Thursday, April 18, 2024
Homeविचारसन्दर्भ २०८औं भानुजयन्ती

सन्दर्भ २०८औं भानुजयन्ती

- Advertisement -spot_img

साहित्यका स्रष्टाहरूले कथा, कविता, निबन्ध, उपन्यास, नाटक तथा कलाका क्षेत्रमा धेरै कलम चलाउँदै आउनुभएको छ । आदिकवि भानुभक्तको बारेमा कलम चलाउने स्रष्टाहरूको संख्या हजारौ पुगिसकेका होलान् । कतिपय स्रष्टाहरू आदिकविकै बारेमा कलम चलाउँदा सम्मान र पुरस्कृत पनि हुनुभएको होला ! तर धेरै स्रष्टाहरू भानुभक्तको जन्मस्थल चुदी रम्घाको शिखर कटेरीमा पुग्नुभएको छैन होला ? अनुकूल मिलाएर पुग्दा राम्रो हुनेछ ।

नेपाली भाषा साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती सम्पन्न भएको छ । वि.स. १८७१ असार २९ गते तनहुँको चुुदी रम्घामा जन्मेका भानुभक्त ५४ वर्षको उमेरमा १९२५ मा निधन भयो । भानुभक्त जन्मदा उनका बाबु धनञ्जय पण्डित पाल्पामा खरिदार पदमा कार्यरत थिए । भानुभक्त बाजे श्रीकृष्ण पण्डितको रेखदेखमा हुर्केका थिए । बनारसमा ज्ञान आर्जन गरेपछि भानुभक्त कविताको साधनमा केन्द्रित भए । उनमा संस्कृतका राम्रो दख्खल थियो । नेपालको राजनीतिक सामाजिक साँस्कृतिक चेतना थियो ।

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो प्रतिभाका कारणले नै रामायण लेखे । अध्यात्म रामायण अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्त अघिका नेपाली कविले नेपाली भाषा, साहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नै नेपाली भाषा, साहित्यको पहिलो महाकाव्य भनियो ।

भानुभक्तको भग्नावशेष घर र अन्य भानुभक्तकालीन घरहरू बनाएर यस क्षेत्रलाई साहित्यिक धाम र साहित्यक पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको छ । भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोड्ने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो ।

भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यतिबेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एकपटक काशीका एकजना विद्वानले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ यसरी दिएका थिए ।

पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण ब्राह्रमण् थिया
खुप उच्चा कुल आर्यवंशी हुन गै सत्कर्ममा मन्दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।

भानुभक्तले जति कविता लेखे ती सबैजसो कालजयी भए । उनको कविता लोकले बुझ्यो, ग्रहण ग¥यो अनि गाउँघरमा पाका पखेरामा मानिसहरूले गाउँदै हिडे । नपढे पनि भानुभक्तका कविता लयमा गाउन सक्ने पुस्ता अझै छन् । त्यो बेला गाउँघरमा मनोरञ्जनको साधन भएका थिए भानुभक्तका कविता । उनका धेरै कविता उनी जीवित हुँदै लोकप्रिय भएका थिए । भानुभक्तको रामायण विसं २००० सम्ममा एक लाखभन्दा बढी प्रति बिक्री भइसकेको थियो ।

नेपाली भाषामार्फत एकीकरणको सन्देश दिए भानुभक्तले । नेपालमा २०११ सालबाट मात्रै भानुजयन्ती मनाउन थालिएको हो । २०२५ सालमा भानुभक्तलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । भानुभक्तलाई आदिकविको उपाधि मोतिराम भट्टले दिएका हुन् । मोतीरामले भानुभक्त जत्तिको कवि कोही जन्मदैनन् भनेर भनेका थिए ।

