- Advertisement -spot_img
Monday, August 2, 2021
Homeविचारजलजलाको प्राकृतिक सुन्दरता

जलजलाको प्राकृतिक सुन्दरता

- Advertisement -spot_img

रोल्पा आन्तरिक एवं बाह्य पर्यटकहरूको लागि भ्रमण गर्न उपयुक्त धरातल मानिन्छ । ऐतिहासिक कोट, मौला, धार्मिक शक्तिपीठ, ऋषिमुनिहरूको तपस्यास्थल, प्राकृतिक डाँडाकाँडा र खाम जातिको बस्ती रोल्पामा पर्दछ । रोल्पा बाइसे÷चौविसे राजाहरूको पालादेखिको इतिहास खोज अनुसन्धान गर्नेहरूका लागि महत्वपूर्ण स्थल मानिन्छ । खाममगर भाषाको संस्कृतिसमेत अध्ययन गर्न सकिने हुँदा रोल्पा जिल्ला पर्यटकहरूको लागि उपलब्धिमूलकको यात्रा मानिन्छ ।

रोल्पा जिल्लामा ऐतिहासिक प्राकृतिक सम्पदा रहेको छ । रोल्पा जिल्लामा पर्ने जलजला पहाड अन्तर्राष्ट्रिय जगत्मा समेत चर्चित बनेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण जलजला पहाड रोल्पा जिल्लाको थबाङ गाउँपालिकामा पर्दछ ।

समुन्द्र सतहदेखि ३ हजार ५७६ मिटरको उचाईमा रहेको जलजला क्षेत्र थबाङ, मिरूल, धबाङ, जेलबाङ, र उवाको शिरमा पर्दछ । जलजला क्षेत्र जैविक विविधता र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मात्र नभएर पृथक र विशिष्ट ऐतिहासिक पहिचान बोकेको छ । जलजलाले सामाजिक, साँस्कृतिक, भाषिक तथा धार्मिक सम्पदालाई जीवित राख्दै आएको छ । जलजला क्षेत्र प्राकृतिक, धार्मिक, साँस्कृतिक र युद्घ पर्यटनको प्रचुर सम्भावना बोकेको पर्यटकीय गन्तव्य पनि हो ।

जलजला जैविक, प्राकृतिक र भौगोलिक विविधताको सम्पदाले भरिपूर्ण, अत्यन्तै मनमोहक सुन्दर पहाड हो । यो पहाडबाट सिस्ने हिमाल, पुथा हिमाल, धौवलागिरी, माछापुच्छ«्रे लगायतमा मनोरम हिमश्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ मौसम अनुसार प्राकृतिक रूपमा सयौं प्रजातिका फूलहरू वर्षभरी नै फुल्ने गर्दछन् ।

माघदेखि चैत्र–बैशाखसम्म लालीगुराँस, कवैं, चेमला, गन्दवैं, हाङ्गवै, जिलावैलगायत प्रजातिका फूलहरू भिरपहरा र वनैभरि ढकमक्क फुल्ने गर्दछ । जेठ, असारदेखि भदौ, असोजसम्म लेटपातवै, रथबिरथवै, बाक्राखुर्सानीवै, ढल्कनीवै, बिनजौरीवै लगायत विभिन्न प्रकारका बुकी फूलहरू समथल बुकी पाटनभरि रङ्गीबिरङ्गी फुलेको पाइन्छ ।

जलजला क्षेत्रमा लौठ सल्ला, धुपीसल्ला, सेतो गुराँस, भोजपत्र, चन्दन, चाँपलगायत ४०० भन्दा बढी प्रजातिका बोट विरूवाहरूका साथै बहुमूल्य जडीबुटीहरू पाइन्छ । जलजला क्षेत्रमा पदमचाल, समायो, चिराइतो, गुच्ची च्याउँ, सेतकचिनी, पाँचऔले, जटामसी, बिखमा लगायतका महत्वपूर्ण जडीबुटीहरू पनि पाइन्छ ।

