- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरब्वाई फ्रेन्ड

ब्वाई फ्रेन्ड

- Advertisement -spot_img

कुनैबेला यो रात सुन्दर सपनाले सजिएको कति आकर्षक लाग्थ्यो मलाई । साँझ पर्नासाथ आफ्नो बेडरूममा छिर्न मलाई ज्यादै हतार हुन्थ्यो । हत्त न पत्त म बेडरूममा छिरेर ढोका बन्द गर्थेँ अनि घण्टौँसम्म सजलसँग मेसेन्जरमा प्रेमिल गफ गरेर बस्थेँ ।

भोलिपल्ट कहाँ भेट्ने, कति बजे भेट्ने अनि कहाँ कहाँ घुम्ने, के खाने ? अनेक कुरा गथ्र्यौँ हामी । कहिल्यै नसकिने प्रेमका रसिला कुराकानीलाई बिट मार्न आ–आफ्नो बेडमा जानुअघि मेसेन्जरको जीवनहीन अनुहारमा किस गरेर हामी दुबै बिदा हुन्थ्यौँ । रातभर भविष्यको सुन्दर सपनाले सताउँथ्यो मलाई ।

सुरूका दिनहरूमा भेटघाट हुँदा हामी अनेकौँ गफ गथ्र्यौँ, हाँस्थ्यौँ, ठट्टा गथ्र्यौँ तर एकअर्कालाई स्पर्श गर्दैनथ्यौँ । आपसमा हामी नजिकिँदै गयौँ, मनका कुराहरू खुलस्त भन्न थाल्यौँ ।

दिन बित्दै जाँदा बाटोमा हिँड्दा पनि एकअर्काको हात समाउन थाल्यौँ, आपसमा अलिअलि ठेलठाल गर्न थाल्यौँ । छोटो अवधिमा नै सजलले मेरो पिठ्युँमा हात राखी आफूतिर तान्न थाल्यो । मलाई पनि उसको स्पर्श कता–कता मन पर्न थाल्यो ।

मेरो शरीरका विभिन्न अङ्गतर्फ उसको आकर्षण बढ्दै गयो । उसको रमाइलोपन र हाउभाउले गर्दा म पनि सजलप्रति उत्साहित हुन थालेँ र ऊ मेरो नजिक आउँदा म आनन्दको अनुभूति गर्न थालेँ । उसको स्पर्शबाट म झन् रोमाञ्चित हुन थालेँ र कतिबेला उसलाई भेट्न भनी म उसको फोनको व्यग्र प्रतीक्षा गर्न लागेँ । म उसलाई प्रेम गर्न थालेँ ।

ऊ मेरो ब्वाई फ्रेन्ड हो । सजल एउटा सम्पन्न परिवारको छोरा हो, ऊसँग खर्च गर्ने पैसाको अभाव छैन । उसलाई कुनै पारिवारिक नियन्त्रण छैन, ऊ स्वतन्त्र छ । हामी टाढाको एउटा होटलमा प्रायः भेट्ने गर्छौं र त्यहीँ गफगाफ गर्छौं, विभिन्न ठाउँमा घुमफिर गर्दै खाजा खाएर फर्कन्छौँ । सजल नाउँ गरेका ती युवक र मेरा बीचमा फेसबुकको मेसेन्जरमार्फत सम्पर्क बढ्दै गयो र यो भेटघाट निरन्तरतामा परिणत भयो ।

आज उसले होटलमा कोठा बुक गरेको रहेछ । हामी होटलमा पुग्ने बित्तिकै उसले भन्यो, ‘आज हतार नगरौँ है, कोठामा बसेर आरामसँग गफ गरौँ ।’ हामी सरासर कोठाभित्र पस्यौँ । उसले रूमभित्रै कफी मगायो र कफीको चुस्कीसँगै गफ गर्न लाग्यो । केही समयपछि ऊ अघि बढ्यो र मेरा छेउमा टाँस्सिएर बस्यो, मेरो हात समात्यो । मलाई ऊ मेरो नजिकको मान्छेजस्तो लाग्न थालेको थियो ।

उसले मेरो ओठमा ओठ जोड्दै भन्यो, ‘आइ लभ यु !’

उसका आँखा चञ्चल थिए र अनुहार चाहिँ हुरी आउनु अगाडि क्षितिजको बादलभित्रको रक्तिम आकाशजस्तो देखिन्थ्यो । ऊ मसँग टाँस्सिएर बस्यो, देब्रे हात मेरा पिठ्युँमा राख्यो र दाहिने हातका औँला मेरा हातसँग खेल्न थाले । एकैछिन गफ गरेजस्तो ग¥यो, उसका हात कता कता मेरा संवेदनशील अङ्गहरूमा सलबलाउन थाले ।
मेरा सारा अङ्ग प्रत्यङ्ग तरङ्गित भए । मभित्र एक प्रकारको जिज्ञासा, कम्पन, रोमान्स र आतुरी बोध भयो । मेरो शरीरको आवेग बढ्दै गयो र म उद्वेलित भई बेडमा पल्टिएँ । त्यसपछि उसले रूमको चुकुल लगायो र विध्वंसक आँधीझैँ बेडतर्फ हुर्रियो । केही समयपछि शिथिल भई हामी आ–आफ्नो घर फर्कियौँ ।

