तुलसीपुर बसपार्क सञ्चालन ठेक्का

उमा भण्डारी
दाङ, ६ साउन । दाङको तुलसीपुरमा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि ठेक्का प्रक्रिया अलमलमा परेको छ । तीन वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क सोहि समयदेखि नै सञ्चालनमा आएको थियो । निर्माण सम्पन्न भए लगत्तै टेण्डरमार्फत दिइएको बसपार्क सञ्चालन ठेक्का दुई वर्षमा रद्द भएपछि अहिले सञ्चालन ठेक्का अलमलमा रहेको छ ।

बसपार्क पहिलो ठेक्का भएर निर्माण सम्पन्न भएको दुईवर्ष बितिसक्दा पनि वैधानिक रूपमा सञ्चालन हुन सकेको छैन । तुलसीपुर उपमहानगरले राजस्व संकलन, बसपार्कको उचित व्यवस्थापनका लागि ठेक्का प्रकृयामार्फत बसपार्क सञ्चालन गर्ने प्रयास गरेपनि उपमहानगरको प्रयास सफल हुन सकेको छैन ।

उपमहानगरपालिकाले बसपार्क सञ्चालनका लागि आर्थिक वर्ष ०७५/७६ मा ठेक्का आह्वान गरेको थियो । उपमहानगरपालिकाले वार्षिक एक करोड एक लाख शुल्क उपमहानगरपालिकालाई बुझाउने गरी आह्वान गरेको ठेक्काको जिम्मा बुढाथोकी ट्रेड एण्ड सप्लार्यसले पाएको थियो ।

ठेक्का सम्झौता अनुसार उपमहानगरले पूर्वाधार पूरा नगरेको भन्दै, कम्पनीले उपमहानगरलाई समयमै रकम नबुझाउँदा र नविकरण नगर्दा उक्त ठेक्का सम्झौता रद्द गरिएको तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख भिमबहादुर खत्रीले जानकारी दिए । उपमहानगरले उक्त कम्पनीसँग प्रत्येक वर्ष हिसाव मिलान र नविकरण गर्ने गरी पाँच वर्षको लागि ठेक्का सम्झौता गरेको थियो । तर ठेक्काका लिएको कम्पनीले एक आर्थिक वर्षको मात्रै हिसाव बुझाएपछि ठेक्का रद्द गर्नुपरेको उनको भनाई छ ।

उनका अनुसार कम्पनीले आर्थिक वर्ष ०७६/७७ को सबै शुल्क उपमहानगरलाई बुझाएको थियो । आर्थिक वर्ष ०७७/७८ मा कोरोनाका कारण असार मसान्तमा कारोबार हुन नसकेपछि उपमहानगरले कार्तिक, मंसिरसम्मको समय दिएको थियो । तर कम्पनीले हिसाव मिलान र नविकरण नगरी विभिन्न मागसहित उपस्थित भएपछि यसवर्ष सञ्चालनमा अल्झन देखिएको हो । सम्झौता अनुसार समयमै हिसाव मिलान र नविकरण गरे आवश्यक मागहरू पूरा हुने भनेपनि कम्पनीले सम्झौता नविकरण नगरेपछि ठेक्का रद्द गरिएको उनले जानकारी दिए ।

‘असार मसान्तमा बुझाउनुपर्ने शुल्क मंसिरसम्म पनि बुझाउनु भएन, संरचना थप्नुप¥यो भन्दै आउनु भएको थियो’ उनले भने ‘सके ५० प्रतिशतसम्म भएपनि रकम बुझाएर ठेक्का नविकरण गर्नुपर्छ भनेपछि उहाँहरू चैतसम्म पनि सम्पर्कमा नआएपछि वाध्य भएर उक्त ठेक्का रद्द गरिएको हो ।’

उपमहानगरले सम्झौता विपरीत काम गरेको भन्दै उक्त कम्पनीको चलअचल सम्पत्ति रोक्का गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको र पुनः ठेक्का आह्वान गरिएको उनले जानकारी दिए । ‘ठेक्का नविकरण हुन नसकेपछि उपमहानगरले बैशाखदेखि आफै बसपार्क शुल्क उठाउने निर्णय गरेको थियो’ उनले भने ‘चैतमा ठेक्का रद्द भयो, बैशाखदेखि लकडाउन सुरू भयो, बसपार्क, यातायात सबै बन्द भए, त्यसैले हामीले शुल्क उठाएका होइनौँ ।’