त्यसैगरी रेडपाण्डा, मृग, चितुवा, बदेँल, बाघ, भालु, बाँदर, कस्तुरी, चितुवालगायतका २२ भन्दा बढी प्रजातिका स्तनधारी जनावरहरू जलजला क्षेत्रमा पाइन्छन् । यहाँ डाँफे, मुनाल, कालिज, लाटोकोेसेरो, ढुकुर, न्याउली, कोइली, सारस, सुगालगायत २०० भन्दा बढी प्रजातिका चराचुरूङ्गी समेत पाइन्छ ।

नेपाल एकीकरण हुनुभन्दा पहिला अहिले सल्यान जिल्लामा पर्ने कोटमौला, दामाचौर, बाफुखोला, पिपलनेटा, थारमारे, शिवरथ र कोटबारा गाविस र रोल्पा जिल्लामा पर्ने पाखापानी, जिनावाङ, राँक, घर्तीगाउँ र ओत गाविसहरूको एउटै रोल्पा थुम अथवा मौजा थियो । थुम भनेको पुरानो प्रशासनिक व्यवस्थामा खास गरेर पूर्वतिरको किरा“त क्षेत्रमा जमिनको तिरो उठाउने व्यवस्थाको आधारमा विभिन्न स्थानमा विभाजन गरिएको जमिन हो ।


जलजला पहाड पानीको प्रमुख स्रोत पनि हो । यहाँबाट सानाठूला गरी करिब ३९ वटा खोला नालाहरूको उत्पत्ति भएका छन् । माडी र लुङरी नदीको मुुहान पनि यही जलजला क्षेत्र नै हो । बग्दै जाने क्रममा तल पुगेर यो राप्ती नदीको रूपमा बन्दछ । यस क्षेत्रबाट थबाङतिर बग्ने गोङखोला, फिँभै, रिखोलालगायतका खोलाहरू सानीभेरीमा मिसिन्छ भने उवाखोला र जेलबाङबाट बग्ने खोला लुङरी खोला भएर बग्दछ । मिरूलतिर बग्ने जिबैखोला, बाङमा खोला र धबाङबाट बग्ने धाङसीखोला माडी भएर बग्दछ ।

जलजलाको भौगोलिक र प्राकृतिक सुन्दरता, बहुमूल्य जाडीबुटीहरू, बनजंगल, खानीजन्य पदार्थ, पानीको मुहान तथा खोलानालाहरू विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरूङ्गी यस क्षेत्रको सम्पदाहरू हुन् । यि सम्पदाहरू तथा प्राकृतिक स्रोत साधनहरू यस पहाडको वरिपरि बसोबास गर्ने आदिवासीहरूको जीवनयापन गर्ने मुख्यस्रोत पनि हो ।

साँस्कृतिक रूपमा जलजला क्षेत्र वरिपरि आदिवासी मगरहरूको बाक्लो बसोबास रहेको छ । यहाँका मगरहरूको भाषा, संस्कार, संस्कृति, रहनसहन र भेषभूषा पृथकखालको पाइन्छ । मौलिक र परम्परागत संस्कृतिमा रमाउने यहाँका मगरहरूले भूम्या नाच, नचाउरू नाच, ढिकु¥या नाच, छुरे पैस्यारू, मयुर नाच, सिंगारू नाच माघे सकराँती, राँके तिवार, दवारा नाचहरू मौलिक संस्कृतिहरू हुन् ।

जलजलालाई स्थानीय बासीहरूले गोङ वा गामागोङ भन्ने गर्दछन् । जलजला रोल्पाको मात्र नभएर सिंगो मुलुककै धरोहर मानिन्छ । ऐतिहासिक धार्मिक आस्थाको समेत केन्द्रबिन्दु जलजलाले जनयुद्धको समयमा निकै चर्चा पाउने गर्दथियो । आजभोलि रोल्पा पुग्ने मानिसहरू मध्ये धेरैजसो जलजला पुग्ने गर्दछन् ।

प्राकृतिक, धार्मिक, साँस्कृतिक र पर्यटकीयस्थलको पहिचान भएको जलजला पहाडको फेदीसम्म मोटर बाटो पुगेको छ । जलजला धार्मिकस्थल पनि हो । जलजलामा तीनवटा बराहका मन्दिर रहेका छन् । जसलाई कैलु बराह, बजु बराह र सहदे बराह भन्ने गरिन्छ । पौराणिक कथाअनुसार बाह्रभाइ बराहको जन्म धौलागिरीमा भएको र त्यहींबाट जलजला पहाडमा २२ बहिनी बजुको आगमन भएको विश्वास गरिन्छ ।

