सम्पादकीय
सहजरूपमा सञ्चालन भएको जीवजयापन नयाँ प्रकृतिको रोग सिर्जना भएपछि गत वर्षदेखि केही असहज भएको छ । गत वर्ष र चालु वर्षमा कोरोना भाइरसका कारण असहज अवस्था सिर्जना गरेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न विभिन्न उपायअन्तर्गत बन्दाबन्दी पनि उपयोग गरियो ।
गत वर्ष झण्डै ५÷६ महिना चलेको बन्दाबन्दी यो वर्ष भने केही कम हुने देखिएको छ । यस वर्ष दुई महिनाको सेरोफेरोमा बन्दाबन्दी रहेको छ । त्यो अवस्थामा धेरैको चुलो बलेन, धेरैलाई भोकले सतायो । कतै पनि श्रम गरेर आम्दानी गर्ने र चुलो बाल्ने वातावरण बनेर कतिपय अवस्थामा पूर्णरूपमा घरभित्रै बस्ने अवस्था पनि आयो । यहि अवस्थालाई मध्यनजर गरेर आर्थिक रूपमा विपन्न र गरिबहरूको लागि भन्दै स्थानीय सरकारहरूले धमाधम राहत वितरण गरे । त्यसरी वितरण गरिएको राहत पाउनेहरूले राहतको दुरूपयोग गरिएको पाइएको छ । त्यो गलत कार्य हो ।
आवश्यकताअनुसार प्राप्त सामग्रीको त्यहि अनुसार उपयोग पनि हुन्छ । जसलाई आवश्कता नै छैन त्यसलाई सहयोगको पनि खाँचो हुँदैन । कोरोना महामारीको समयमा आवश्यक भएकाहरूलाई सहयोग गरिनु त राम्रो हो । तर आवश्यकता नभएकाहरूलाई सहयोग गरेर गलतरूपमा प्रयोग गर्न लगाउने कदाचित राम्रो हैन । त्यसले राज्यले गरेको लगानी त उपयोगविहीन हुन्छ नै सहयोग र राहत वितरण र प्रदान कार्यमा समेत प्रश्न उठ्छ ।
दाङका स्थानीय सरकारहरूले गतवर्षको कोरोना महामारीमा वितरण गरेको राहत दुरूपयोग भएको सार्वजनिक भएको छ । भोक व्यवस्थापन र जीविका सहज गराउन महामारीको समयमा राहत लिनेहरूले त्यसको दुरूपयोग गरेर मदिरा उत्पादनमा लगाएको घटनाले निम्न वर्गका ब्यक्ति र समुदायलाई असर पु¥याएको छ । एक÷दुईजनाले बदमासी गर्दा आवश्यकता परेकाहरूले यसवर्ष राहत नपाउने अवस्था सिर्जना भयो । तसर्थ यो वर्ष स्थानीय सरकारले कतै राहत दिएको सुनिएको छैन ।
पारदर्शीता सबै क्षेत्रमा महत्व रहन्छ । त्यो राहत र अनुदान पनि हुनुपर्छ । स्थानीय सरकारले विभिन्न नाममा राहत दिने तर त्यसको सही उपयोग, प्रयोग भएको छ की नै भनेर खोज्नुपर्छ । गत वर्षको राहत वितरण गरियो तर त्यसको अनुगमन अन्वेशन र अवस्थाको बारेमा जानकारी नलिदा राहतको दुरूपयोग भएको देखिन्छ ।
यसतर्फ स्थानीय सरकार गम्भीर हुनुपर्छ । राहत लिने र त्यसको दुरूपयोग गर्ने जो कोहिलाई पनि नियमन र कारवाही गर्नुपर्छ । जसलाई आवश्यक छ त्यसले राहत पाउनुपर्छ र दुरूपयोग गर्ने पहँुचको आधारमा धम्काएर राहत लिनेहरूलाई निरूत्साहित गरिनुपर्छ ।