- Advertisement -spot_img
Monday, August 2, 2021
Homeखेलकुदकोपा अमेरिका फुटबल, अर्जेन्टिनालाई उपाधि

कोपा अमेरिका फुटबल, अर्जेन्टिनालाई उपाधि

- Advertisement -spot_img

दाङ, २८ असार । कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ । कोपा अमेरिका प्रतियोगितासँगै लियोेनल मेसी र उनको देश अर्जेन्टिना अन्तर्राष्ट्रिय उपाधि उचाल्न सफल भए । कोपा अमेरिका २०२१ अन्तर्गत आइतबार बिहान भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जितेको हो । मेसीका लागि अर्जेन्टिनाको जर्सीमा पहिलो मुख्य अन्तर्राष्ट्रिय उपाधि हो । यो प्रतियोगिताका मेसीको कप्तानी सफल भएको छ ।

सन् १९९३ मा कोपाको उपाधि जिते यता अर्जेन्टिना मुख्य प्रतियोगिताको पाँच फाइनल पुगेको थियो । जसमा मेसीले चार फाइनलमा खेलेका थिए । तर ती सबै फाइनलमा उपाधि जित्न अर्जेन्टिना असफल भयो । सबै उपविजेतामा चित्त बुझाउनु परेको थियो । १९९३ यता अर्जेन्टिना र मेसी अभागी सावित भइरहे । क्लव फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाबाट राम्रो नखेलेका पनि होइनन् । तर उनी र उनको देश २८ वर्षसम्म अभागी सावित भए ।

अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिकाको उपाधि जिते यता चार पटक र सन् १९९६ को विश्वकप जिते यता एकपटक फाइनलमा स्थान बनायो । सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेसीले ठूला प्रतियोगितामा लगातार उपाधिविहीन भएपछि सन २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका थिए ।

तीन वर्षमा मेसीकै कप्तानीमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिना सबैमा उपाधिविहीन भएको थियो । त्यसैको चोटमा परेका मेसीले अन्तर्राष्ट्रिय खेलबाट बिदा लिने अप्रत्यासित निर्णयसमेत गरेका थिए । सन् २०१४ मा विश्वकप फुटबलको फाइनल पुग्यो तर जर्मनीसँग पराजित हुँदै उपविजेतामै सीमित भयो । विश्वकपमा उपाधिविहीन फर्किए पनि कोपा अमेरिकाको उपाधि जितेर विश्वकपमा लागेको घाउमा मल्हम लगाउने धुनमा रहेको अर्जेन्टिना फेरि २०१५ मा भएको कोपा अमेरिकाको फाइनलमा चुक्यो । आयोजक चिलीले पेनाल्टी सुटआउटमा मेसीको टोलीलाई पराजित ग¥यो ।

लगातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना फेरि २०१६ मा अभागी सावित भयो । अर्जेन्टिना समूह चरण र बाँकी खेलमा सानदार जित हात पार्दै फाइनल पुगेको टोली थियो, तर फाइनलमा फेरि तेस्रो पटक चुक्यो त्यो पनि मेसीकै कप्तानीमा, त्यो पनि चिलीसँगै हा¥यो । अनि मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल छाड्ने निर्णय लिएका थिए ।

स्पेनिस बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीका लागि राष्ट्रिय टोलीमा सन् २००५मा डेब्यु गरे यता सन् २००८ मा ओलम्पिकमा स्वर्ण र २० वर्ष मूनिको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाको जर्सीमा हासिल गरेको उपलब्धि मान्नु परेको थियो ।

सन् १९८६ को विश्वकपको सेमिफाइनलमा इङ्ल्याण्डविरूद्धको खेलमा डियगो म्याराडोनाले हातले गोल गर्दै अर्जेन्टिनालाई फाइनल पु¥याएका थिए । त्यतिबेला फाइनलमा जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्यो । सन् १९८६ को विश्वकपमा इङ्ल्याण्डविरूद्धको खेलमा म्याराडोनाले हातले गोल गरेपछि उनले त्यो गोललाई आफैंले ‘ह्यान्ड अफ गड’ अर्थात् भगवानको हातको संज्ञा दिएका थिए ।

विश्वकप जितेपछि फेरि फुटबलमा अर्जेन्टिनाको नयाँ युग सुरूभएको भनियो । तर मेसीको युगसम्म आउँदा अर्जेन्टिना उपाधिविहीन हुँदा समर्थकमा निराशाको बादल मडारिएको थियो । फाइनलमा पुगेर पनि सधै उपाधिविहीन हुने अभागी टोली सावित भयो र टोलीमा रहेका स्टार खेलाडी अभागी नै ठहरिए । मेसी अर्जेन्टिनी राष्ट्रिय टिममा उदाएसँगै उनकै महत्वपूर्ण योगदानमा अर्जेन्टिना चार पटक फाइनल पुग्यो तर चारपटक हा¥यो अर्थात् उपाधिविहीन भयो ।

मेसीले क्लबमा खेलेजस्तै खेल मुलुकका लागि खेल्दैनन् भन्नु एउटा महान खेलाडीमाथि अन्याय हुन्छ । तर यो पनि सत्य हो, मेसीले जसरी आफ्नो क्लवलाई जित दिलाउने गरेका छन् । आफ्नो देशको सन्दर्भमा त्यतिकै अभागी ठहरिरहे । मेसी स्वयम्ले क्लवमा राखेको कीर्तिमानी जस्तै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि पनि राखेका छन् । मेसी अर्जेन्टिनाका लागि टप स्कोरर हुन उनले खेलेका १५१ खेलमा ७६ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