पृथ्वी राजमार्गको पोखरा–काठमाडाँै सडकमा पर्ने तनहुँको डुम्रे बजारबाट १३ किलोमिटर उत्तरतर्फ भानुभक्तको जन्मस्थल चुदी रम्घा पर्दछ । डुम्रे बजारदेखि चुदी रम्घासम्म पक्की सडक पर्दछ । भानुभक्त जन्मस्थल भानु स्मारकको कार्यालयबाट भानु जन्मिएको घर चुदी रम्घाको शिखर कटेरी हाल धर्मशाला चुदी बेंसीबाट उत्तर–पूर्व अग्लो डाँडोमा रहेको छ । शिखर कटेरीमा जान अहिले मोटर मार्गसमेत बनेको छ । तर मोटर मार्ग पिच भने भएको छैन । शिखर कटेरी जाँदा बाटोमा दम्सीलो पहाडी श्रृङ्खला जंगलमा रहरलाग्दा साल र अन्य वनस्पतीका रूखहरूले भरिएको छ । चुदीबाट पैदल यात्रामा रमाउनेहरूका लागि शिखर कटेरी पुग्न पैदल ४० मिनेट जति उकालो बाटो यात्रा गर्नुपर्दछ ।

आदिकवि भानुभक्त आचार्यलाई बर्सेनी असार २९ मा विशेषरूपले सम्झना गर्ने गरिन्छ । अहिले भानु शिखर कटेरी बृहत् गुरूयोजनाले समेत भानुभक्तको जन्मस्थलको संरक्षणका कामहरू क्रमिक रूपमा सुरू गर्न थालिएको छ । पुरातात्विक महत्वको भानुभक्तको शिखर कटेरीको भग्नावशेष घरको स्वरूप हराउन नदिन ट्रस्ट बनाएर संरक्षण गर्न थालिएको छ । भानुभक्त आचार्यको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका एकमात्र सन्तानका रूपमा भएको थियो ।

भानुभक्त आचार्य पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए । यी पनि विद्वान् थिए । धनञ्जय पाल्पा तहसिलका हाकिम खरदार थिए । धनञ्जयको धेरै वर्षसम्म सन्तान नभएकाले सन्तान प्राप्तिका लागि उनले १० वर्ष सूर्यको उपासना गरे । १० वर्षको उपासनापछि ४० वर्षको उमेरमा धनञ्जयलाई पुत्र प्राप्त भएको थियो ।

भानुभक्त जन्मिएको प.श्रीकृष्ण आचार्यले बनाएको घर अहिले भग्नावशेष रहेको छ । शिखर कटेरीको जन्मस्थलको घरलाई साहित्यिक तीर्थस्थलका रूपमा विकास हुन थालेको छ । ऐतिहासिक नेपाली कथानक चलचित्र आदिकवि भानुभक्त छायाङ्कन गर्न २०५४ सालमा भानुको जन्मस्थल शिखर कटेरीमा दुई तले घर निर्माण भएको थियो । तर संरक्षणको अभावमा त्यो घर जंगलमा लागेको डढेलोले आगलागी भयो । आगलागीबाट बचेका सामग्री अहिले चुदीबेंसीकै स्मारक स्थलमा ल्याई राखिएको छ । त्यसको नजिकै भानु प्रावि परिसरमा आदिकविको अर्धकदको सालिक पनि राखिएको छ ।

संग्राहलयमा आगलागीबाट बचेका भानुभक्तसँग जोडिएका केही सामान छन् । आदिकवि सुत्ने बस्ने चापको खाट एकजना मात्र सुत्न मिल्ने रहेछ । भानु पशुपंक्षीप्रेमी पनि हुनुहँुदोरहेछ भन्ने तथ्य खाटको सिरानी अड्याउने फलेकमा कुदिएका पशुपंक्षीका चित्रले पुष्टि गर्दछ । खाटको सिरानी देब्रे दाहिनेतिर चरा र बीचमा दुईवटा हात्तीको चित्र बनाएको खोपी कलात्मक ढंगले बनाईएको छ । खाटकै उत्तरतर्फ सजाएर राखेको आदिकविको मदुस सन्दुक रहेको छ । त्यो पनि कलाकृतिमय छ । त्यसमा लगाउने तालाहरू र दराजमा राखिएको ताला भोटे ताला छ ।

