नेपाली मौलिक कला तथा संस्कृतिमा पर्यटकहरू रमाउँछन् । नेपालमा पर्यटन प्रवद्र्धनको लागि प्राकृतिक सौन्दर्यता र साँस्कृतिक विविधताले सिंगारेको धेरै ठाउँहरू छन् । प्राकृतिक सौन्दर्यता र साँस्कृतिक विविधता मात्र होइन पर्यटकहरूका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, तीर्थाटनका लागि धार्मिक मठमन्दिर र ऐतिहासिक सम्पदा पर्यटनका गन्तब्य बनेका छन् ।
अहिले पर्यटकको रूपमा ज्ञान, अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि विश्वका विभिन्न ठाउँमा मानिसहरू भ्रमण गर्दछन् । सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजभोलि ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । आफ्नो देशमा लुकेका भौगोलिक, प्राकृतिक, साँस्कृतिक, धार्मिक लगायतका दुर्लभ तथ्य उजागर गरी कीर्तिमान कायम राख्ने अहिले विश्वमा होड नै चलेको छ । नेपालको सन्दर्भमा विविधताले भरिपूर्ण प्राकृतिक साँस्कृतिक र धार्मिक संरचना पर्यटकीय गतिविधिका लागि विश्वका सबै पर्यटकहरू लोभिन्छन् ।
त्यसैले बाह्य पर्यटकहरू प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, तलाउ विहार, स्काई ड्राइभिङ, रक क्लाइम्विङ, बन्जी जम्पिङ, क्यानोनिङ, साहसिक खेल जिपवायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावर, गाउँबस्तीको अनुपम मौलिकता अध्ययन अवलोकन र मनोरन्जन गर्न नेपाल आउँछन् । नेपालमा प्राकृतिक विविधता, असंख्य जातजाति र भाषा संस्कार संस्कृतिले पर्यटकलाई आकर्षण गर्दछ ।
ग्रामीण पर्यटकहरूले पनि खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रूचि देखाउन थालेका छन् । नेपालमा आउने पर्यटकहरूले विश्वको सबै हावापानी महसुस गर्न र प्राकृतिक तथा साँस्कृतिक विविधता पाउन सक्दछन् । नेपालमा पर्यटकहरू बिदा मनाउन, शिक्षा आर्जन गर्न, मनोरञ्जन प्राप्त गर्न, भौगोलिक ज्ञान आर्जन गर्न, साँस्कृतिक रितिरिवाज, चालचलन, भेषभूषाजस्ता कुराको ज्ञान हासिल गर्ने उद्देश्यले आउने गरेका छन् ।
पर्यटकहरू विविधता हेर्न अवलोकन गर्न मात्रै नभएर पर्यटक पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धानकर्ताका लागि पनि नेपालमा आउने गर्दछन् । नेपाल साँस्कृतिक, धार्मिक र प्राकृतिक विविधताले नै पर्यटकहरू लोभिन्छन् । नेपालको साँस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो छ । अतिथि देवो भवः संस्कार संस्कृतिमा अभ्यस्त नेपालीको जीवनस्तर उकास्न र पर्यटन प्रवद्र्धन गर्नका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्दछ ।
नेपाली समाजको सुमधुर संरचना विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिमा वाह्य पर्यटक अचम्म मान्दछन् । यहाँको चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशका लागि छुट्टै अनुभूति हुन्छ । विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरूको रहनसहन, संगीत र नृत्य देख्दा पर्यटकहरू रमाउँछन् । नेपालीको कला, संस्कृति लोकगीत र वाद्यवादन, भाषा र साहित्य, दर्शन र धर्म, उत्सव, खाना र पेयमा पर्यटकहरू रमाउँछन् ।
नेपालमा पर्यटकलाई आकर्षित गर्ने भौगोलिक अवस्था, साँस्कृतिक विविधता, धार्मिक सहिष्णुता, परम्परागत कलाकौशल, ऐतिहासिक, पुरातात्विक सम्पदा, हिमाली श्रृंखला महाभारत पहाड, तराईका मैदानी उर्वर फाँटहरू, तालतलैया, नदीहरू, वन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकुञ्जहरू रहेका छन् । पहाडी क्षेत्रमा पदयात्रा नदीहरूमा रोमाञ्चक जलयात्रा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरू पर्यटकहरूलाई आकर्षित गर्ने क्षेत्र हुन् । पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो ।
