- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsखोलाले कार बगाउँदा चारको मृत्यु, तीज लिन गएकाहरू घर फर्किएनन्

खोलाले कार बगाउँदा चारको मृत्यु, तीज लिन गएकाहरू घर फर्किएनन्

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १८ भदौ । श्रीमान र छोरालाई साँझमात्रै घरमा फर्किन्छु भन्दै राधा श्रेष्ठ बुधबार बिहान नेपालगञ्जतर्फ लागिन् । नेपालगञ्ज जानका लागि उनी एक्लै पनि थिइनन् । दिदी सुशीला श्रेष्ठ र साथी नितामाया पुन अनि बिमला केसीसँगै भएका कारणले पनि श्रीमानले उनलाई पनि छिट्टै फर्कनु, ढिला नगर्नु भनेर हुन्छ भन्ने अनुमति दिए । घरमा १२ वर्षको छोरालाई घरमै बस्नु भनेर नेपालगञ्जतर्फ लागेकी राधाको यही वाक्य अन्तिम बन्यो । साँझ फर्किन्छु भनेर नेपालगञ्जको बजार लागेकी राधा कहिल्यै नफर्किने गरी गइन् ।

कारमा उनीहरू राधासहित चारजना र एक चालक गरी पाँचजना सवार थिए । चालकबाहेक अरू चारजना किनमेलका लागि नेपालगञ्ज पुगेका थिए । चाडपर्व नजिकिदै गरेको हुँदा पनि किनमेल गर्दागर्दै ढिला भयो तर घर आउनका लागि कुनै झन्झट थिएन । कार आफैले रिजर्भ गरेर लगेका कारण साँझसम्म जसरी नै घर पुग्छौँ भन्ने लागेको थियो । उनीहरू साँझ करिब ५ बजेतिर उनीहरू नेपालगञ्जबाट घर फर्किएका थिए ।

राति करिब पौने १० बजेतिर घोराही–लमही सडकखण्डअन्तर्गत पर्ने सिस्ने खोलामा आइपुगे । वर्षापछि खोला बढेका कारण खोला वारपार गर्न नसकिने अवस्था भएपछि धेरै सवारी साधन जाममा थिए । हतारमा देखिएका उनीहरूलाई प्रहरीले अहिले खोला पार गर्न नसकिने रोक्यो, केहिबेरसम्म रोकिएपछि समय बित्दै जान थालेपछि चालकले खोला पार गर्न सकिने भन्दै कारलाई अघि बढाए तर बीच खोलामा पुगेपछि कारलाई खोलाले बगायो । अन्धकार रातमा खोलामा थुपै्र सवारी साधन रोकिएका थिए, ति सवारी साधनका चालक, सहचालक, यात्रु थिए तर आँखै अगाडी कार बगेको देख्दा रामराम भन्नुबाहेक केही विकल्प भएन ।

प्रमुख जिल्ला अधिकारी कुरूम्बाङले एक महिना अघि निर्माण व्यवसायी केसीले पुल निर्माणको काम एक महिनामै सक्ने प्रतिवद्धता गरेको भनेर फोटोसहितको स्टाटस राखेका थिए ।

खोलाले करिब डेढ किलोमिटरसम्म बगायो । त्यसपछि चालकलाई त प्रहरीले सकुशल उद्धार गर्न सक्यो तर कारमा सवार चारजनालाई जीवितै भेट्न सकेन । चारजनामध्ये दुईजनाको शव त झन् बिहानमात्रै फेला परेको थियो । ‘खोलामा बग्दै गर्दा सुशीला श्रेष्ठले श्रीमानलाई हामी बगिम भनेर फोन गरेकी थिइन् ।’ आफन्त यादव श्रेष्ठले भने– ‘अन्धकार रात भएका कारण पनि समयमा उद्धार हुन नसकि हामीले आफन्त गुमाउन पुग्यौँ, पुल भएको भए सायद आफन्त गुमाउनुपर्ने अवस्था आउने थिएन् ।

बुधबार राति सिस्ने खोलाले बगाउँदा घोराही–१४ निवासी ३१ वर्षकी राधा श्रेष्ठ, सोही ठाउँकै ४२ वर्षिय विमला केसी, घोराही–१३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय सुशीला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रदेश–३–०१–०२४ च ४४४० नम्बरको कारलाई खोलाले बगाएको हो । कारमा पाँचजना सवार रहेको र चालक घोराही–१५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । खुट्टा भाँचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो । मृतक घोराही– १३ निवासी ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही–१४ निवासी ३१ वर्षीया राधा श्रेष्ठ दुई बहिनी हुन् ।

ठेकेदारलाई पक्राउ गर्न प्रशासनको निर्देशन

सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रशासनले श्री एडभेन्चर जेभिका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न प्रशासनले तत्काल पक्राउ गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायी केसीलाई तत्काल पक्राउ गरी कार्यालयमा उपस्थित गराउन निर्देशन दिएका छन् । घोराही–लमही सडकखण्डमा पर्ने सिस्ने खोलाको पुल निर्माणलाई छिटोछरितो बनाई एक महिनाभित्रै सञ्चालनमा ल्याउन गत साउन २५ गतेमा निर्देशन दिएपनि अझैसम्म पनि पुल सञ्चालनमा नआउँदा दुखद् घटना भएको ठेकेदारलाई स्पष्टीकरणका लागि पक्राउ गर्न निर्देशन दिएको प्रजिअ अधिकारीले बताए ।

खोलामा समयमै पुल निर्माण नहुँदा बुधबार राति कारलाई खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कुरूम्बाङले एक महिना अघि निर्माण व्यवसायी केसीले पुल निर्माणको काम एक महिनामै सक्ने प्रतिवद्धता गरेको भनेर फोटोसहितको स्टाटस राखेका थिए । तर निर्माण व्यवसायी केसीले एक महिना बितिसक्दा पनि पुल निर्माणको काम नसकी बेपत्ता भएका छन् ।

यसैबीच सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले निर्माण व्यवसायी आफ्नो सम्पर्कमै रहेको बताए । ‘मैले बिहान मात्रै फोन गरेँ, पुलमा सवारी चल्न पाएको भए, यति ठूलो दुखद् घटना हुन पाउने थिएन्’ उनले भने–‘निर्माण व्यवसायीलाई फेरि पनि भनेको छु, अब फेरि पनि यस्तो किसिमको घटना घट्न नदिनका लागि छिट्टै निर्माण सम्पन्न गर्नुस् भनेको छु ।’ एक महिनामै निर्माण सम्पन्न हुन सक्न उनले बताए ।

नागरिकको आक्रोस

बुधबार राति सिस्ने खोलामा बगेर चारजनाको मृत्यु भएपछि नागरिकले आक्रोस पोखेका छन् । अधिकांशले निर्माण व्यवसायीको लापरबाहीकै कारण नागरिकले अनाहकमा मृत्युवरण गर्नुपरेको आक्रोश सामाजिक सञ्जालमा पोखेका छन् । उनीहरूले ठेकेदारलाई कारवाहीको मागसमेत गरेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले सिस्ने खोलाको घटना घट्नुमा सडक डिभिजन, निर्माण व्यवसायी, स्थानीय प्रशासन, जीप चालकदेखि जनप्रतिनिधिसम्म सबै दोषी रहेको लेखेका छन् । भद्र नकालले पनि ठेकेदारकै लापरबाहीका कारण दुखद् घटना भएको लेखेका छन् । ठेकेदारकै चरम लापरबाहीकै कारण नागरिकले कहिलेसम्म सास्ती पाउने हुन भनेर उनले प्रश्न पनि गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here