Thursday, April 18, 2024
Homebreaking-newsयोजनालाई प्रभावकारी बनाउन सुझाव संकलन

योजनालाई प्रभावकारी बनाउन सुझाव संकलन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २ असार । तुलसीपुर उपमहानगरपालिका यतिबेला आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । आर्थिक वर्ष २०७७/७८ मा ल्याईएका नीति तथा कार्यक्रहरूको समीक्षा, प्रभावकारिता र कमजोरीका विषयमा विभिन्न क्षेत्रका सरोकारावालाहरूसँग छलफल गरी आगामी वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमका लागि आन्तरिक तयारीमा उपमहानगर लागिरहेको छ । उपमहानगरपालिकाले नीति तथा कार्यक्रमको विषयमा मंगलबार पत्रकारहरूसँग छलफल र सुझाव संकलन गरेको छ ।

विगतमा सम्पन्न गरिएका योजना र बाँकी रहेका योजनाहरूको बारेमा समिक्षात्मक छलफल गरिएको छ । सहभागीहरूले कार्यान्वयन गर्न सकिने योजनाहरूलाई मात्र प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू ल्याउन सुझाव दिएका थिए । पछिल्लो समयमा कोरोना महामारीका कारण स्वास्थ्य र शिक्षा क्षेत्र अति प्रभावित भएको भन्दै स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने उनीहरूको सुझाव छ ।

कतिपय योजनाको कामहरू सम्पन्न भएपनि संरक्षणका प्रयासहरू नभएको, अनाधिकृत रूपमा हुने नदीजन्य पदार्थको दोहन, विकास निर्माणका काममा हुने विवाद, योजनाहरूमाबजेट कार्यान्वयनको समस्या लगायतका विषयलाई गम्भीर ध्यान दिन जरूरी उनीहरूले बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले लक्षित वर्गसम्म लाभ पुग्ने गरी नीति तथा कार्यक्रमहरू ल्याईनुपर्ने बताए । स्थानीय सरकार मिडियामैत्री बन्न जरूरी रहेको भन्दै उनले सरकारले मिडिया चलाउने नभई मिडियाको संरक्षण, पत्रकारिता क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।

‘सरकारले मिडिया चलाउने होईन’ उनले भने– ‘चलेका पनि नागरिकको स्वामित्वमा आउनुपर्छ, मिडिया हाउसलाई के आवश्यक छ, त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ ।’

स्रोत साधनको उचित व्यवस्थापन भएमा मात्र दिगो विकास हुने भन्दै उनले यसका लागि सरकारले मिडिया क्षेत्रसँग सहकार्य गरेर जानसक्ने नीति निर्माण गर्न जरूरी रहेको उनले बताए । पोखरेलले सरकाले सञ्चार माध्यम चलाउन नहुने बताएका छन् । उनले कुनै पनि तहका सरकारहरूले आफूले सञ्चार माध्यम सञ्चालन गर्न नहुने तर सञ्चार माध्यमको प्रवद्र्धन गर्नुपर्ने बताए ।

‘सरकारले सञ्चालन गरेका चारवटा सरकारी सञ्चार माध्यम रहेका छन्, ती पनि अब सरकारले चलाउने हैन’ उनले भने ‘नागरिकको स्वामित्वमा लैजानुपर्छ ।’ ‘सञ्चार माध्यममा लगानीकर्ताको प्रभाव पनि नहोस्, सरकारको प्रभाव पनि नहोस्’ अध्यक्ष पोख्रेलले भने, ‘सञ्चार माध्यममा नागरिकको विचार स्वतस्फूर्त रूपमा आउन सक्नुपर्छ, सरकारका मिडियामा नागरिकका कुरा समेटिदैनन् ।’

