- Advertisement -spot_img
Tuesday, September 28, 2021
Homebreaking-newsदाङमा रगतको अवस्था, बढ्दै माग, खट्दै नियमित दाता

दाङमा रगतको अवस्था, बढ्दै माग, खट्दै नियमित दाता

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ११ साउन । दाङमा रगतको माग वर्षेनी बढ्दै गएको छ भने नियमित रूपमा रगतदान गर्ने दाताहरूको संख्या भने कम हुँदै गएको छ । स्वयम्सेवक, संघसंस्था, अभियानहरूले मात्रै अहिले रगतको मागलाई पूर्ति गरेको छ । तर स्वयम्सेवी तरिकाले नियमित रगतदान गर्नेहरू पनि पछि हट्दै गएका छन् ।

नेपाल रेडक्रस सोसाईटी अन्तर्गत दाङमा तीनवटा रक्तसञ्चार केन्द्र रहेको छन् । घोराही, तुलसीपुर र लमहीमा अहिले रक्तसञ्चार केन्द्र सञ्चालनमा छ । रक्तसञ्चार केन्द्र घोराहीका अनुसार आर्थिक वर्ष ०७६/०७७ को तुलनामा गएको आर्थिक वर्ष ०७७/०७८ मा दुई हजार युनिट रगत बढी खपत भएको छ । जिल्लामा वर्षमा ४ हजार ४५ युनिट रगत खपत भएको छ भने अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा जिल्लामा करिब ३ हजार ८ सय युनिट रगत खपत भएको थियो । गएको वर्षमा रगतको माग करिब दुई हजार बढी युनिट देखिए पनि माग अनुसारको रगतको अभाव नदेखिएको रक्तसञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपानले बताए ।

‘जिल्लामा पछिल्लो समय रगतको माग बढ्दै गएको छ, रक्तदाता बढ्दै जाँदा मागअनुसार रगतको पनि आपूर्ति भइरहेको छ ।’ उनले भने– ‘कहिलेकाहिँ आपतकालिन अवस्थामा सामान्य एक÷दुई घण्टा समय लाग्ने गर्छ, सकेसम्म जिल्लामा रगतको अभाव हुन दिएका छैनौँ ।’ जिल्लामा मागभन्दा केही युनिटमात्रै रगत बढी संकलन भएको छ ।

गत वर्ष जिल्लामा ४ हजार ७४ युनिट रगत संकलन भएको छ । जिल्लाका तीन ठाउँबाट रगत संकलन हुँदै आएकोमा सबैभन्दा धेरै घोराहीबाट २५ सय ४६, तुलसीपुरबाट ११ सय ३८ र लमहीबाट ३ सय ९० युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्रका इन्चार्ज न्यौपानेले जानकारी बताए । उनका अनुसार गएको वर्षमा संकलन भएको रगतमध्ये ४ हजार ४५ युनिट रगत वितरण भएको छ । जसमा घोराहीबाट २५ सय ६१, तुलसीपुरबाट एक हजार ४५ र लमहीमा ४ सय ३९ युनिट रगत वितरण भएको छ ।

वितेको वर्षमा रक्तदान गर्नेहरूमा रगतदान गर्नेमा महिलाको तुलनामा पुरूषको संख्या बढी देखिएको छ । वितेको वर्षमा ३ हजार ४ सय ९ जना पुरूष र ६ सय ६५ जना महिलाले रक्तदान गरेका छन् । पछिल्लो समय जिल्लामा व्यक्तिगतभन्दा पनि संस्थागत रूपमा रक्तदान हुने क्रम बढेको उनले बताए ।

उनका अनुसार जिल्लामा गएको वर्ष सबैभन्दा बढी अनेरास्ववियुले पाँच पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै त्रिभुवननगर जेसिजले वितेको वर्षमा चार पटक रक्तदान कार्यक्रम गरेको छ । संस्थागतरूपमा रगतदान गर्ने संस्कारको विकास हुँदा रगत आपूर्ति सहजरूपमा हुन थालेको इञ्चार्ज न्यौपानले बताए ।

‘मागभन्दा थोरै बढी युनिट रगत संकलन गर्न सफल भएका छौँ, यसले अभाव भएको छैन् भन्ने त देखिएको छ, तर अझै सोचेजस्तो माग अनुसारको संकलनमा समस्या नै छ ।’ उनले भने– ‘अझै पनि रगतदान गर्नुपर्छ भन्ने चेतना बढ्न सकेको छैन् ।’ उनका अनुसार जिल्लामा एक वर्षमा ७ सय ३३ जना नयाँ रक्तदाता थपिएका छन् । ६०८ जना पुरूष र १२५ जना महिला वितेको वर्षमा नयाँ थप भएको उनले बताए ।

तुलसीपुरको रक्तसञ्चार केन्द्रबाट ३३६, घोराहीबाट ३७१ र लमहीबाट २६ जना नयाँ रक्तदाताले रगतदान गरेका छन् । वर्षमा १ हजार १ सय ५९ जनाले स्वयम्सेवी रूपमा रक्तदान गरेका छन् भने ८ सय ५ जनाले आवश्यकताको आधारमा रक्तदान गरेका छन् । जिल्लामा पछिल्लो समय सेतो रगत १४२ युनिट खपत भएको छ । आइतबार घोराहीमा रक्तदान दिवसको अवसरमा सरोकारवालाहरूसँग अन्तरक्रिया समेत गरिएको छ ।

भोलि रक्तदान कार्यक्रम

नेपाल रेडक्रस सोसाईटी दाङ शाखाले ५५औँ स्थापना दिवसको अवसरमा घोराहीको तुलसीपुर चोकमा खुला रक्तदान कार्यक्रम गर्ने भएको छ । स्थापना दिवसको अवसरमा मंगलबार बिहान ११ बजे तुलसीपुर चोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस दाङ शाखाका मन्त्री प्रकाश श्रीबन्धले जानकारी दिए । ‘रगतको मागलाई सहज बनाउन हामीले ५५औँ स्थापना दिवसको अवसरमा घोराहीमा रक्तदान कार्यक्रमको आयोजना गरेका छौँ ।’

उनले भने– ‘घोराहीभन्दा बाहिर रहनुभएकाले तुलसीपुर पायक पर्नेले तुलसीपुरको रक्तसञ्चार केन्द्र र लमहीमा आसपासका रक्तदाताले लमहीमा गर्न सकिनेछ ।’ रगतको अभाव हटाउनका लागि सचेतना फैलाउनुबाहेक विकल्प नभएको उनले बताए । ‘रगतको दान गर्नुपर्छ भन्ने सचेतना फैलाउने कार्यक्रम गरिरहेका छौँ’ उनले भने– ‘पहिलेको तुलनामा रगतको अभाव पछिल्लो समय केही कम भएको छ, तर अझै ग्रामीणस्तरसम्म रगतदानको सन्देश पुग्न सकेको छैन् ।’ रक्तदानका कार्यक्रम संस्थागत रूपमा बढी हुँदा पनि रगतको अभावमा कमि आएको उनको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here