- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsखोपमा अनियमितता : जनप्रतिनिधिकै कारण जेष्ठ नागरिक बञ्चित

खोपमा अनियमितता : जनप्रतिनिधिकै कारण जेष्ठ नागरिक बञ्चित

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २९ जेठ । दाङमा पछिल्लो पटक सञ्चालन भएको खोप अभियान विवादित बनेको छ । जेष्ठ नागरिक लक्षित खोप अन्य उमेर समूहकाले लगाएपछि अहिले खोप अभियानको व्यापक आलोचना भएको छ । ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने भनिए पनि अन्य उमेर समूहकाले खोप लगाएपछि खोप अभियानको व्यापक विरोध भएको हो । अर्काेतिर जेष्ठ नागरिकहरूले सहजरूपमा खोप लगाउन पाएका छैनन् ।

विभिन्न व्यक्तिले जनप्रतिनिधिको आडमा खोप लगाएपछि अहिले खोप अभियानबारे व्यापक अलोचना भएको छ । बिहीबार स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै खोपमा निष्पक्षता हुन नसकेको बताएका छन् । ‘जाबो खोपमा निष्पक्षता दिन नसक्ने जनप्रतिनिधि, सुरक्षा संयन्त्र, कर्मचारीबाट नागरिकले कस्तो किसिमको अपेक्षा गर्नु ?’ उनले भनेका छन् ।

केही ठाउँमा अत्याधिक भिड र आवश्यकता अनुरूपको खोप नहुनु र केही स्थानमा स्थानीय जनप्रतिनिधि, नेताको स्वार्थ बाँझिदा खोप कार्यक्रम विवादित बनेको छ । केही जनप्रतिनिधिले आफन्त, पार्टी निकटका व्यक्तिलाई खोपमा प्राथमिकता दिएपछि लक्षित उमेर समूहका जेष्ठ नागरिकले खोप लगाउन पाएका छैनन् ।

कोरोनाविरूद्धको खोप शुरूमा आउँदा खोप नलगाएका जनप्रतिनिधिले नै पछिल्लो पटक जेष्ठ नागरिकका लागि लक्षित खोप आफन्तलाई लगाउन स्वास्थ्यकर्मीमाथि दवाव दिएको खुलेको छ । स्वास्थ्य कार्यालय प्रमुख शाहीले लेखेको स्टाटसले पनि पुष्टि भएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले पनि पहिले खोप लगाउन नमान्ने व्यक्तिहरूले खोपका लागि रोइलो गरेको उल्लेख गरेका छन् ।

बिहीबार स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै खोपमा निष्पक्षता हुन नसकेको बताएका छन् । ‘जाबो खोपमा निष्पक्षता दिन नसक्ने जनप्रतिनिधि, सुरक्षा संयन्त्र, कर्मचारीबाट नागरिकले कस्तो किसिमको अपेक्षा गर्नु ?’

‘पहिले कोरोना खोप लगाउन आउनुस् तपाईहरूको लागि खोप आएको छ भन्दा विभिन्न बहानाहरू देखिए, कसैले यो त परिक्षणमा आएको हो भन्ने हल्ला फैलाए, हामीलाई कुरा बुझाउन नै गाह्रो भयो, अधिकांशले मान्नु भएन, स्वास्थ्यकर्मी, कर्मचारी, चिकित्सक, जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी समेतले कसैले ज्वरो आएको छ, शरीर सञ्चो छैन, उच्च रक्तचाप छ, सुगर छ, धरै औषधि खाइरहेको छु भन्दै टार्नुभयो, लक्षित समूहलाई भनेर आएको खोप खपत नभएपछि सरकारले जेलमा रहेका बन्दीहरूलाई लगाउनुप¥यो ।

