सनातन हिन्दू धर्म दर्शनले ‘परोपकारायः पुण्यायः, पापायनमः परपीडनम्ः अर्थात असहाय, पीडित, दीन–दुःखी मानिसको सेवा नै भगवानको सेवा हो’ भनेको छ । तर पछिल्लो समयमा दरिद्र मानसिकताले भरिएका केही व्यक्तिहरूका कारण समाजसेवा एउटा फेसनजस्तै बन्न पुगेको छ । देखावटी रूपमा समाज सेवा गरेको देखाएर समाजसेवीको पगरी गुथ्ने होडबाजी नै चलेको छ । समाज सेवा के हो ? भन्ने कुरा स्पष्ट नभए पनि हाम्रो सभ्यतामा समाज सेवा प्रशंसनीय कार्य हो, र यस्तो समाजसेवी कार्य गर्ने ब्यक्ति आदर्श व्यक्ति हो । अहिले नेपालमा समाज सेवाकै नाममा अनेक संघसंस्था, समूहहरू क्रियाशील रहेका छन् ।
यहि सेवाकै नाममा धेरैको रोजीरोटी चलेको छ । राजनीतिक दलहरूले पनि विशेषगरी निर्वाचनको समय र मतदाताहरूको बाक्लो उपस्थिति भएको सभा, आमसभामा जनताको सेवा गर्छौं भन्छन् आकर्षक आश्वासन दिन्छन् अनि आफ्नै स्वार्थपूर्तिमा भुल्छन् । सरकारी कर्मचारी त झन नामले नै राष्ट्रसेवक कर्मचारी भैहाले सेवाग्राहीसँग अनुचित लाभ लिएर मात्र काम गर्ने प्रचलन बढिसकेको छ । व्यापारीहरू ‘एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला’ भन्ने मुलमन्त्र लिएर ब्यवसाय गरिरहेका हुन्छन् । तर सकेसम्म ग्राहकबाट अनुचित नाफा लिन पछि पर्दैनन् । यति धेरै सेवकहरू भएको देशमा मानिसहरू चाहिँ किन रोग, शोक र भोकको पिडामा बाँच्नु परेको होला ?
सेवाः हि परमोः धर्मस्यः अर्थात् सेवा नै ठूलो धर्म हो र यो आफैमा महान कार्य हो । तर सेवाको नाममा मेवा खाने र मेवाको नाममा ढेवा ( नेवारी भाषामा पैसा) को कारोबार गर्नेहरू प्रति चाहि अब सचेत हुनुपर्ने बेला आएको छ । कुनै पनि व्यवहारिक नहुने, अनैतिक वा अवैध तरिकाले अर्थ संकलन गरेर समाजको सक्रिय प्रणालीलाई निस्क्रिय बनाउँदै समाजलाई नै बिखण्डन गराउन खोज्ने देखावटी समाजसेवीहरूबाट पनि अब सबै पक्ष सचेत हुनुपर्ने बेला आएको छ ।
चन्दा उठाएर समाज सेवा गर्ने प्रचलन विश्वमा नेपालमा मात्र हुने गर्दछ भन्दा सायद अन्यथा नहोला । किनकी अन्य देशहरूमा कुनै विपत्तिमा परेकाहरूलाई सहयोग गर्नु परे सरकारको वा अन्य कुनै आधिकारिक संस्थामार्फत मात्र गर्न पाइन्छ ।
मुलुकमा राजनीतिक ब्यवस्था परिवर्तनपछि समाजसेवा एउटा फस्टाएको पेशाजस्तै बन्दै गएको छ । शुन्य लगानीमा मनग्य दाम र नाम कमाउन सकिने गजबको पेशा बनेको छ । पीडितको पीडालाई बडो मार्मिक ढंगले सामाजिक सञ्जाल, युट्युबजस्ता सञ्चारमाध्यममा श्रब्यदृष्यमा देखाएर देश तथा विशेष गरी वैदेशिक रोजगारका लागि देश बाहिर रहेका नेपाली दाजुभाइहरूलाई भावनात्मक बहकाउमा पारेर मनग्गे पैसा उठाउने अनि केही रकम तामझामका साथ प्रचारात्मक शैलीमा पीडितलाई दिने र बाँकी रकम आफ्नो समृद्धिमा खर्चिने प्रचलन बढेर गएको छ । यसरी सामाजिक कार्य गर्नेहरू देशमा अभियन्ताको रूपमा आफूले आफैलाई राज्यभन्दा ठूलो ब्यक्तिको रूपमा देशको कानुन, सरकारका अंगहरू समेतलाई आफ्नो प्रभावमा पारेर क्षणिक समयका लागि प्रख्यात हुने प्रचलन बढेको छ ।
हिजो आफै राहत थाप्नेको लाइनमा उभिनेहरू छोटो समयमै एकाएक अभियान्ता बनेर महंगा गाडीका, आलिशान घरका मालिक कसरी बन्छन् ? भन्ने कुरामा राज्यले चासो दिएर छानबिन गर्नुपर्ने समय आइसकेको छ । गरिब, दुःखी, पीडितलाई सहयोग गरेको देखेर भगवानले बरदानस्वरूप त्यस्ता अभियान्ताहरूलाई एकाएक समृद्धि पक्कै पनि दिएका होइनन् होला । यदि त्यस्तो हुन्थ्यो भने कैयौं व्यापारीहरू आफ्नो व्यापार गर्न छाडेर समाजसेवी बन्ने थिए ।