मेसीले सन २०१६ मा सन्यास घोषणा गरेपछि उनलाई फुटबलमा फर्काउन समर्थकले अभियान नै थालेका थिए । ‘डन्ट गो, लियो’ भनेर थालिएको अभियान क्षणभरै संसारभर फैलिएको थियो । पछि ब्युनोस आयर्स मेयरले मेसीको मूर्ती बनाएर मेसीलाई संन्यास फिर्ता लिन आग्रह गरेका थिए । मेसीलाई संन्यास फिर्ता लिनका लागि अर्जेन्टिनाको राजधानीमा एकैपटक ५० हजार दर्शक उपस्थिति भएका थिए । त्यसको एक सातापछि मेसीले संन्यास फिर्ता गरेका थिए ।

१२ अगस्ट २०१६ मा संन्यास फिर्ता लिएका मेसीको काँधमा अर्जेन्टिनालाई सन २०१८ को विश्वकप छनोट गराउने जिम्मा आएको थियो । विश्वकप छनोट जारी रहदा मेसी २०१७ मा चार खेलको अन्तर्राष्ट्रिय प्रतिबन्धमा परे । त्यसपछि अर्जेन्टिनाको विश्वकप छनोट यात्रा संकटमा प¥यो । अर्जेन्टिना १९७० पछि विश्वकपमा छनोट नहुने अवस्था आउँदा मेसीमाथि सारा अर्जेन्टिनाका समर्थकको भरोसा थियो । तर महत्वपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई ३—१ ले हरायो । खेलमा पछि परेको स्थिति उल्टाउने क्रममा मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा पु¥याएका थिए ।

सन् २०१८ को विश्वकपमा अर्जेन्टिनाको राम्रो सुरूवात हुन सकेन । पहिलो खेलमा अर्जेन्टिनालाई आइसल्यान्डले १–१ गोलको बराबरीमा रोकेको थियो । खेलमा मेसीले पेनाल्टीमा गोल चुकाउँदा अर्जेन्टिनाले जितबाट बिमुख बनेको थियो । दोस्रो खेलमा अर्जेन्टिनालाई क्रोएसियाले ३–० ले हरायो । अन्तिम खेलमा नाइजेरियालाई २–१ हराएर अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गरेको थियो । तर अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदा अर्जेन्टिना विश्वकपबाट बाहिरियो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार अफल भइरहेका मेसीका लागि कोपा अमेरिका २०१९ अर्काे अवसर ठानिएको थियो । तर कोपामा पनि मेसी फेरि चल्न सकेनन । समूहको पहिलो खेलमा पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेसँग बराबरी खेलेको थियो ।

क्वार्टरफाइनलमा भेनेजुएलालाई २–० ले पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेपछि अर्जेन्टिनाको भाग्य फर्कने धेरै विश्वास गरेका थिए । भाग्य फर्काउन अर्जेन्टिनाले सेमिफाइनलमा चिरिपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई हराउनु पर्ने थियो । तर मेसी र उनको टिम अर्जेन्टिना फेरि एकपटक अभागी ठहरियो । ब्राजिलसँग २–० ले पराजित हुँदै सेमिफाइनलबाट घर फर्कन बाध्य भयो ।

दुई वर्षपछि भने अर्जेन्टिना र मेसीको दिन आयो । कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि तथा मेसीले पहिलो पटक उपाधि उचाल्न सफल भए । कोपा अमेरिका २०२१ का अर्जेन्टिना अपराजित रहँदै उपाधि जित्न सफल भयो । समूह चरणमा चार मध्ये तीन खेलमा जित हात पारेको अर्जेन्टिनाले एक खेल बराबरी खेल्यो ।

क्वार्टरफाइनलमा इक्वेइडर माथि ३–० गोलको जित निकालेको अर्जेन्टिनाले कोलम्बियाविरूद्ध सेमिफाइनलमा कठिन जित हात पारेको थियो । सेमिफाइनलमा निर्धारित समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ३–२ को जित निकाल्यो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलकिपर एमी मार्टिनेजले कोलम्बियाका तीन पेनाल्टी विफल पारेपछि अर्जेन्टिना अर्काे उपाधि नजिक पुगेको थियो । मुख्य प्रतियोगिताको पाँचवटा फाइनलमा असफल भइसकेको अर्जेन्टिनाका लागि कोपा २०२१ एउटा अवसर बनेर आएको थियो । जसमा सफल हुँदै अर्जेन्टिनाले आफ्ना समर्थकलाई खुसी दिन सफल भयो ।

३४ वर्षीय मेसीका लागि कोपा २०२१ उपाधि जित्ने अन्तिम अवसर ठानिएको थियो । जुन अवसरमा मेसी र उनको टिम अर्जेन्टिना सफल भए । योसँगै मेसी सर्वकालीन महान खेलाडीको सूचीमा निर्विकल्प अग्रस्थानमा रहन सफल भए । मेसीले अब सन्न २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्ने सम्भावना छ । उक्त विश्वकपको उपाधि उचाल्ने अवसर पाए भने सायद फुटबलमा मेसीको कुनै धोको बाँकी रहने छैन ।
– एजेन्सीको सहयोगमा

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here