उमा भण्डारी
तुलसीपुर, १३ असार । दाङको टरिगाउँ एयरपोर्टको हवाई सेवा सञ्चालनमा सहजता ल्याउन हवाई इन्धनको व्यवस्था सुरू भएको छ । तीन वर्ष पहिलो हवाई इन्धन डिपोको लागि बाउजरसहितको सामग्री आइसकेको हल्ला गरिएको तुलसीपुरमा शनिबार हवाई इन्धन भण्डार गर्ने एउटा ‘भाँडो’ आएको छ ।
वर्षौँपछि दाङको टरिगाउँ एयरपोर्टमा रिफ्युलर भण्डारणका लागि ३० हजार किलोलिटर क्षमताको ट्यांक आईपुगेको छ । भारतबाट नेपालगञ्ज नाका हुँदै ल्याईएको रिफ्युलर ट्यांक शनिबार मात्रै टरिगाउँ एयरपोर्टमा आईपुगेको हो ।
यसअघि पटक–पटक जिल्लाका राजनीतिक दल र स्थानीय सरकारका प्रतिनिधिहरूले रिफिलिङ ट्यांक, बाउजर एयरपोर्टमा ल्याउन लागिएको भन्दै हल्लासमेत फैलाएका थिए । बाउजर, फ्युल ट्यांक खरिद भयो, काठमाडौँबाट हिडिसक्यो, मंगलबार मात्रै तुलसीपुर आईपुग्छ भनेर वर्षौँ पहिले हल्लाखल्ला मच्चाएका थिए । हल्ला गरेको झण्डै तीन वर्षपछि भएपनि ट्यांक आईपुगेनन् । तर यसपटक भने हल्ला गरिएका ट्यांकहरूमध्ये एउटा ट्यांक शनिबार मात्रै तुलसीपुर आईपुगेको हो । अरू भने खरिद प्रकृयामै रहेको टरिगाउँ विमानस्थल प्रमुख कैलाश शर्माले बताए ।
करिब ३० हजार किलोलिटर क्षमता भएको ट्यांक नेपालगञ्जबाट लरीमार्फत तुलसीपुर ल्याईएको उनले बताए । एयरपोर्टको स्तरोन्नती र हवाई ईन्धन डिपो स्थापनाका लागि रिफ्युलर ट्यांक ल्याईएको उनले जानकारी दिए । उनका अनुसार उक्त ट्यांकसहित एक ट्रक अन्य उपकरण र सामग्रीहरू समेत एयरपोर्टमा आईपुगेको छ ।
ट्यांक पहिले नै आईसक्नुपर्ने भएपनि कोरोनाका कारण एक महिना नेपालगञ्ज भन्सारमा रोकिदा केही समय ढिला भएको उनले बताए । ‘पहिले नै आउनुपर्ने सामान हो’ उनले भने– ‘कोरोना, त्यसैमाथि निरन्तरको वर्षातले पनि ढिलो आयो ।’
हवाई ईन्धन डिपोका लागि तेल भण्डारण गर्नका लागि उक्त ट्यांक प्रयोग गरिने उनले जानकारी दिए ।
उनका अनुसार डिपो सञ्चालनका लागि दुईवटा ट्यांक र एउटा बाउजर ल्याउन लागिएको हो । जसमध्ये एउटा ट्यांक आईसकेको छ भने अर्को ट्यांक र बाउजर खरिदका लागि टेण्डर प्रकृयामा गईसकेको छ । ‘सबै सामग्रीहरूको खरिद प्रकृयामा जाने भएकाले केही समय लाग्न सक्छ’ उनले भने– ‘सबै काम प्रकृयामा गइसकेको हुनाले अब चाँडै नै आउँछ भन्ने आश गरौँ, एउटा आईसक्यो अरू आउने क्रममा छन् ।’
कोरोना महामारी र नियमित परेको वर्षातका कारणले कामहरू प्रभावित भएपनि डिपो स्थापनाका लागि आवश्यक ट्रस्ट, स्टोर भवनको कामहरू भइरहेको उनले बताए । उनका अनुसार ट्यांक जडान, आवश्यक उपकरणहरूको जडान एवं सिस्टममा लैजाने काम अबको केही दिनमा सम्पन्न हुनेछ । यस्तै ट्यांकरको फ्यूल जहाजसम्म लैजान आवश्यक पर्ने धावन मार्ग विस्तारका लागि ल्याण्ड फिलिङको कामसमेत सम्पन्न भइसकेको छ ।
हवाई ईन्धनडिपो स्थापनाका लागि आवश्यक पर्ने ईन्धन भण्डारण गर्ने ट्यांक आइसकेकाले अबको केही महिनापछि डिपो सञ्चालन हुने नेपाल वायुसेवा निगम तुलसीपुर शाखा प्रमुख विपीन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्यांक राख्ने भवन निर्माणको काम टेण्डर प्रकृयामा गइसकेकाले अबको दश दिनपछि प्राविधिक र ईञ्जिनियरको टोली आएर भवन निर्माणको काम सुरू गर्नेछन् । भवन निर्माण र ट्यांकमा आवश्यक उपकरणहरू जडान भएलगत्तै डिपो सञ्चालनमा आउने उनले जानकारी दिए ।