प्रदेश टुडे
सल्यान, १३ असार । सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुबै गुमाएका बालबालिकालाई १५ वर्षको उमेरसम्म मासिक पाँच सय रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले कुनैपनि संरक्षक नरहेका बालबालिकाहरूको स्याहारका लागि टेवा पु¥याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि सारिएको बताए ।
सम्बन्धित वडाको सिफारिस अनुसार गाउँपालिकाले निर्णय गरेर सहायता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कपुरकोट गाउँपालिकाको नवौँ गाउँसभाले कोभिड–१९ नियन्त्रण तथा कोभिडबाट सिर्जित संकट व्यवस्थापनमा जोड दिदै कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने कार्यक्रम पनि पारित गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएमा राहतस्वरूप २५ हजार रूपैयाँ मृतकको परिवारलाई राहतस्वरूप उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।
यस्तै डिप्लोमा तीनवर्षे कार्यक्रम प्राविधिक शिक्षालयको नयाँ सम्बन्धन लिन चाहना गर्ने सामुदायिक विद्यालयहरूलाई गाउँपालिकाले आवश्यक भौतिक सुधारको लागि एकमुष्ट तीन लाख रूपैयाँ अनुदान दिने व्यवस्था गरिने खड्काले बताए ।
एक घर एक धारा, करेसाबारी निर्माण र कम्तिमा दशवटा फलफूल विरूवारोपण कार्यक्रमको लागि प्रोत्साहन कार्यक्रम पनि कपुरकोट गाउँपालिकाले अघि सारेको छ । आर्थिक तथा सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् ब्यवस्थापन, सुशासन तथा संस्थागत विकास लगायतका क्षेत्रलाई कपुरकोटको नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।
यस्तै स्थानीय सञ्चारकर्मी, सञ्चारगृह, पत्रकारिताको संस्थागत विकास एवं क्षमता विकासको लागि आपसी समन्वय र सहकार्य गर्ने एवं गाउँपालिकामा स्थापना भएका एफएम रेडियाकोे सेवा विस्तारमा आवश्यक सहयोग गरी कृषकको लागि उपयुक्त तरकारी खेती, पशुपालन, नर्सरी स्थापनाजस्ता कृषक लाभान्वित हुने कार्यक्रम उत्पादन तथा प्रशारणका लागि आवश्यक बजेटको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष सेनले आगामी आर्थिक वर्षको लागि ४७ करोड ५५ लाख ५८ हजार रूपैयाँ बराबरको बजेट अनुुमानको सारांश पनि गाउँसभामा प्रस्तुत गरेको थिए । नवौँ गाउँसभाको दोस्रो बैठक मंगलबार बस्दैछ ।