- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homeमुख्य खबरछाता ओढेर पढाइ हुने विद्यालय भत्कियो

छाता ओढेर पढाइ हुने विद्यालय भत्कियो

- Advertisement -spot_img

सन्तोष शर्मा
रोल्पा, १९ भदौ । आइतबारदेखि रोल्पाको रुन्टीगढी गाउँपालिकाभित्रका सबै विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । तर वर्षायाममा छाता ओढेर पढाइ हुने नामले परिचित गाउँपालिकाको वडा नम्बर १ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले भने लामो समयपछि विद्यालय सञ्चालनमा आउन लाग्दा पनि पढ्नबाट बञ्चित हुने देखिएको छ ।

वर्षातका कारण विद्यालयको दशकोठे कच्ची दुईतले भवन भत्किदा पठनपाठन पूर्णरुपमा प्रभावित हुने भएको हो । विद्यालय खोल्ने हतार गरेको गाउँपालिका सरकार भने विद्यालयको यस्तो दुर्दशाका बारे उदासिन रहेको स्थानीय अभिभावकहरुले गुनासो गरेका छन् । भदौ ३ गते भत्किएको भवनका विषयमा विद्यालयले स्थानीय सरकार गाउँपालिकालाई पत्राचार गरी जानकारी गराए पनि हालसम्म स्थानीय सरकारको न कुनै जानकारी आएको छ, न अस्थायी टहरा निर्माणसम्मको काम अघि बढ्न सकेको छ ।

जसका कारण विद्यार्थीहरु विद्यालयमै गएर कहिले पढ्न पाउने हुन ? भन्ने विषय अन्यौलमा नै रहेको विद्यालयका प्रधानाध्यापक झक्कु वलीले बताए । ‘यो भवनमात्र होइन अन्य भवनका धेरैजसो कोठाहरु पनि चर्केको अवस्थामा छन्, यस्तो चर्केका कोठामा राखेर कसरी पढाउने ?’ उनले भने– ‘अहिले त हामी विद्यालय खोल्न सक्ने अवस्थामै छैनाँै तत्काल अस्थायी टहरा बनाउने हो त्यो पनि कसरी गर्ने ठेगान छैन ।’

उनका अनुसार विद्यालयको अवस्थाका बारे लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास मन्त्रालयसम्म आफै पुगेर जानकारी गराउँदा, माविसम्मको जिम्मा स्थानीयतहलाई हुने भएकाले आफूहरुले केही गर्न नसक्ने जवाफ दिएर मन्त्रालयले फर्काएको छ । तर स्थानीय सरकारले भने अझैसम्म पनि यसको विषयमा कुनै चासो नदिएको जसका कारण आफ्ना छोराछोरी पढ्नबाट बञ्चित अवस्थामा पुगेको भन्दै अभिभावक चिन्तित बनेका छन् ।

‘विद्यालयको गतिलो भवन नहुँदा शिक्षक, विद्यार्थी अभिभावक सबै त्रसित त थियौँ नै ।’ गुनासो पोख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर वलीले भने– ‘तर चुहिने छानोमा छाता ओडेरसमेत पढ्न नपाउने भए अब विद्यार्थीहरु । अब कहाँ बसाउने ? बन्दै गरेको चारकोठे भवन छ त्यो भैहाल्यो भने पनि १० कक्षासम्मको पढाइ कसरी गर्ने ? उनका अनुसार स्थानीय सरकारदेखि सबै सरकारले हेलाका रुपमा हेरेको बताए ।

वि.सं. २०२२ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले ३ सय ३५ जना विद्यार्थीहरु भर्ना भएका छन् । भौगोलिक विकटताका कारण माध्यमिक तहसम्मको पढाइ हुने त्यस क्षेत्रको एकमात्र विद्यालयमा दुई÷तीन घण्टा हिडेर पनि अध्ययन गर्न आउने गरेको विद्यालयको भनाइ छ ।

वर्षामा छाता ओढेर पढ्थे विद्यार्थीहरु

कक्षाकोठामा पनि छाता ओढेर पढ्न बाध्य विधार्थीहरु शीर्षकको समाचार २०७६ सालमा निकै भाइरल भयो । विद्यालयका शिक्षक झक्कु वलीले सामाजिक सञ्जालमा फोटो राखेपछि समाचार भाइरल हुनपुग्यो । कसैको पनि ध्यान जान नसकेको विद्यालयको दुर्दशाका बारे सबैको ध्यान जावस् र समस्या समाधान होस् भन्ने हेतुले शिक्षकले सामाजिक सञ्जालमा त राखे तर झण्डै कारवाही भोग्नुपर्यो । समस्या देखेपछि समाधाानमा लाग्नुपर्ने सरकार उल्टै शिक्षक वलीलाई २४ घण्टे अल्टिमेटम थमाइदियो ।

त्यसमा थियो पोष्ट डिलिट गर्नुपर्ने अन्यथा जुनसुकै कारवाही पनि हुनसक्ने । समाचारको विषयलाई लिएर गाउँपालिकाका अध्यक्षले आफ्नो कार्यकक्षमै शिक्षकलाई हाजिर हुन लगाए पनि जीर्ण विद्यालयको भौतिक संरचनाका लागि स्थानीय सरकारले आजसम्म एक रुपैयाँ पनि सहयोग नगरेको विद्यालय जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here