- Advertisement -spot_img
Tuesday, October 12, 2021
Homebreaking-newsबालबालिकामा मौसमी फ्लू

बालबालिकामा मौसमी फ्लू

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, १० असोज । दाङमा बालबालिकाहरूको मौसमी फ्लूको प्रकोप देखिएको छ । केही दिनयतादेखि बालबालिकाहरूमा स्वास्थ्य जटिलता देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पाँच वर्ष मुनीका बालबालिकाहरूमा ‘मौसमी फ्लू’ देखिएको हो । बिरामी हुने अधिकांश बालबालिकाहरूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ  ।
तर कोरोना भने नेगेटिभ देखिएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

कलिलो शरीर र कमजोर प्रतिरक्षा प्रणालीका कारणले मौसम परिवर्तन भएसँगै बिरामी हुने बालबालिकाहरूको संख्या बढ्दै उनीहरूको भनाइ छ । सामान्य लापरवाहीका कारण पनि अहिले प्रकोप बढेको र अस्पतालमा उपचारका लागि बेडको समेत समस्या भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । जिल्लाको तुलसीपुर क्षेत्रका अधिकांश बालबालिकाहरूमा उच्च ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, कोखा हान्नेजस्ता लक्षण देखिएका छन् ।

विशेषगरी बिरामी भएका बालबालिकाहरूमा भाइरल ज्वरो, निमोनिया र श्वासप्रश्वासको समस्या भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका बालरोग विशेषज्ञ डा। श्रीधर खनालले बताए । विगतमा देखिने मौसमी ज्वरो र अहिलेको मौसमी ज्वरोमा धेरै फरक रहेको भन्दै अभिभावकहरू अलि चनाखो हुनुपर्ने बताए ।

उनका अनुसार अहिले बिरामी भएका बालबालिकाहरूमा ४÷५ दिनसम्म पनि ज्वरो कम नहुने, लगातार खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने एन्टीवायोटिक औषधीले काम नगर्दा नसामा औषधी राखेर उपचार गराउनुपर्ने अवस्था रहेको छ । विशेषगरी भर्खरै जन्मिएका देखि ५ वर्ष मुनीका बालबालिकाहरूमा यस्तो समस्या देखिएको उनी बताउँछन् । ‘एक महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूमा यस्तो समस्या बढी छ’ उनले भने–‘मौसमी ज्वरो भने पनि अहिले बालबालिकाहरूको स्वास्थ्यमा बढी कठिन र जटिलता देखिन्छ ।’

दुई महिनाको अवधीमा स्वास्थ्य जटिलता भएका करिव २ हजार बढी बालबालिकाहरू स्वास्थ्य चेकजाँचका लागि अस्पतालमा आएको खनालले बताए । तुलसीपुरका निजी क्लिनिकहरूमा पनि दैनिक ३५÷४० जना बालबालिकाहरूको उपचार भइरहेको उनी बताउँछन् । यस्तै गाउँघरका स्वास्थ्य संस्थाहरूमा पनि बिरामी बालबालिकाहरूको संख्या उत्तिकै रहेको उनको भनाई छ ।

बालबालिकाहरूको स्वास्थ्यमा जटिल समस्या देखिदा पनि यसतर्फ भने ध्यान नदिएको उनले बताए । कोभिड–१९ले आम नागरिकहरू बिरामी भएजस्तै बालबालिकाहरूमा देखिएको जटिलको विषयमा गम्भीर भएर अध्ययन गर्नुपर्ने बताए । लक्षणका आधारमा भाइरल ज्वरो, ईन्फ्लुन्जा, टाइफाइड भनेर उनीहरूको उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

क्लिनिकल्ली रूपमा लक्षणका आधारमा आफ्नो तरिकाले उपचार गराइरहेका छौँ’ उनले भने– ‘सरकारले कुन भाइरसले गर्दा यसरी बिरामी भइरहेका छन्, इन्फ्लुन्जा ए, बि वा आरएसी हो भन्ने छुट्याउनुपर्ने, प्रोकोटल बनाउनुपर्ने बताए ।

यसैगरी सल्यान, रूकुम, रोल्पा लगायतका पहाडी भेगबाट उपचार गराउन आउने केहि बालबालिकाहरूमा स्क्रब टाइफस देखिएको उनले बताए । यो रोग घरपालुवा जनावरमा लाग्ने किराले टोकेर सर्ने र यसले कलेजो, फोक्सोलगायत शरीरका सबै अंगमा संक्रमण गर्ने भएकाले विशेष ख्याल गर्न अनुरोध गरे ।

यो रोगको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको उनले जानकारी दिए । मौसमी प्रतिकूलता, वातावरणीय प्रदूषण र कोरोना महामारीको प्रभावका कारणले गर्दा थुप्रै बालबालिकाहरूमा श्वासप्रश्वास, भाइरल ज्वोरो, रूघाखोकीलगायतका विभिन्न समस्याहरू देखिएको तुल्सी बाल अस्पतालका बरिष्ठ बालरोग डा। किशोर खत्रीले बताए ।

उनका अनुसार पछिल्लो केहीदिनयता बिरामी हुने बालबालिकाहरूको संख्या ह्वात्तै बढेको छ । एकसाताको अवधीमा झण्डै एक हजार बढी बिरामी बालबालिकाहरू अस्पतालमा उपचार गराउन आएको बताए । अहिले दैनिक एकसय ५० बढी बिरामी बालबालिकाहरू उपचारका लागि अस्पतालमा आउने गरेका छन् । अस्पतालमा ८० जना बाल–बालिकाहरू उपचाररत छन् ।

उनीहरूमध्ये ८० प्रतिशत बालबालिकाहरूमा भाइरल ज्वरो, भाइरल निमोनिया र कोखा हान्नेजस्ता समस्या रहेको छ । यसैगरी बाँकी २० प्रतिशत बाल–बालिकाहरूमा भाइरल पखाला, टाइफाइड, सामान्य ज्वरो देखिएको उनले बताए । ‘अहिले दैनिक १ सय ५० बढी बिरामी बच्चाहरूको उपचार गर्दै आएका छौँ’ उनले भने–‘अधिकांश बच्चाहरूमा निमोनिया, भाइरल ज्वरो र श्वासप्रश्वासको समस्या छ ।’

भाइरल ज्वरो र निमोनियाले शरीरमा पानीको मात्रा कम गराउने र अक्सिजनको मात्र कम हुँदा श्वासप्रश्वासमा समस्या देखिनसक्ने उनले बताए । यदि यस्ता समस्याहरू देखिएमा बाल–बालिकाहरूलाई तुरून्त अस्पताल लैजानुपर्ने उनको सुझाव छ । कोरोना जोखिम कम हुँदै जाँदा आम नागरिकमा बढेको स्वास्थ्य लापरबाहीका कारणले पनि बालबालिकाहरू बिरामी हुने गरेको उनीहरूले बताए ।

बालबालिकाहरूलाई बिरामी हुनबाट बचाउनका लागि घरपरिवार र अभिभावकले स्वास्थ्यका मापदण्डहरू अनिवार्य रूपमा पालना गनुपर्ने बताए । यसैगरी सरकारले पनि पछिल्लो समय बालबालिकाहरू बिरामी हुनुको मुख्यकारण पत्ता लगाउन नमुना परिक्षण गरी सोही अनुसार समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउन जरूरी रहेको उनीहरू बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here