वर्तमान नेपाली समाज अझ भनौ सामाजिक सञ्जालमा अत्यन्तै चर्चित शब्दाबली रहेको अभियान्तालाई अंगेजीमा इन्जिनियर ९भ्लनष्लभभच० भनिन्छ, जसको शाब्दिक अर्थ व्यवहारिक रूपमा विज्ञानको प्रयोग गरी विभिन्न प्रकारका उपकरणको प्रयोग गरी औद्योगिकीकरण सम्बन्धी कार्य गर्ने व्यक्तिलाई अभियन्ता भनिन्छ । हाल पछिल्ला केही बर्षदेखि नेपालमा सामाजिक क्षेत्रमा उल्लेख्य र सह्रानीय कार्य गरेका ब्यक्तिहरू स्वघोषित अभियन्ताको बिल्ला भिरेर समाजमा बर्चस्व जमाउने प्रयत्नमा लागेको देखिन्छ ।
बढ्दो सामाजिक सञ्जालको प्रयोगले एकाध राम्रो काम गरेका ब्यक्ति वा समूहको कार्यलाई सामाजिक सञ्जालमा अतिरन्जित रूपमा भाइरल गराउने प्रचलन बढेको छ भने एकतर्फी रूपमा सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यमबाट फैलाइएको सामाजिक प्रसिद्दिलाई सिढी बनाएर समाजमा आफूलाई अभियन्ताको रूपमा स्थापित गर्ने होडबाजी नै चलेको छ ।
आफ्नो व्यवसाय वा आम्दानीको श्रोत नभएको व्यक्तिले निस्वार्थ समाज सेवा गर्न असम्भव नै देखिन्छ किनकी आफ्नो घरखेत बेचेर कसैले पनि समाज सेवा गर्दैन । हिजो आफै राहत थाप्नेको लाइनमा उभिनेहरू छोटो समयमै एकाएक अभियान्ता बनेर महंगा गाडीका, आलिशान घरका मालिक कसरी बन्छन् ? भन्ने कुरामा राज्यले चासो दिएर छानबिन गर्नुपर्ने समय आइसकेको छ । गरिब, दुःखी, पीडितलाई सहयोग गरेको देखेर भगवानले बरदानस्वरूप त्यस्ता अभियान्ताहरूलाई एकाएक समृद्धि पक्कै पनि दिएका होइनन् होला ।
यदि त्यस्तो हुन्थ्यो भने कैयौं व्यापारीहरू आफ्नो व्यापार गर्न छाडेर समाजसेवी बन्ने थिए । अहिले नेपालमा दुखी, पीडितभन्दा समाजसेवी, अभियान्ताको संख्या बढी देखिन थालेको छ । तसर्थ कसैलाई सहयोग गर्न चाहना छ भने आफै सिधै पीडितलाई सहयोग गरौं । यसरी सहयोग गर्दा पीडित र दाता दुबैजना सुरक्षित बन्न सकिनेछ ।
समाज सेवाको नाममा विभिन्न अभियानको मञ्चन गरेर करोडौ कमाउनेहरू हाम्रै आँखा अगाडि अभियान्ता कहलिएर बिलासी जीवन ब्यतित गरी हिडिरहेका छन् । निस्वार्थ रूपले समाज सेवा गरिरहेका समाजसेवीहरू अहिले पनि ओझेल मै परिरहेका छन् । वास्तविक अभियान्तालाई सम्मान गरौँ । नाम र दामका लागि समाज सेवालाई पेशा बनाएका समाजका भाइरसहरूको पहिचान गरौँ र बचौँ । विश्वलाई आक्रान्त पारेको कोरोनाले व्यक्ति विशेषलाई मात्र प्रभाव र असर पार्दछ । तर यसप्रकारका ढोंगी अभियान्तारूपि भाइरसहरूले समाज र सिंगो देशलाई नै प्रभावित र असर पार्दछ भन्ने कुरामा सहयोगी हात बढाउने हरेक ब्यक्ति सजग हुनुपर्दछ ।
नेपालमा अभियान्ता जन्मिने मुख्य माध्यम वैदेशिक रोजगारीका क्रममा विश्वमा छरिएर रहेका खुल्ला हृदय भएका हाम्रा नेपाली दाजुभाइहरू जसले आफ्नो जन्मभूमिमा आइपरेको विपद् तथा दुःखमा परेका नेपाली जनताको पीडामा केही राहत होस भनी आफुले मेहनत गरी कमाएको पैसा सहयोगको रूपमा दिने होडबाजी नै हो । ब्यक्तिहरूसँगबाट अर्थ संकलन गरी प्राकृतिक विपद् परेको बेलामा प्रभावित क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएका समूहहरू विपद् बाहेक का अवस्थामा समेत आफ्नो प्रभाव देखाउने होडमा लागेको पाइन्छ । सामाजिक सेवा गर्नु गलत होइन तर कुनै सामाजिक कार्यको शिलसिलामा प्राप्त भएको विशिष्ठ ब्यक्तिसँग चिनापर्ची, लाभान्वित ब्यक्ति, समूहबाट प्राप्त समर्थनको नाममा सीमित समर्थकहरूको साथ लिएर राज्यको कानुन समेतलाई चुनौती दिंदै हिड्ने क्रम बढेको छ ।