अहिले पहिले नै लक्षित समूहमा परी छुट हुनु भएका व्यक्तिले खोप लागि रोइलो गर्नु बेकार छ । ढिलाइ भए पनि सबैमा सचेतना आएकोमा सबैलाई धन्यवाद छ ।’ फेसबुकमा लेखेका छन् । यी लेखाईले स्वास्थ्यकर्मीहरूले निष्पक्ष काम गर्न नसकेको बुझिन्छ भने जनप्रतिनिधि र पहुँचवालाको दवाव देखिएको छ ।

दाङमा गतसाल माघ १४ गतेदेखि कोरोनाविरूद्धको खोप अभियान शुरू गरिए पनि त्यो समयमा खोप लगाउने मानिसको अभाव भएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए । शुरूमा खोप लगाउनका लागि हारगुहार गरेपनि करिब ६० प्रतिशत जनप्रतिनिधिले खोप नलगाएको तर अहिले खोप लगाउनका लागि उनै जनप्रतिनिधिको फोन आउने गरेको उनले बताए ।

‘जसले शुरूमा खोप लगाउन मानेनन्, उनै जनप्रतिनिधिले अहिले आफन्त त्यो पनि लक्षित उमेर समूहभन्दा फरक उमेर समूहका व्यक्तिलाई खोप लगाउन बारम्बार फोन गरेका थिए’ उनले भने– ‘सकेसम्म हामीले फोनको वास्ता गरेनौँ, कतिपय अवस्थामा स्वास्थ्यकर्मी र चिकित्साशास्त्रका विद्यार्थीले खोप लगाउँदा पनि अरूले लगाएकी भन्ने भ्रम पनि हुनसक्छ ।’

जनसंख्याको आधारमा खोप वितरण गरेको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले बताए । ‘लक्षित उमेर समूहभन्दा अरूलाई खोप नलगाउन भनेपनि केहि कतै छिट्फुट रूपमा लक्षितभन्दा फरक उमेर समूहका लगाएको हुन सक्छ’ उनले भने– ‘हामीले त्यसो गर्नु भनेको होइन्, हामीले त लक्षित उमेर समूहका व्यक्तिले लगाइसकेपछि बाँकी अरूलाई लगाउन सकिन्थ्यो भनेका हौँ, तर त्यसो हुन सकेन् ।’

जनप्रतिनिधिले आफन्तलाई खोप लगाउन सोर्स लगाएपछि व्यापक अलोचना भएको छ । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले जिल्लामा पछिल्लो पटक लगाएको खोपमा अनियमितता भएको गुनासो गरेका छन् ।

दाङमा दुई सय बढी खोप फिर्ता

दाङमा पछिल्लो पटक जेठ २५ र २६ गते सञ्चालन गरिएको खोप अभियानमा दुई सय बढी खोपहरू फिर्ता भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार २ सय ७० खोप फिर्ता भएका छन् । खोप लगाउन नपाएको गुनासो आएपनि खोप फिर्ता भएका छन् ।

जिल्लामा कुल ८ हजार प्राप्त खोपमध्ये ७ हजार ७ सय ३० जनाले खोप लगाएका छन् । जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिक, स्वास्थ्यकर्मी, चिकित्साशास्त्रका विद्यार्थी गरी ७ हजार ७ सय ३० जनाले खोप लगाएको कोरोना फोकल पर्सन चन्दले जानकारी दिए । उनका अनुसार घोराहीमा सबैभन्दा बढीले खोप लगाएका छन् ।

पछिल्लो पटक सञ्चालन भएको खोप अभियानमा घोराहीका २ हजार ५ सय ७८ जनाले खोप लगाएका छन् । त्यसैगरी तुलसीपुरमा २ हजार १ सय ३३, शान्तिनगरका ४ सय जनाले खोप लगाएका छन् । यस्तै लमहीका ७ सय १९, राप्ती गाउँपालिकाका ६ सय १४, बबईका ३ सय ८०, बंगलाचुलीका २ सय १०, दंगीशरणका ३ सय २०, गढवाका २ सय २० र राजपुरका १ सय ६ जनाले मात्रै खोप लगाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here