प्रचण्ड खत्री
रूकुम (पश्चिम), १३ असार । रूकुम पश्चिमकी २३ वर्षीय महिमा घर्तीमगर यतिबेला र्नसरी खेतीमा ब्यस्त छिन् । नर्सरीमा सुन्तला, कागती, टिमुर, अमिलालगायतका विभिन्न प्रजातीका विरूवा उमार्दै आएकी महिमा नर्सरी खेतीबाट खुशी भएको बताउँछिन् । बाँफिकोट गाउँपालिका वडा नं. ६ जिप्सीङ बस्ने महिमाले नर्सरी खेतीबाटै परिवारको घर खर्च चलाउनुका साथै वार्षिक दुई लाखभन्दा बढी रकम बचत समेत गर्ने गरेकी छन् ।
३ लाख ५० हजार रूपैयाँ लगानी गरी टप, कृषि, नर्सरी पशुपंक्षी फर्म सञ्चालन गरेकी उनले यसपटक मात्रै सुन्तला, कागती, टिमुर, अमिलालगायतका विभिन्न प्रजातीका १० हजार बिरूवा बिक्री गरेकी छन् । उनका अनुसार उक्त विरूवा बिक्रि वितरण गर्दा ४ लाख बराबरको कारोबार भएको छ ।
एक वर्ष पहिले बुवाको मृत्यु भएपछि नर्सरी खेतीबाटै आमा, भाइ र आफूगरी चारजनाको परिवार पालिएको उनले बताइन् । ‘बुवा हुनुहुन्न, परिवारको सबै खर्च यहि नर्सरीबाटै चलेको छ’ उनले भनिन्–‘विरूवा बनाउन समय र रकम धेरै खर्चिनुपर्ने भएपनि म यसैमा खुशी छु ।’
एक सिजनमा १२ हजार विरूवा उत्पादन गर्दै आएकी महिमाले नर्सरी खेतीसँगै तरकारी खेती पनि सञ्चालन गरेकी छन् । उनले सञ्चालन गरेको तरकारी फर्ममा टमाटर, लसुन, प्याज र काउली उत्पादन हुने गर्दछ । उनले उत्पादन गरेका तरकारीहरू मग्माको तलिगाउ, छिनखेत हुँदै सदरमुकाम खलंगासम्म बिक्री वितरण हुने गदर्छ । उनले तरकारी खेतीबाटै वार्षिक दुई लाख रूपैयाँ आम्दानी गर्ने गरेको उनले बताइन् ।
नर्सरी र तरकारी खेतीबाट घर खर्च चलाउनुका साथै आफू आत्मनिर्भर बन्न पाउँदा खुशी लाग्ने उनले बताइन् । ‘पहिले घरखर्च चलाउन एकदमै समस्या हुन्थ्यो, तर अहिले केही समस्या छैन’ उनले भनिन्– ‘कमाएर घरपरिवार पाल्न पाउँदा एकदम खुशी लाग्ने गरेको छ ।’ जिल्ला सदरमुकामदेखि निकै टाढा पर्ने उक्त गाउँमा नर्सरी र तरकारी खेतीको व्यवसाय गर्ने आफू एक्लो महिला भएको उनी बताउँछिन् ।
ग्रामीण भेगमा रहेर कृषि पेशा सुरू गरेको दुई वर्ष बितिसक्दा कुनैपनि संस्थाले अनुदान तथा राहत कार्यक्रम नपाएको गुनासो गरिन् । बाँफिकोट कृषि विकास शाखाका कार्यालय प्रमुख लोकेन्द्र ओलीले उद्यमशीलता र आर्थिक आयआर्जनमा लागेकाहरूलाई पालिकाले पूर्ण सहयोग गर्ने बताए । कृषि व्यवसाय सञ्चालन गरेका नर्सरी तथा कृषि फर्मलाई छनोट गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।