संग्राहलयको दराजमा आदिकवि भानुले प्रयोग गरेका सामग्री पूजापाठदेखि भात खाने थाल, बटुका पनि राखिएको छ । त्यहाँ राखिएका सामग्रीले आदिकवि भानुभक्त सौखिन हुनुहुन्थ्यो भन्ने भान हुन्छ । महङ्गो हुक्का पनि त्यहाँ सजाएर राखिएको छ । कविले लेख्न प्रयोग गरेको मसीदानी, कलम पनि त्यहाँ राखिएको छ ।

आदिकवि भानुभक्तले लेख्नुभएका प्राय सबै कृतिको उहाँले लेखेकै अक्षरमा पढ्न पाइन्छ । आदिकविले मुद्दा खेप्नुपरेका कागत तमसुकहरू सबै जतनका साथ राखिएको छ । दुईपट्टी काठको फ्ल्याक

जस्तो चिल्लो काठको खबटाले च्यापिएको भानुभक्तीय पाण्डूलिपि खाटमा बसेर हेर्न सकिन्छ ।
संग्राहलयमा हारमोनियम पनि छ । आदिकवि भानुभक्त चलचित्र बनाउँदा प्रयोग भएको यो बाजा यादव खरेलले त्यही छोड्नुभएको रहेछ । भानुसम्बन्धी प्रयोग गरेका सामग्रीहरू लोहोटा, धुपौरो, मकल, मसुरा सन्दुक, खाना खान बस्ने पिरका पिरा, साना–ठूला, ताई, पाथी, ओदान, ढिब्री तेल राख्ने भाँडो, ढुङ्गाको आरी, ढुङ्गाको कचौरा, गाग्री, पेटारो चोयाको बिर्को भएको ढाकी विशेष रूपमा बेहुला–बेहुलीको लुगा राख्ने, आदिकविले लगाएका खराउ,

आचमनि, पञ्चपात्र, चन्दनखोरी, सिमाङ काठको ठेकी जस्तो झुण्ड्याउने भएको हतर, प्याङ, ताउलो खडकालो, घण्टा, दियो, कोपरा, आदिकविले लेखेका सम्पूर्ण कृतिको हस्तलिखित पुस्तक, मुद्दा पर्दाका तमसुक कागतहरू आदि राखिएको छ ।

एकनासका अक्षर, कतै केरमेट नगरिएका, सम्पूर्ण कृति हेर्दा आदिकविको लेखन कला उत्कृष्ट रहेछ भन्ने थाहा पाइन्छ । भानुभक्तमा सानैदेखि विलक्षण प्रतिभा थियो भनिन्छ । ६ महिनामा अन्नप्रासन गर्दा बालक भानुभक्तका अगाडि वस्त्र, शस्त्र, पुस्तक, कलम, मसी, सुन राखिएकोमा भानुले सर्वप्रथम कलम र मसीदानी समातेका थिए । जागिरे बाबु धेरैजसो घर बाहिर हुँदा भानुभक्तको बाल्यकाल बाजेसँगै बितेको थियो । भानुभक्तको शिक्षा आरम्भ घरमा नै हजुरबुबा श्रीकृष्णबाट सुरू भएको थियो । भानुभक्तले ज्योतिषको अध्ययन कास्की गुरूकुलमा गर्नुभएको थियो । हजुरबुवा श्रीकृष्ण वि.सं.१८८६ मा काशीबासमा जाँदा भानुभक्तलाई सँगै लिएर गएका थिए ।

भानुभक्तले बिहान–बेलुका हजुरबुवासँग अध्ययन गर्नुभयो दिउँसो पाठशालामा । काशीमा भानुभक्तले कोश, व्याकरण, साहित्य अध्ययनका साथै ज्योतिषको अध्ययन र अभ्यास पनि गर्नुभएको थियो । अध्ययनको क्रममा काशीमा हुने विद्वत समारोहमा पनि भाग लिनुभएको थियो । भानुभक्तको ब्रतवन्ध वि.सं.१८७८ मा भएको थियो । हजुरबुवा श्रीकृष्ण आचार्यले नाति भानुभक्तलाई गायत्रीमन्त्र दिनुभएको थियो । गायत्रीमन्त्र प्राप्त गरे लगत्तै हजुरबुवासग भानुभक्तले कौमदी, रूद्री, वेद पढ्न थाल्नुभएको थियो ।