जलजला पहाड मात्र होइन रोल्पामा सातदोबाटो, सखी, जंकोट, थुर्पा, टिलाडाँडा, गढिलेक समेतले रोल्पा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकहरूको मनै लोभ्याइ दिन्छ । थवाङ गाउँ पर्यटकहरूको लागि अति मनपर्ने गाउँ हो । बाक्लो गाउँ सबै मगर जातिहरूको बस्ती विगतको जनयुद्धसँग पनि थवाङ गाउँ जोडिएको छ । दाङको घोराहीदेखि होलेरी, तिला, थवाङ र चुनवाङ हुँदै रूकुम पुग्ने मोटर मार्ग जनयुद्धको समयमा जनताले निर्माण थालेका थिए ।

यो मार्गलाई पछि सहिद मार्गको नामाकरण गरिएको छ । जनताको श्रमसँग जोडिएको यस मार्गको इतिहासले पनि रोल्पा पुग्ने मानिसहरूको लागि नयाँ विषयको अध्ययनमा सहयोग पु¥याउँछ । रोल्पाका प्राकृतिक झरनाहरूमा तालावाङ्को लहरी खोला झर्ना, राँकमा भएको जायछहरा झर्ना र स्युरीमा भएको सुनछहारी झर्नाले पनि प्रकृतिप्रेमी मानिसहरूको लागि आकर्षणको केन्द्रबिन्दु बन्दछ ।

सुनछहारी झर्ना हेर्दा आकर्षक मात्र नभएर त्यहाँ सुनको खानी भएको मानिन्छ । पर्यटकको लागि यो अध्ययनको विषय बन्छ । राङकोेट, पाछावाङ र जेलवाङ पहाडी श्रृङ्खलामा फलाम खानी रहेको छ । अठार मगरातको बसोबास क्षेत्र रोल्पाको मगर बस्ती मगर भाषा अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण स्थल मानिन्छ ।

रोल्पाको लिवाङबाट थवाङ गाउँ हँुदै जलजला पहाडको अवलोकन गरी जेलवाङ, ऊवा, सेरम, धवाङ र मिरूल गाउँसमेत खाम मगरको बस्ती अवलोकन गर्न सकिन्छ । खाममगर बस्तीको अध्ययन गर्ने मानिसको लागि यसै मार्गबाट रूकुमको महत, हुँदै तकसेरा, हुकाम, मैकोटजस्ता खाम संस्कृति भएका गाउँमा पुग्न सकिन्छ ।

रोल्पा जिल्ला बाइसे, चौविसे राजाहरूको पालादेखि नै साना–साना राज्यमा विभाजन भएर आएको हो । भुरे टाकुरे राजाहरूको शासन कालमा रोल्पामा साना–साना थुम, मौजा र गाउँको पनि राज्यमा विभाजन थियो । भुरे टाकुरे राजाहरूको शासन कालमा जमिनको भूगोललाई थुम, मौजाजस्ता नामले नामाकरण गरिएको थियो ।

जमिनको उत्पादन नै राज्यको मुख्य स्रोत मानिन्थ्यो । मुखिया, तालुकदारजस्ता पदबाट जमिनको कर उठाएर राज्यलाई बुझाउने गरिन्थ्यो । नेपाल एकीकरण हुनुभन्दा पहिला अहिले सल्यान जिल्लामा पर्ने कोटमौला, दामाचौर, बाफुखोला, पिपलनेटा, थारमारे, शिवरथ र कोटबारा गाविस र रोल्पा जिल्लामा पर्ने पाखापानी, जिनावाङ, राँक, घर्तीगाउँ र ओत गाविसहरूको एउटै रोल्पा थुम अथवा मौजा थियो ।

थुम भनेको पुरानो प्रशासनिक व्यवस्थामा खास गरेर पूर्वतिरको किराँत क्षेत्रमा जमिनको तिरो उठाउने व्यवस्थाको आधारमा विभिन्न स्थानमा विभाजन गरिएको जमिन हो । यसैलाई पश्चिम भेगका भुरे टाकुरे राज्यले पनि यसको प्रयोगमा ल्याएको मानिन्छ ।