बुढाथोकी ट्रेड एण्ड सप्लायर्ससँगको ठेक्का रद्द भएपछि उपमहानगरले असार ११ गते पहिलो पटक २ करोड ५६ लाखको टेण्डर आह्वान गरेको थियो । तर कुनैपनि टेण्डर नपरेपछि असारको अन्तिम साता उपमहानगरले पुनः टेण्डर आह्वान गरेको छ ।

पेट्रोलपम्प सञ्चालन अनिश्चित

तुलसीपुर उपमहानगर–पालिकाले नयाँ बसपार्कमा सञ्चालन गर्ने भनेको पेट्रोलपम्प सञ्चालन पनि अनिश्चित बनेको छ । पेट्रोलपम्प सञ्चालनका लागि उपमहानगरले नेपाल आयल निगमबाट स्विकृती लिईसकेको छ भने प्रकृयागत रूपमा आवश्यक पर्ने कागजपत्रहरू समेत तयार भइसकेको छ । तर पेट्रोल पम्पको ठेक्का लिएको कम्पनीले उपमहानगरपालिकासँग सम्झौता गर्न नआउँदा कहिलेदेखि पेट्रोल पम्प सञ्चालन गर्ने भन्नेबारे निश्चित नभएको तुलसीपुर उपमहानगरका राजस्व शाखा प्रमुख भिमप्रकाश खत्रीले बताए ।

वार्षिक ९ लाख १५ हजार रूपैयाँ उपमहानगरपालिकालाई बुझाउने गरी २० वर्षका लागि शारदा निर्माण सेवालाई ठेक्का दिएको हो । मौखिक रूपमा सम्पर्कमा रहेपनि कानुनी रूपमा सम्झौता गर्न नआउँदा पेट्रोल पम्प सञ्चालन हुन नसकेको उनको भनाई छ । ‘हामीले आवश्यक पर्ने सम्पूर्ण कागजपत्र तयार पारेका छौँ, प्रकृयाहरू सबै पूरा भएको छ’ उनले भने ‘तर कम्पनी अहिलेसम्म पनि सम्झौता गर्न आएको छैन, मौखिकरूपमा सम्पर्कमा आएपनि भौतिक रूपमा उपस्थित भएर के गर्ने रु कसरी जाने भन्नेबारे उहाँहरूसँग केही सम्झौता भएको छैन ।’

यसरी कम्पनीले समयमै ठेक्का सम्झौता नगर्दा राजस्वमा पनि ठूलो असर परेको उनले बताए । उपमहानगरपालिकाले उक्त कम्पनीलाई ठेक्का प्रकृयामार्फत २० वर्षको लागि पेट्रोल पम्प सञ्चालन गर्ने जिम्मा दिएको छ । कम्पनीले वार्षिक ९ लाख १५ हजार रूपैयाँ उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने जसमा प्रत्येक वर्ष २ प्रतिशतका दरले भुक्तानी रकम बृद्धि हुनेछ । साथै १० वर्षपछि ५ प्रतिशतका दरले रकम उपमहानगरलाई बुझाउने गरी सम्झौता हुनेछ ।

तर लिखित सम्झौता हालसम्म पनि नभएकाले कम्पनीलाई सम्पर्कमा ल्याउने काम भइरहेको उपमहानगरले जनाएको छ । उपमहानगरको २०७७ चैत २३ गते बसेको कार्यपालिका बैठकले पेट्रोल पम्प सञ्चालन गर्ने निर्णय गरेको थियो । तुलसीपुर उपमहानगर–पालिकाले राजस्व संकलन र जनतालाई पेट्रोलियम पदार्थमा सहजता होस् भन्ने उद्देश्यले पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेको हो । उक्त पेट्रोल पम्पमा डिजेल, पेट्रोल, मट्टितेल, उपलब्ध हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here