भानुभक्तको विवाह परशुराम खनालकी छोरी चन्द्रकान्तासँग पहिलो विवाह भएको थियो । विवाह भएको १८ महिनापछि चन्द्रकान्ताको मृत्यु भयो । त्यसपछि दोस्रो विवाह तनहुँ जिल्लाको मानुङ गाउँबाट विद्याधर खनालकी छोरी चन्द्रकला देवीसँग भएको थियो । भानुभक्त आचार्यको वि.सं.१८९१मा बुर्लङ बेंसी बुल्दी खोला किनारमा घासी चामुनारायण पन्तसँग भेट भएको थियो ।

घाँसीसँगको भेट नै भानुभक्तको जीवनमा आमूल परिवर्तन आउन सुरू भई घाँसीले झैं आफूले पनि कीर्ति राख्ने भावना जागृत भएको थियो । आदिकवि भानुभक्तको साहित्यिक योगदान घाँसीसँगको भेटपछि जन्मिएको स्वतस्फूर्त कविता भरजन्मबाटै भानुभक्त अगाडि बढ्दै गएका हुन् । यही कविताको भावभूमिबाट भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि बन्न पुग्नुभयो ।

वि.सं.१८९८ मा रामायण बालकाण्ड लेखन वि.सं.१९०१ मा मामा जयलालका भदा–सालो पर्ने कलाधरलाई गायत्रीमन्त्र सुनाउन मामाघर जाँदा भोर्लेटारमा गजाधर सोतीको घरमा बास नपाउँदा गजाधर सोतीकी घर बुढिया कविता लेख्नुभयो । भानुको साहित्यिक, व्यक्तिगत जीवन चरित्रलाई कतै राम्रो कतै नराम्रोसँग चर्चा गरेका छन् । वि.सं. १९११ मा भानुभक्त कुमारी चोकमा पाँच महिना थुनिएर रहँदा त्यो समयमा अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, रामायण लेखन गरेको पाइन्छ । त्यसै समयमा अत्यन्त चर्चित, निर्भीक, बिन्तिपत्र–रोज रोज दर्शन–लेखी राणा सरकारलाई बुझाएको पाइन्छ ।

शिखर कटेरीमा जन्मनुभएका भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोडने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो । भानुकै कारण नेपालीहरूमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । भानुले जुन ठाउँमा जन्मे हुर्के अनि नेपाली भाषा र साहित्यमा योगदान दिए त्यो ठाउँको संरक्षण अभियानमा पश्चिमाञ्चल विकास मञ्च हुँदै अहिले भानु नगरपालिकामा सरेको छ ।

साहित्यिक तथा साँस्कृतिक पर्यटकीय स्थलको रूपमा विकास गराउने उद्देश्यले भानुको जन्मस्थल शिखर कटेरीमा भानुभक्तकालीन घर निर्माण भएको छ । भानुभक्तको भग्नावशेष घर र अन्य भानुभक्तकालीन घरहरू बनाएर यस क्षेत्रलाई साहित्यिक धाम र साहित्यक पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको छ । भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोड्ने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो ।

भानुकै कारण नेपालीहरूमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली साँस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । अयोध्याका राजा रामको जीवनीलाई सरल नेपाली भाषामा लेखिएको रामायणमार्फत प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । वंश परम्परा अनुसार हजुरबुवा श्रीकृष्ण र बुवा धनञ्जयको निधन काशीको मणिकर्णिका घाटमा भएको थियो । तर आदिकवि भानुभक्तले लामो समय ज्वरोले थालिदा पनि किन काशी मणिकर्णिका घाट रोज्नु भएन ? आदिकविले आफ्नो निधन जन्मभूमिलाई नै रोज्नुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here