प्रदेश टुडे
प्यूठान, १३ असार । सरूमारानी गाउँपालिकाको नवौं गाउँसभाले सडक कालोपत्रे÷स्तरोन्नति खानेपानी तथा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
बिहीबार बड्डाँडामा सम्पन्न गाउँसभाले ०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक तथा विनियोजन विधेयकको साथै बजेट सर्वसम्मत पारित गरेको छ । सभाले ४६ करोड ५९ लाख ५३ हजार २ सय ४८ रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
पुँजीगत बजेटतर्फ १२ करोड १ लाख ४५ हजार रूपैयाँ तथा चालु बजेटतर्फ ३४ करोड ५८ लाख ८ हजार २ सय ४८ रूपैयाँ विनियोजन भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले जानकारी दिएका छन् ।
गाउँसभाले पालिकाको केन्द्र बड्डाँडा बजार क्षेत्र सडक कालोपत्रे गर्ने, ऐरावती–बड्डाँडा जस्पुर हुँदै बंगलाचुली दाङ जोड्ने मोटरबाटो कालोपत्रेको सुरूवात गर्नेको लागि संघीय समपूरक १ करोड २५ लाख, प्रदश समपूरक १ करोड १० लाख, प्रदेशको थप ५० लाख गरी ४ करोड १० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
बड्डाँडा–धनकोट हुँदै बुडीचौर वडा नं ६ जोड्ने मोटरबाटोको लागि प्रदेश समपुरक ४० लाख तथा संघबाट २४ लाख समेत गरी १ करोड ४ लाख रूपैयाँ बजेट विनियोजन भएको छ । वडा नं २ र वडा नं ४ को वडा कार्यालय भवन निर्माणको लागि प्रदेश समपूरक २७ लाख ५० हजार तथा गाउँपालिकाको २७ लाख ५० हजार रूपैयाँ गरी ५५÷५५ लाख रूपैयाँ बजेट व्यवस्थापन गरेको छ ।
नर्सरी–आँटीटार हुँदै वडा नं १ मोटरबाटो कालोपत्रे, छहरे चौपारी–डाँडागाउँ मोटोरबाटो कालोपत्रे, पेट्रोल पम्प–ददेरी मोटोरबाटो कालोपत्रे, दरभान बजार बस्ती विकास कार्यक्रमबाट बजार क्षेत्र आसपासमा कालोपत्रे गरिने योजना रहेको पालिका उपप्रमुख मिना सोमैद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।
यस्तै गाउँपालिकाले ट्रयाक खोलिसकेका डेढ दर्जन मोटर बाटोहरूमा ग्राभेल गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको पालिका प्रमुख झगबहादुर विश्वकर्माले जानकारी दिए । पालिकाले हेफर प्रोजेक्टसँग साझेदारी गरी कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमलाई निरन्तरता दिन १ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
‘हामीले किसानसँग गाउँ सरकार कार्यक्रमलाई पनि निरन्तरता दिएका छौं ।’ पालिका प्रमुख विश्वकर्माले भने, ‘व्यवसायिक कृषकहरूलाई अनुदान दिने, कृषि उत्पादकत्व बढाउन दर्ता भएका कृषि तथा पशुपालन पकेटलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्ने गरी काम गर्नेछौं ।’
खानेपानी तथा सिंचाईका क्षेत्रहरूमा पनि पालिकाले विशेष महत्वका साथ बजेट विनियोजन गरेको विश्वकर्माले बताए । हंसपुर बृहत् खानेपानी योजनाअन्तर्गत ३ सय ५२ घरधुरीमा यसै आर्थिक वर्षभित्र खानेपानी सुविधा पु¥याउने बताईएको छ । पालिकाभित्र सञ्चालनमा रहेका तथा निर्माणको चरणमा रहेका सबै लिफ्ट खानेपानी योजनालाई आगामी वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
पालिकाभित्रका दुई सय विपन्न घर परिवारका लागि खरको छानो विस्थापित गरी जस्तापाता लगाइने छ । पालिकाले पर्यटनतर्फ सौराकोट–सिद्ध लेख पैदल सिँढी निर्माण, किमीचौर दहको संरक्षण, कोटघर मन्दिर घेराबार, छहरे बराह मन्दिर निर्माण, पुठा दरवार मन्दिर सिँढी निर्माण, जामे मस्जिद तला थप, फैजुल मद्रासा कम्पाउन्ड ढलान, ऐरावती मन्दिर अधुरो कार्य पूरा, रत्ने चर्च निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरेको छ ।
प्राविधिकतर्फ डिप्लोमा वा सोभन्दा माथि अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरूप छात्रवृद्धि कार्यक्रम, छोरी पेवा बचत कार्यक्रमलाई निरन्तरता दिँदै पालिकाले मासिक ४ सय रूपैयाँ बचत गरिदिने भएको छ । टुहुरा बालबालिकाको लागि मासिक १ हजार भत्ता दिने, सुत्केरी आमालाई १ क्यारेट अण्डा तथा ५ सय रूपैयाँ उपहार स्वरूप नगद प्रदान गरिनेछ ।
कोभिडबाट ज्यान गुमाएका परिवारको राहतका लागि बजेट विनियोजन गरिएको छ । पालिकाले युवा सशक्तिकरणतर्फ लागूऔषध विरूद्ध युवा अभियान, युवा क्लव गठन, युवायुवती सिपमूलक तालिमहरू पनि गर्दै जाने जनाएको छ ।