Tuesday, March 26, 2024
Homeविचारपहुँचमा भएन कोरोना खोप

पहुँचमा भएन कोरोना खोप

- Advertisement -spot_img

सन् २०२१ को डिसेम्बर महिनामा चीनको बुहान शहरको पशुको मासु व्यापार हुने बजारबाट सुरू भएको कोभिड–१९ को संक्रमणले विश्व जगत्लाई नै निकै तनावग्रस्त बनाइदिएको छ । हालसम्म करिव २० करोड मानिसहरूमा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ भने कोभिडका कारण विश्वभरमा करिब ४२ लाख मानिसको मृत्यु भइसकेको छ ।

विश्व महामारीको रूप लिइसकेको यस प्राणघातक रोगको हालसम्म कुनै औषधि बन्न सकेको छैन । विज्ञानलाई चुनौती दिँदै नयाँ–नयाँ लक्षणका साथ नयाँ भेरियन्टहरू देखापरिरहेका छन् । कोभिड–१९ विरूद्धको आधिकारिक औषधिको विकास गर्ने प्रयास जारी नै रहदा स्वास्थ्य विज्ञानले यस रोगका भाइरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने खोपहरू विभिन्न देशहरूले निर्माण गरी आफ्नो देशका नागरिकहरूलाई लगाइरहेका छन् ।

उमेर समूहका आधारमा खोप लगाउने नीति पेशागत समूहको दवावका आधारमा परिवर्तन गर्दा खोप प्रणाली व्यवस्थित हुन नसकेको हो भन्नेतर्फ बेलैमा सोंच्नुपर्ने अवस्था आएको छ । उमेर समूहका आधारमा मात्र खोप उपलब्ध गराउने गरी कार्यक्रम अघि सारेमा मात्र खोप सही सदुपयोग हुनेछ अन्यथा पहुँचवालाकै हालिमुहाली भई निमुखा जनता खोप केन्द्रमा लाइनमा उभिने र रित्तो हात घर फर्कनु पर्ने नियती दोहोरिइरहने छ ।

हाम्रो देश नेपालमा हालसम्म करिब ७ लाख मानिसहरू कोभिड–१९ बाट संक्रमित भएका छन् भने करिब १० हजार नेपालीले कोभिड–१९ का कारण ज्यान गुमाउनुपरेको छ । विश्वका विभिन्न देशहरूले कोभिड–१९ को भाइरसविरूद्धको खोपको निर्माण गरी आफ्ना नागरिकहरूलाई उपलब्ध गराईरहेको समयमा हाम्रो देश नेपालले पनि हालसम्म भारत, चीन तथा अमेरिकाले विकास गरेका विभिन्न खोप खरिद गरेर तथा सहयोग भएपनि ल्याएर नेपाली नागरिकहरूलाई कोभिडविरूद्धको खोप दिन थालिसकेको छ । नेपालमा हालसम्म तीन किसिमका खोपहरूलाई प्रयोगमा ल्याइएको छ ।

कोभिशिल्ड

भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेननेकाले विकास गरेको खोप उत्पादन गरेको कोभिशिल्ड पहिलो पटक नेपालमा ल्याइएको थियो । पहिलो चरणमा भारतले अनुदानस्वरूप १० लाख डोज कोभिशिल्ड खोप प्रदान गरेको थियो भने भारतीय सेनाले नेपाली सेनालाई अनुदानमा एक लाख डोज कोभिशिल्ड प्रदान गरेको हो । भारतबाट २० लाख डोज कोभिशिल्ड खरिद गर्ने सहमति भएको थियो । जसअन्तर्गत भारतले १० लाख डोज मात्रै नेपाललाई उपलब्ध गराएको छ । बाँकी १० लाख भने विभिन्न कारण देखाई उपलब्ध गराउन नसक्ने बताएको थियो । ३ लाख ४८ हजार डोज भने कोभ्याक्स सुविधाअन्तर्गत नेपाल भित्रिएको हो ।

भेरोसेल

चीनमा उत्पादित यो खोप नेपालमा पहिलो पटक ८ लाख डोज अनुदानस्वरूप भित्रियो । चीनले पुनः १० लाख डोज खोप अनुदानमा प्रदान गरेको छ । यसै सिलसिलामा नेपालले सहयोगस्वरूप १० लाख डोज भेरोसेल प्राप्त ग¥यो । चिनियाँ खोप भेरोसेलको ६ लाख ९२ हजार ९९६ जनाले पूर्ण डोज लगाएका छन् । अहिले लगाउँदै आइएको भेरोसेल भने ५५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिले पाएका हुन् ।