हामी दुबैबीचको शारीरिक सम्पर्क बढ्न थाल्यो । एकदिन मैले सजललाई भने, ‘हामी कति दिन यसरी लुकीछिपी बस्ने, अब छिटै बिहे गर्नुपर्छ ।’ उसले आलटाल गर्दै मेरो शरीरमाथि खेल्दै रमाइलो मात्र गर्न लागेको मलाई महसुस भयो । उसको र मेरो भनाभन हुन थाल्यो । झगडा बढेपछि ऊ तर्केर हिँड्न थाल्यो ।

मैले उसलाई पटक–पटक फोन गरेँ तर उसले कल रिसिभ गरेन । त्यसपछिका दिनहरू उसले मसँग सम्पर्क राख्न छोड्यो । फेसबुकमा अन्फ्रेन्ड गरिदियो, मेसेन्जरमा ब्लक गरिदियो । मैले मनमनै सोचेँ, ‘म तिमीलाई धेरै विश्वास गर्थेँ, कतै तिमीले ममाथि विश्वासघात त गरेनौ !’ धेरै रात भएपछि म बेडमा पल्टेँ तर ठ्याम्मै निद्रा लागेन । आफू नितान्त एक्लो भएको महसुस गरेँ । बेचैनीमै बल्लतल्ल रात कट्यो ।

अचेल मलाई रात पट्यारलाग्दो हुन थालेको छ । राति १२ बजेसम्म बस्दा पनि निद्रा पटक्कै लाग्दैन । ओछ्यानमा गएर पल्टिन्छु । निद्रा लाग्दैन, बरू निदाएको मानिसलाई पनि बिउँझाउने गरी चर्को स्वरले साइरन बजाउँदै अस्पतालतर्फ हुँइकिइरहेको एम्बुलेन्सको आवाज सुनिन्छ । आँखा चिम्म पारेर निदाउने प्रयास गर्छु निकै टाढा गाउँको खोलापारी स्याल रूँदै कुदेको आवाज आउँछ, छिमेकीको कुकुरसमेत घरिघरि रून्छ । कुनै बेला झपक्क हुन्छु र फेरि झसङ्ग भएर बिउँझिन्छु । म सजललाई निरन्तर सम्झिरहेकी छु ।

दिनभरको यौवन समाप्त भएपछि घाम पनि कतै लुक्छन्, धरती उज्यालो पार्ने टहटह जून पनि औँसीको दिन कता लुक्छन् कता ! मैले उसलाई भेट्ने प्रयास गरिरहेँ तर भेट्न सकिनँ । सजल मबाट ओझेल भयो । ऊ फेरि अरू नै कुनै केटीसँगको अफेयरमा रहेको कुरा मैले साथीहरूबाट थाहा पाएँ ।

मलाई लाग्यो युवतीहरू कति कमजोर हुँदा रहेछन् । मैले ऊसँग कसरी बदला लिन सक्थेँ र ! मैले त्यो कुरा सोच्न पनि सकिनँ । ऊप्रति मेरो घृणा जागेर आयो तर यो घटना मैले कसैलाई सुनाउने हिम्मत गर्न सकिनँ । आफ्नो गल्तीप्रति आफैँलाई धिक्कारेँ, पश्चात्ताप गरेँ र आफैँभित्र रोएर बसेँ ।

एकदिन बिहानै उठेँ र आँखा मिच्दै बैठकको टेबुलमाथि हेरेँ । दैनिक अखबार आइसकेको रहेछ । मन नलागी नलागी खबरहरूमाथि आँखा डुलाएँ । मेरो ब्वाई फ्रेन्ड त एउटी केटीसँग यौनकर्ममा सङ्लग्न भएको आरोपमा डान्सबारबाट समातिएछ र प्रहरीको फन्दामा पो परेछ । त्यस केटीलाई एउटा विदेशीले बिहे गर्छु भनी घर न घाटको बनाएपछि ऊ डान्सबारको शरणमा आएकी थिई र बाँच्नका लागि उसले त्यहाँ आफूले नचाहेको काम पनि गर्नुपथ्र्यो ।

कबुल गरेको रकम केटीलाई नदिई ऊ भाग्न खोजेको रहेछ । त्यस केटीले मलाई बलात्कार ग¥यो भनी प्रहरीमा उजुरी दर्ता गरेपछि उसलाई प्रहरीले पक्राउ गरी परिसर पठायो । अतीतको याद फेरि जुर्मुराएर बिउँझियो । एउटा कालो बिरालो उफ्रेर आयो र नजिकैको रातो गुलाबको फूलदान भुईँमा झा¥यो । फूलदान दुई फ्याक भयो । फेरि पनि मलाई कता–कता लागिरह्यो सजल मेरो ब्वाई फ्रेन्ड हो ।
– साहित्यपोष्टबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here