वि.स.२०१८ सालभन्दा अगाडि अहिलेको रोल्पालाई सातसय सखी, आठ हजार बुढागाउँ, नौ सय माडिखोला, बाइस खुवा, कालाशेष, र दार्मा थुमजस्ता नामले चिन्ने गरिन्थ्यो । २०१८ सालमा नेपालको प्रशासनिक क्षेत्र विभाजन गर्ने बेलामा प्यूठानका केही क्षेत्र रोल्पामा मिलाएर ३३ गाउँ पञ्चायत बनाइएको थियो ।

२०३२ सालमा क्षेत्र र जिल्लाको सिमाना हेरफेर गर्ने क्रममा पश्चिम रोल्पाको कोटमौला, दमाचौर, बाफुखोला, पिपलनेटा, थारमारे शिवरथ र कोटबारा सल्यान जिल्लामा र पाखापानी, जिनावाङ, राँक, घर्तीगाउँ र ओत रोल्पा जिल्लामा पर्न जाँदा रोल्पा थुमको भूगोल अहिले सल्यान जिल्लामा परेको छ ।

जिल्लाको सिमाना हेरफेर गर्ने क्रममा त्यही बेला सल्यान जिल्लाको आठ हजार उपल्लो जुँगार, गैरीगाउँ, आठ हजार बुढागाउँ, सात सय तल्लो नुवागाउँ, झेनाम, सात सय सैबाङ्, सातसय डुब्रिङ र प्यूठान जिल्लाबाट खुंग्री, घोडागाउँ र मसिना रोल्पा जिल्लामा मिलाएर अहिलेको रोल्पाको भूगोल बनाइएको थियो । रोल्पाको बारेमा अध्ययन, अनुसन्धान गर्न रोल्पा खोज्दै गयो भने आजभोलि सल्यान जिल्लामा पुग्नुपर्दछ ।

रोल्पाको पुरानो इतिहास खोज्दै जाँदा गजुलसम्मको भुरे टाकुरेशासन काल भेट्टाउन सकिन्छ । आफ्नो राज्यमा राजा नभएको र गजुलका मानिसहरूले राजगुण भएको व्यक्ति राजा बनाउनको लागि खोजिरहेका थिए । गाउँलेको निर्णय अनुसार गाउँमा रहेको चौतारीमा जो मानिस फेटा बाँधेर आएर बस्दछ उसैलाई राजा बनाउने आन्तरिक निर्णय समेत गरेका थिए । एकदिन गाउँलेहरू मिलेर चौपारी नजिकै पोखरी खन्ने काममा लागेका थिए । त्यही समयमा एकजना मानिस ठूलो फेटा बाँधेर चौपारीमा बसेको देखे ।

सोध्दा, खोज्दा उनी जारकोट जक्तिपुरका राजा तुथासेन रहेछन् । आफ्नो भाइको मृत्युपछि गाउँलेहरूले भाइ बुहारीलाई श्रीमती (रानी) को रूपमा स्विकार्न अनुरोध गरेछन् । त्यो कुरा उनलाई सैह्य भएनछ ।

भाइ बुहारीलाई रानीको रूपमा स्विकार्न पर्ने भएपछि उनले आफ्नो राज्य ब्राह्मणलाई दान गरी मुक्तिनाथ जान हिडेका रहेछन् । उनको कुराबाट गजुलका मानिस सन्तुष्ट भएछन् । सबैको निर्णयबाट उनै तुथासेनलाई नै राजा बनएछन् । त्यसबेला गजुल गाउँको वरपर १८ वटा राज्य रहेछन् । यो नै रोल्पाको पुरानो राज्यको इतिहास हो ।

रोल्पा जिल्ला अठार मगरातको बसोबास क्षेत्र मानिन्छ । रोल्पाका मगर जातिहरूले खाम भाषा बोल्दछन् । रोल्पा पनि स्थानीय भाषामा राखिएको नाम हो । रोल्पालाई खाम भाषामा उताको बस्ती भनिन्छ । खाम भाषीहरूको बाहुल्यता भएको कारण रोल्पाका गाउँ, ठाउँ र अधिकांश स्थानको नामको पछाडि वाङ शब्द जोडिएको छ ।