ग्रामीण पर्यटकहरूले पनि खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रूचि देखाउन थालेका छन् । नेपालमा आउने पर्यटकहरूले विश्वको सबै हावापानी महसुस गर्न र प्राकृतिक तथा साँस्कृतिक विविधता पाउन सक्दछन् । नेपालमा पर्यटकहरू बिदा मनाउन, शिक्षा आर्जन गर्न, मनोरञ्जन प्राप्त गर्न, भौगोलिक ज्ञान आर्जन गर्न, साँस्कृतिक रितिरिवाज, चालचलन, भेषभूषाजस्ता कुराको ज्ञान हासिल गर्ने उद्देश्यले आउने गरेका छन् । भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो ।
नेपाल आउने वाह्य पर्यटकहरू मध्ये ७० प्रतिशत बिदा मनाउन, १५ प्रतिशत धार्मिक तथा साँस्कृतिक र ८ प्रतिशत एडभेन्चर लागि नेपाल आउने गरेको पर्यटन बोर्डको तथ्यांक छ । कोभिड–१९ को महामारीले गर्दा यो तथ्यांक अनुसार पर्यटकहरू यो बर्ष नआउन सक्दछन् । तर पनि पर्यटकहरू मध्ये धेरै कला र संस्कृतिको बारेमा रूचि राख्दछन् । संस्कृति जीवनयापनको जीवित अभिव्यक्ति हो ।
संस्कृतिले समुदायको सामूहिक परिचय दिन्छ भने संस्कृति भनेको साँस्कृतिक सम्पदाहरूको सामूहिक नाम पनि हो । संस्कृतिले मानिसको उत्पत्ति, चालचलन, भाषा, संस्कारलाई जनाउँदछ । मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरूपको जीवनशैली नै मानव–संस्कृति हो । साँस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्दछ ।
संस्कृति भनेको इतिहासको निश्चित कालखण्डमा मानिसले गरेका सिर्जनशील कार्य हुन् । मानिस बाँच्ने क्रममा खाद्यवस्तु, लत्ता कपडा उत्पादनदेखि लिएर सबै आवश्यक वस्तुको उत्पादनसँग सम्बन्धित कार्य, सीप नै संस्कृति हुन् । कला संस्कृति सिंगो मानव जातिको कृति, प्रतिभा र सिर्जना हुन् ।
पाषाण औजारहरू निर्माण र प्रयोग गर्ने गरेको युगको संस्कृतिलाई पाषाणयुगीय संस्कृति भनिन्छ । ऐतिहासिक युगको विभिन्न कालखण्डका आधारमा पनि साँस्कृतिक वर्गीकरण गर्ने प्रचलन थियो । नेपालको सन्दर्भमा किराँत कालीन संस्कृति, लिच्छविकालीन संस्कृति, मल्लकालीन संस्कृति, प्राचीन संस्कृति, मध्यकालीन संस्कृतिका बारेमा धेरै पर्यटकहरू अध्ययन अनुसन्धान गर्नको लागि नेपाल आउने गर्दछन् ।
पर्यटनको क्षेत्रमा साँस्कृतिक विविधता पनि छ । प्राकृतिक विविधतासँगै मानवीय चालचलन, संस्कार, भाषा, भेषभूषा, संस्कृतिलाई पर्यटकहरूले चासो राख्दछन् । साँस्कृतिक पर्यटनहरू त्यसबाट मनोरञ्जन लिने गर्दछन् । साँस्कृतिक पर्यटनले पर्यटकहरूलाई साँस्कृतिक रितीरिवाज, भाषा र भेषभूषाले आकर्षण गर्दछ ।
नेपालमा पर्यटनको मुख्य आधार प्राकृतिक सौन्दर्यता र जनजातिहरूको कला संस्कृति नै हो भन्दा पनि हुन्छ । पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको विकास गर्न पनि प्राकृतिक विविधता र साँस्कृतिक विविधतालाई संरक्षण गर्नपर्दछ । जातिगत विविधता अनुसार साँस्कृतिक संग्राहलय, होमस्टे, साँस्कृतिक नृत्य, परम्परागत खानपान र भेषभूषाको विकास गर्नसके गन्तव्यस्थल बढ्दै जाने र अध्ययन र अनुसन्धान गर्ने पर्यटकका लागि नयाँ गन्तब्य बन्दछ ।
अब पर्यटन प्रवद्र्धन गर्न प्रकृति र संस्कृतिको संरक्षण गर्न सरकारको नीति, निजी व्यवसायीहरूबीचको समन्वय, सहकार्य र मानसिकतामा परिवर्तन हुनुपर्दछ । साँस्कृतिक, भेषभुषा, परम्परागत विविधतालाई पर्यटन प्रवद्र्धनको अवसरको रूपमा विकास गर्नुपर्दछ । सरकारी, निजी तथा व्यवसायीक कम्पनीहरूमार्फत पर्यटन विकासमा समुदायहरूको सहभागितामा जोड दिनुपर्दछ । प्राकृतिक सौन्दर्यतासँगै साँस्कृतिक विविधताले पर्यटन क्षेत्रलाई फराकिलो बनाएको छ । तसर्थ, साँस्कृतिक भेषभूषा र जनजीवनलाई समेटी पर्यटन विकास गर्नसकेमात्र पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।
अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, साँस्कृतिक र प्राकृतिक महत्वका लागि आधार बन्न थालेको छ । पर्यटनको क्षेत्रमा नेपाल भित्रिने पर्यटकहरू नेपालीहरूले मान्ने चाडपर्व र संस्कृतिमा रमाउन थालेका छन् । नेपालीहरूको धर्म, संस्कृति प्रकृतिसँग जोडिएको छ । नेपालीहरूले मान्ने चाडपर्वहरू पनि प्रकृतिसँग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाजमा परम्परागत रूपमा मनाइने चाड, पर्व, जात्रा, मेला र अन्य साँस्कृतिक उत्सवहरू पर्यटन विकासको लागि आधार हुन् ।
पर्यटकहरूले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरू रूचीपूर्वक अवलोकन गर्दछन् । विशेषगरी काठमाडौँमा पशुपति आर्यघाटमा खुलारूपमा शव जलाएको दृष्य उनीहरूलाई अनौठो लाग्छ । त्यसैगरी मनाङ र मुस्ताङ जिल्लामा पदयात्रामा जाने पर्यटकहरूलाई मानिसको लासलाई काटेर गिद्धलाई खुवाएको देख्दा पर्यटकहरू अचम्म हुन्छन् । ती क्षेत्रमा तिब्बती मुलका मानिसहरूले लामाको जोखान अनुसार केही मानिसको लासलाई काटेर गिद्धलाई खुवाउने संस्कार रहेको छ । यसैगरी हाम्रा मौलिक संस्कृतिहरू जन्मदा कतै रूनेदेखि कतै खुशी हुने,
विवाहमा टाउको ठोकाउनेदेखि सिन्दुर साटासाट गर्ने, दाइजोमा चिउरीको रूख दिनेदेखि बिषको कचौरा दिनेसम्मका मौलिकपन र मृतकको शवलाई घरको भित्ता फोरेर निकाल्नेदेखि मर्दा माटोमा गाड्नेदेखि जलाउने संस्कृतिले वाश्य पर्यटकहरूका लागि अनौठो लाग्दछ ।
नेपालमा आउने पर्यटकहरू नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या बढ्दै गएको छ । अर्कोतर्फ नेपालीले मनाउने हरेक चाडवाडलाई पर्यटकहरूले विशेष चासोका साथ हेर्ने गर्दछन् । हरेक चाडलाई केन्द्रित गरी प्याकेज बनाएर पर्यटकहरू पर्यटकहरू नेपाल आउने गर्दछन् ।
पर्यटकहरू दशैको दुर्गा पूजा, नवमी र दशमीमा हुने पूजामा रमाइलो मानेर हेर्दछन् । कतिपय पर्यटक टीका ग्रहण गरेर आशीर्वादसमेत लिन चाहन्छन् र पिङ खेलेर रमाइलो गर्छन् । तिहारमा देउसीभैलो खेल्ने, टीका लगाउनेमा पनि पर्यटकहरू हुन्छन् । कतिपय विदेशीले तिहारमा टीका लगाएर नेपालीलाई दिदी बहिनी बनाएका छन् ।
होलीको रंगमा रमाउने, पन्ध्र आषाढको दिन कृषकहरूसँग खेतमा गएर हिलो खेल्ने पर्यटकहरूको संख्या पनि कमि छैन । जुन कारणले हामीले मान्दै आएका चाडपर्व र संस्कृति सबै पर्यटकहरूका लागि उनीहरूको भन्दा नौलो, अनौठो र फरकखालको हुन्छ । उपत्यकामा मनाइने इन्द्रजात्रा, विस्केट जात्रा, घोडे जात्रा, गाई जात्रा र लाखे नाचमा समेत पर्यटकहरू रमाउँछन् । नेपालमा मौलिक चाडपर्वहरू वर्षैभरि मनाइन्छन् । विदेशी पर्यटकहरूका लागि पनि हाम्रो संस्कृति तथा चाडपर्व चासोको विषय हुने गरेको छ । पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्नुपर्दछ ।
वि.सं २०६८ को जनगणना अनुसार नेपालमा १२ धर्म र १ सय २५ जातिहरू रहेका छन् । यी जातिहरूमा १२३ जातिहरूको आफ्नो भाषासमेत छ । यी भाषा भाषीहरूको पृथक संस्कृति, संस्कार र भेषभूषाले पर्यटकहरू आकर्षण हुने गर्दछन् । यी भाषाको सरक्षण आवश्यक छ । भाषा र लिपिले मानिसको पहिचानलाई उजागर गर्दछ ।
कतिपय भाषा लोप हुँदै जानु र कतिपय लोपोन्मुख हुँदै जानुले अबको पर्यटन के होला ? नेपालमा कतिपय पर्यटकहरू भाषा अध्ययनकै लागि आउने गर्दछन् । तर अहिले हाम्रो मौलिक संस्कृति हराउँदै जान थालेको छ । अहिलेको संस्कृति वैदिक र पौराणिक दुबै नभई मिसमास भएको छ । नेपाली मौलिक संस्कृति जोगाउन चुनौती हुन थालेको छ । संस्कृति हरेक जातिको पहिचानसँग जोडिएको हुन्छ । त्यसको संरक्षण भएन भने पर्यटकहरूलाई के देखाउने ?