‘सरकारले चलाइरहेका सञ्चार माध्यम नागरिकको मातहतमा ल्याउने छलफल भइरहँदा अब अरू सरकारले सञ्चार माध्यम सञ्चालन गर्छन् भने त्यो महासंघका लागि स्वीकार्य हुँदैन’ पोखरेलले भने, स्थानीय तहले मिडिया सञ्चालन गर्न नहुने भन्दै यदि त्यस्तो नीति बन्दै छ भने त्यो सुधार गर्न आग्रह पनि गरे । सरकारले मिडिया चलाउने हैन उनले भने ‘स्थानीय स्तरमा रहेका मिडियाको प्रवद्र्धन गरौ ।’

पछिल्लो समय युट्युब लगायतका सोसल मिडियाका कारण मिडिया क्षेत्रलाई बदनाम गर्ने प्रवृत्ति देखिएको भन्दै उनले माध्यम प्रयोग गरेर मात्रै त्यो पत्रकारिता हैन, पत्रकारितामा निश्चित प्रक्रियाहरू सूचना संकलन, सम्पादन, सामाजिक उत्तरदायित्व पूरा गरेपछि मात्रै पत्रकारिता भन्न मिल्छ ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुशील बस्नेतले तुलसीपुरको भविष्य कस्तो भन्ने विषयमा उपमहानगरले ध्यान दिनुपर्ने बताए । उनले आगामी वर्षको नीति तथा कार्यक्रमलाई नागरिकको मौलिक हकसँग जोडेर बनाउन सुझाव दिए ।

पत्रकार गोकर्ण पौडेलले बजेट कार्यान्वयन नहुने योजनाहरूलाई विशेष ध्यान दिनुपर्ने बताए । उपमहानगरले ल्याएका कतिपय योजनाहरूको प्रभावकारी शुन्य र सोचेअनुसार कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ पनि उपमहानगरले ध्यान दिनुपर्ने बताए । उनले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने खालका योजनाहरूलाई पनि आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्नेमा जोड दिए । यस्तै पत्रकार बालाराम खड्काले सबै वडाहरूमा समान विकास नभएको र हालसम्म पनि स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताए ।

यसैगरी पत्रकार नारायण खड्का, खेमराज रिजाल, संगीत बस्याल, गणेश आचार्य, शर्मिला डिसी लगायतले सूचना तथा सञ्चार केन्द्रको सञ्चालन गरी पत्रकारहरूको क्षमता अभिवृद्धितर्फ स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

हालसम्म भएका विकास निर्माणका कामहरूको दूरदर्शीता नदेखिएको भन्दै दूरदर्शीतामा रहेर नीति तथा कार्यक्रमहरू ल्याउन सुझाव दिए । स्थानीय सरकारद्वारा सञ्चालित मेट्रो कलेजलाई कार्यकर्ता भर्ती केन्द्र बनाईएको भन्दै पारदर्शी ढगंले संरचना निर्माण तथा सञ्चालन गर्नुपर्ने बताए । सार्वजनिक जग्गा अतिक्रमण, माफिया जनप्रतिधि, फितलो सचिवालय लगायतका विषयमा सुधार गर्दै सोही अनुसारको नीति तथा कार्यक्रमहरू ल्याउन सुझाव दिए ।

सहभागीहरूबाट आएका सुझावहरूलाई संकलन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले नागरिक उत्तरदायीत्व भित्रै रहेर विकास निर्माणका कामहरू गर्दै आएको बताए । आफू जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आइसकेपछि मुलुकलाई दिशा दिने काम गरेको बताए । देशभरकै नमुना नगरका रूपले काम गर्न सक्ने नीति निर्माण, लोकतान्त्रिक सुदृढीकरण, सुशासन व्यवस्थापन, योजनाको नमुना परिक्षण लगायतका महत्वपूर्ण कामहरू गरिएको उनले बताए ।

‘जनप्रतिनिधि भएर यहाँसम्म आईपुग्दा हामीले गौरवपूर्ण काम गरेका छौँ त्यो निर्धक्क भन्न सक्छौँ’ उनले भने– ‘किनभने हामीले सञ्चालन गरेका कतिपय अभियानहरूको सिको गर्दै राज्यले त्यस्ता अभियानलाई राष्ट्रिय अभियान बनाएको छ, यो हाम्रो लागि गौरवको कुरा हो ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here