जोन्सन

अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीद्वारा निर्मित जोन्सनको खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत १५ लाख ३४ हजार डोज खोप नेपाल आइपुगेको हो । कोभिशिल्डको पहिलो डोज लगाई दोस्रो डोज लगाउन नपाएका ब्यक्तिलाई यो खोप लगाउने पूर्व सरकारको कार्यक्रम रहेको थियो । यसरी हाल नेपालमा आउँदै गरेका खोपहरूको संख्या हेर्दा अबको दुई÷तीन महिनाभित्रमा लगभग सबैजसो नागरिकले कोभिडविरूद्धको खोप लगाउन पाउने जस्तो अवस्था देखिएको छ ।

तर सरकारले अहिले खोप दिदै आएका खोप केन्द्रहरूमा खोपको लागि लाइनमा बसेकाहरूको लाइन, भनसुन गरेर खोप लगाउन चाहनेको भिड तथा कोटा प्रणालीबाट छुट्टयाइएको खोप लगाउन आफ्ना मान्छेहरू घुसाउने तछाडमछाड हेर्दा सर्वसाधारण नागरिकले पूर्ण खोप लगाउन अझै पनि वर्षौ कुर्नुपर्ने अवस्था देखिएको छ । स्वास्थ्यसँग जोडिएको कुरा हो खोप तर अहिले खोपका डिब्बा बोकेर विभिन्न स्थानमा घुम्ती शिविर जस्तो गरी खोप दिने गरिएको छ ।

खोपको शुरूवात जोखिमका आधारमा रहेका मानिसहरूबाट गरिएको भएता पनि खोप प्रणाली त्यति प्रभावकारी हुन सकेको छैन । गत २०७७ सालको फागुन–चैत महिनादेखि नेपालमा कोभिडको खोप लगाउन सुरूवात गरिएको थियो ।

प्रारम्भिक चरणमा जोखिमको आधारमा संक्रमण नियन्त्रण तथा उपचारमा प्रत्यक्ष रूपमा खटिने फ्रन्टलाइन अन्तर्गत रहेका स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी तथा बृद्ध अवस्थाका ब्यक्तिहरूलाई लक्षित गरी भारतमा निर्मित कोभिशिल्ड खोप लगाउन थालिएकोमा पहुँचवालाबाहेकका करिव १५ लाख नेपाली नागरिकले कोभिशिल्डको दोस्रो डोज हालसम्म लगाउन पाएका छैनन् भने भारतबाट आयात गर्ने भनिएको कोभिशिल्ड खोप तत्काल आयात हुन नसक्ने भएका कारण एउटा डोज कोभिशिल्ड खोप लगाएको करिब पाँच महिना हुन थाल्दासमेत दोस्रो डोज नपाएका बृद्ध उमेरका बुवाआमा ले अब कुन खोप कहिले लगाउने हो भन्ने अन्यौलता कायमै रहेको छ ।

स्वास्थ्य मन्त्रालयले तय गरेको खोप कार्यक्रम सहीरूपमा कार्यान्वयन हुन नसक्नुका कारण नेपालमा खोपको निकै दुरूपयोग भएको भन्न सकिने प्रशस्त आधारहरू रहेका छन् ।

जस्तो उदाहरणका लागि पछिल्लो समय नेपालमा चिनियाँ खोप भेरोसेल आएपछि पहिलो पटक ६० देखि ६५ वर्ष समूहका नागरिकलाई लगाइने भनियो तर व्यवहारिक रूपमा उक्त खोप फ्रन्टलाइनको नाममा अन्यले मात्र लगाउन पाए भने लक्षित गरिएको ६०–६५ वर्षे नागरिकले अहिलेसम्म लगाउन पाएका छैनन् यसले के देखिन्छ भने नेपालमा जति खोप आए पनि आमनागरिकले सहजरूपमा खोप लगाउन सक्ने वातावरण छैन । पछिल्लोपटक भेरोसेल खोप विद्यालयका शिक्षक, यातायातकर्मी र ५५–६० वर्ष उमेर समूहका लागि लगाइने भनिएको भएता पनि ५५–६० वर्ष उमेर समूहकाले उक्त खोप लगाउन पाएका छैनन् ।

२०७८ साल साउन ९ गते शनिबारसम्मको पछिल्लो तथ्यांक अनुसार हालसम्म ७ लाख ३३ हजार २६० संक्रमित भएका छन् भने ६ लाख ४१ लाख ५५८ जना निको भएर घर फर्किएका छन् । नेपालमा ९ हजार ६९५ जनाको मृत्यु भएको छ । हाल २७ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म ७३ लाख ८२ हजार ८०० डोज खोप नेपाल भित्रिइएको छ । ४ लाख ६० हजार ३०८ जनाले कोभिशिल्ड, ६ लाख ९२ हजार ९६९ जनाले भेरोसेल र १ लाख ५८ हजार ७३५ जनाले जोन्सन गरी १३ लाखभन्दा बढी नेपालीले पूर्ण खोप लगाइसकेका छन् ।