अहिले युवा पुस्ताको ठूलो हिस्सामा हाम्रो मौलिक संस्कृतिप्रतिको मोह क्रमिकरूपले घट्दै गएको छ । आधुनिकताको नाममा हाम्रा कतिपय राम्रा मौलिक परम्परा कला, संस्कृति, लोक साहित्य, लोक संगीत, लोक बाजाहरू, लोप हुने अवस्थामा पुगिरहेका छन् । जन्मोत्सवको सट्टामा बर्थ डे हाम्रो संस्कृति नै बनिसकेको छ ।
पञ्चेबाजालाई विस्थापित गर्दै ब्यान्ड बाजा स्थापित भैरहेको छ । यस्ता कुराहरू खोज गर्दै जाने हो भने धेरै भेटिन्छन् । पर्यटन प्रवद्र्धनको लागि मौलिक संस्कृतिको जगेर्ना गर्दै इतिहास, संस्कार एवं संस्कृतिलाई जीवन्त राख्नुपर्दछ । अब यसको संरक्षण गर्न सबै पर्यटन ब्यवसायीहरू मात्र होइन सबैको साझा दायित्व सम्झनुपर्दछ ।
विकास भनेको सकारात्मक रूपान्तरण हो । चाहे त्यो जुनसुकै क्षेत्रभित्र नै किन नहोस् । रूपान्तरण भन्नाले कुनै विषयवस्तुको रही आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ । जहाँ जे कुराहरूको अभाव छ, ती चिजहरू प्राप्त हुनु नै विकास हो । पर्यटनको क्षेत्रमा यसलाई पूर्वाधार भनिन्छ । पर्यटनको लागि देशमा अनगिन्ती पर्यटकीय सम्भावना बोकेका भर्जिन गन्तव्यहरू छन् । ती गन्तब्यहरूको उचित प्रचारप्रसार भएको छैन । अनेकौ साँस्कृतिक तथा धार्मिक सम्पदा र तीर्थस्थलहरू संरक्षणको अभावमा लोपोन्मुख हुन लागेका छन् । त्यस्ता सवै धरोहरहरूको खोज र प्रचारप्रसार गर्नुपर्दछ ।
अर्कोतर्फ त्यस्ता भर्जिन गन्तव्यहरूमा आवश्यक पूर्वाधार र सूचना प्रविधिको विकास हुनुपर्दछ । अहिलेसम्म पर्यटकहरूलाई आकर्षण गर्ने प्राकृतिक सम्पदामा राज्यले खर्च गर्न परेको छैन । तर अब पर्यटनको विकास गर्न ती सम्पदाहरूलाई संरक्षण गर्दै जानुपर्दछ । पूर्वाधारको विकास गर्ने हो भने नयाँ गन्तव्यको पर्खाइमा बसेका पर्यटक घुमफिर गर्न उत्साहित हुन्छन् ।
तर हामीकहाँ पर्यटन विकासको लागि पूर्वाधार निर्माण गर्ने काममा कुनै गुरूयोजना छैन । आवश्यकता हो या हैन ? आफूखुशी पर्यटनको पूर्वाधार बन्न थालेका छन् । प्राकृतिक भ्यूटावर बनेका पहाडको टुप्पोमा भ्यूटावर बनाउने होड चलेको छ । मोटरमार्ग पुगेको ठाउँमा केवुलकारको योजना बनेको छ र कहिकतै निर्माण पनि हुन लागेको छ ।
प्रत्येक जिल्लामा यस्ता धेरै उदाहरण भेटिन्छन् । पर्यटन विकासको लागि पर्यटकहरूको लागि खान, बस्न होमस्टे, होटल खुल्दै जानुपर्दछ । गाउँमा पुग्ने सडकमार्ग भरपर्दो हुनुपर्दछ । अर्कोतर्फ पर्यटकहरूको सुरक्षा, सञ्चार सुविधा र स्वास्थ्य केन्द्रहरूको पनि ब्यवस्था हुनुपर्दछ ।