नेपालमा हाल देखापरेका स्वघोषित अभियान्ताहरूको ब्यक्तिगत पृष्ठभूमि हेर्दा उनीहरू सामान्य अवस्थाबाट अकस्मात कसरी उच्च स्थानमा पुग्न सफल भए ? भन्ने कुराको बारेमा न त राज्यले छानबिन गरेको छ न त समाज सेवामा आफ्नो सहभागिता जनाएका आमनागरिकले नै । पछिल्लो समयमा यसरी राज्यका संयन्त्रहरूलाई नै चुनौती दिदै अगाडि देखापरेका यस प्रकारका समूह तथा ब्यक्तिहरूलाई समयमै नियमन गर्न नसके यसले भोलिका दिनमा राज्य कानुनबिहीन हुन पुग्ने अवस्था देखापर्न थालेको छ । समाजसेवाको खोल ओढेर कानुन तथा राज्यका संयन्त्रलाई नै आफ्नो पकडमा राख्न चाहनेहरूलाई राज्यले नियमन गर्नुनै पर्दछ ।
विशेषगरी पछिल्ला दिनहरूमा मुलुकमा देखापरेका विभिन्न दैवीप्रकोप, महामारी तथा विपद्को जटिल अवस्थामा राज्यलाई सहयोग गरेको जस्तो देखाएर आफूलाई सामाजिक संस्था र सामाजिक अभियान्ताको रूपमा स्थापित गराउन चाहनेहरूको हालीमुहाली बढेको छ । कुनै पनि अभियानको नेतृत्व गर्नेलाई अभियान्ता भन्नु जायज हुन्छ । कुनै पनि अभियानको उद्देश्य के हो र सो उद्देश्य पूरा गराउन चालिने कार्यक्रम स्पष्ट रूपमा तय गरिनुपर्दछ । मुलुकमा गणतान्त्रिक शासन ब्यवस्था रहेको छ । चित्त नबुझेका कुरामा फरक मत राख्ने तथा सरोकारवाला निकायलाई सचेत गराउन सबै नागरिकलाई स्वतन्त्रता रहेको हुन्छ । संविधानले हरेक व्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ । संविधानप्रदक्त सोही स्वतन्त्रतालाई टेकेर स्वघोषित अभियन्ताले अराजकता निम्त्याएको देखिन्छ ।
अभियान्ताका गतिविधिले समाजमा ठूलै परिवर्तन त ल्याउँदैन तर स्वतन्त्रतालाई टेकेर अराजक गतिविधि भने भैरहेका छन्, समाज सेवाका नाममा पीडितको हक र अधिकार स्थापित गर्ने क्रममा अन्यको हक र अधिकार खोसिनु हँुदैन । सामाजिक सञ्जालमा भएका फ्लोअर्सका भरमा आफैले आफूलाई अभियान्ता भनेर हिँडेका छन् । यस्तो व्यक्तिलाई कसले उचालेका छन् ? कहाँबाट परिचालित छन् ? भन्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
स्वघोषित र देखावटी अभियान्ताले कानुनी राज्यमा विधिको शासनलाई नै चुनौती दिने गरेका प्रशस्त उदाहरणहरू विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका देखिन्छन् । यसरी विधिको शासन, राज्यका अंग तथा समाजलाई नै चुनौती दिने यसप्रकारका अराजक गतिविधि गर्ने स्वघोषित अभियान्ताहरूलाई राज्यले नियन्त्रण गर्न जरूरी देखिन्छ । यस्ता गतिविधि संविधानवादको सिद्धान्त र मान्यता विपरीत र व्यक्तिगत स्वतन्त्रता हुँदाहुँदै पनि राज्य र राज्यका निकायलाई असर गर्ने यस्ता गतिविधिहरूलाई राज्यले नियन्त्रण गर्नुनै पर्दछ । मानव जीवनको उत्कृष्ट कार्य सेवालाई परिस्कृत बनाउन सबै पक्ष अभियानको नेतृत्व गर्ने अभियान्ता, सेवा ग्रहण गर्ने समूह, सहयोगी हातहरू बढाउने दाता सबैजना सचेत हुनुपर्ने समय आइसकेको छ ।