पास भएको छ ।

वर्ष प्रवेश गरेको अवसरमा नवनिर्मित २५ वेडको एक्स्टेण्ड हेल्थ सर्भिसको प्रयोजनको लागि निर्माण गरिएको वार्डको आज उद्घाटन गरिदैछ । ‘प्रतिष्ठान स्थापना भएपछि सेवामा उल्लेखनीय, गुणस्तरीय तथा आधुनिक प्रविधिद्वारा बिरामीलाई उपचारको व्यवस्था प्रदान गरेकाले अन्यत्र रिफर गर्नुपर्ने समस्या हटेको प्रतिष्ठानकी डा प्रज्ञासिंह बस्नेतले बताइन् ।

‘विगतमा जस्तो यहाँका नागरिकहरूले उपचारको लागि समस्या भोग्नुपर्ने छैन्’ उनले भनिन्, ‘प्रतिष्ठान आत्मनिर्भर भई सञ्चालन हुनुमा अस्पताल सेवाको ठूलो भूमिका रहेको छ ।’ अत्याधुनिक उपकरणसहित चारवटा अप्रेशन थ्रेटरको निर्माण भएको पनि उनले जानकारी गराईन् । ‘२०७७ साल माघ १ गतेबाट विशेष चिकित्सकसहितको नेत्र विज्ञान विभाग स्थापना गरी आँखा उपचार सेवा सञ्चालनमा आएको छ’ उनले भनिन् ‘निकट भविष्यमा आँखाको शल्यकृया पनि सञ्चालनमा ल्याउने योजना छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here