कोभिड–१९ को संक्रमण दरमा केही गिरावट आएसँगै सरकारले विभिन्न क्षेत्रमा लगाएको निषेधाज्ञा हटाउँदै गएको अवस्थामा फेरि एकपटक संक्रमितहरूको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गैरहेको छ । जनजीवन सहज भएसँगै हामीहरू लापरवाही भैरहेका छाँै भने खोप लगाउनका लागि मानिसहरूको भिडभाड बढ्न थालेको छ । भिडभाड बढेसँगै मानिसहरू मास्कको प्रयोग गर्न छोडिसकेका छन् भने कोभिडविरूद्धको खोप लगाएका ब्यक्तिहरू अझ बढी लापरवाह बनिरहेका छन् ।

यो अवस्थामा कोभिड संक्रमण पुनः आक्कासिन सक्ने र त्यसबाट पर्ने प्रभावको पूर्वानुमान गरी संक्रमण नियन्त्रण तथा प्रभावकारी उपचारका लागि सरोकारवाला निकाय एलर्टमा बस्नुपर्ने अवस्था आइसकेको छ । त्यसैगरी खोप वितरण प्रणालीलाई ब्यवस्थित गर्दै सबै नेपालीले सहजरूपमा खोप लगाउन सक्ने वातावरण तयार पार्नुपर्दछ । हरेक कुरालाई पहुँचका आधारमा प्रयोग गरिने हाम्रो चलन व्यवहार जनताको स्वास्थ्यसँग जोडिएको कोभिड–१९ खोप वितरणमा समेत देखापर्नु अति नै गम्भीर कुरा हो ।

पदीय शक्ति, पहुँचका आधारमा खोप उपलब्ध गराइने गर्दा लक्षित उमेर समूहका बुवाआमाहरू खोप लगाउनबाट वञ्चित हुने गरेका छन् भने खोपजस्तो संवेदनशील कार्यक्रम स्वास्थ्य संस्थाहरू भन्दा बाहिर सञ्चालन हुनु, आफ्ना मान्छेहरू जो लक्षित उमेर समूहमा पर्दैनन् तिनीहरूलाई खोप उपलब्ध गराइनु, खोप लगाउने समय एकीन नहुनु, आफ्नो अनुकूल समय र स्थान तोकिनु, खोप लगाएका व्यक्तिहरूको अभिलेख भरपर्दो नदेखिनु जस्ता कमिकमजोरीले भोलिका दिनमा विभिन्न माध्यमबाट जनतन नेपाल भित्रिएका खोपको दुरूपयोग हुने आशंका देखिएको छ ।

रोगको संक्रमण विस्तारै उच्च हुन थालेको अवस्थामा कोभिडको खोप लगाउन चाहने नागरिकहरूको संख्या पनि उच्च हुनु स्वभाविक नै हो । करिव ७३ लाख डोज खोप नेपालमा भित्रिदा पूर्ण खोप लगाउनेको संख्या करिब १३ लाख मात्र हुनुले हाम्रो खोप वितरण प्रणाली कस्तो रहेछ ? भन्ने अनुमान सहजरूपमै गर्न सकिन्छ । सरकारले कमसेकम नागरिकताको प्रमाण–पत्र हेरेर त्यसकै आधारमा खोप उपलब्ध गराउने कार्यलाई कडाई गर्न सकेमात्र पनि खोपले प्रभावकारिता पाउँथ्यो होइन भने खोप केन्द्रमा दिनभर उभिएर विना खोप नै घर फर्कन बाध्य हुनुपर्ने घटना दोहोरिरहने नै छन् ।

सरकारले पनि दिनकै नीति तथा कार्यक्रम परिवर्तन गर्ने प्रचलनलाई फेर्नु आवश्यक छ । उमेर समूहका आधारमा खोप लगाउने नीति पेशागत समूहको दवावका आधारमा परिवर्तन गर्दा खोप प्रणाली व्यवस्थित हुन नसकेको हो भन्नेतर्फ बेलैमा सोंच्नुपर्ने अवस्था आएको छ । उमेर समूहका आधारमा मात्र खोप उपलब्ध गराउने गरी कार्यक्रम अघि सारेमा मात्र खोप सही सदुपयोग हुनेछ अन्यथा पहुँचवालाकै हालिमुहाली भई निमुखा जनता खोप केन्द्रमा लाइनमा उभिने र रित्तो हात घर फर्कनु पर्ने नियती दोहोरिइरहने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here