खाम भाषामा वाङ अर्थ हुन्छ–चौर । सदरमुकाम लिवाङ पनि खाम भाषामा नै रहेको छ । लि भनेको बाँस र वाङ भनेको चौर हुने हुँदा यसको अर्थ हुन्छ– बाँसको चौर । कुनैबेला लिवाङमा बाँसको चौर भएको हुनुपर्दछ भन्ने अनुमान गर्न सकिन्छ ।

रोल्पाको भूगोलमा मानव बस्तीको सुरूवात कहिलेबाट भयो भन्ने एकिन तथ्य फेला नपरे पनि हाम्रो धार्मिक शास्त्रले माण्डव्य नामका ऋषिको जन्म रोल्पाको जंकोट माडीचौरमा भएकोले नदीको नाम पनि माण्डव्य राखिएको छ । त्यसैगरी जुँगारमा जावाली ऋषिको जन्म, रोल्पाको रूम्टीमा स्वर्गद्वारी महाप्रभु हंसानन्द गिरीको जन्म भएको तपोभूमि मानिन्छ । रोल्पाको सबैभन्दा होचो स्थल लुंग्रीखोला र माण्डव्य खोलाको संगमस्थल हो । धार्मिक हिसावले यो स्थल अति महत्वका साथ लिने गरिन्छ ।

सतिदेवीको चौथो अंग पतन भएको जनविश्वाससमेत गरिने सो स्थलमा चतुर्भूज देवताको मन्दिर समेत रहेको छ । प्यूठान जिल्लाको सिमानामा रहेको चतुर्भूज मन्दिरमा शिवरात्री र माघेसंक्रातिमा ठूलो मेला पनि लाग्ने गर्दछ । रोल्पामा ऐतिहासिक धार्मिक महत्वको बारेमा मात्र नभएर सामाजिक, जनजाति र प्राकृतिक सम्पदाको बारेमा पनि अध्ययन अनुसन्धान गर्न सकिन्छ ।

अहिले आर्थिक विकासको मूल आधारको रूपमा रहेको पर्यटन क्षेत्रको विकासको लागि सबै जिल्लाले योजना बनाएका छन् । विदेशी मुद्रा आर्जन, रोजगारी बृद्धि र समग्र आर्थिक विकास तथा समुन्नतिका लागि पर्यटनको विकास गर्नुपर्दछ भन्ने कुरा पनि आएको छ । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि देशको आन्तरिक र बाह्य विविध पक्षहरूलाई सुरक्षित,

स्तरीय र भरपर्दो बनाउन पनि उत्तिकै आवश्यक छ । पर्यटन उद्योगलाई ग्रामीण तहसम्म पु¥याई साँस्कृतिक, प्राकृतिक, धार्मिक र पुरातात्विक सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गरी तिनीहरूको माध्यमबाट पर्यटकहरूलाई आकर्षण गर्न रोल्पा जिल्लामा भएका ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाको उचित संरक्षण र विकास गर्दै जानु पर्दछ ।

रोल्पालाई चिनाउन, आन्तरिक एवँ बाह्य पर्यटकहरूको आगमन गराउन खामजातिहरूको बस्तीमा होमस्टे सञ्चालनमा ल्याउनुपर्दछ । गाउँघरको सरसफाई, निर्माण भएका सडकको मर्मत सम्भार र अन्य ग्रामीण बस्तीहरूमा सडक सञ्जालको विकास गर्न जरूरी छ । गाउँमा नयाँ मानिसहरू पुग्दा खाने बस्ने सुविधा र सुरक्षाको ग्यारेन्टी हुनुपर्दछ ।

रोल्पा जिल्लाको पर्यटकीय विकास गर्न स्थानीय निकायहरूले यी विषयमा चासो राख्नुपर्दछ । अनि मात्र पर्यटनको विकास हुन सक्दछ । अनुकूल मिलाएर एकपटक रोल्पा जिल्लाको भ्रमण गरी रोल्पामा भएको प्राकृतिक सम्पदाको बारेमा अध्ययन, अनुसन्धान गर्दा अवश्य पनि उपलब्धिमूलक हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here