प्रदेश टुडे
तुलसीपुर, २६ जेठ । तुलसीपुर–४ मुलकोट स्थित चिउरेडाँडामा २५ केभिए क्षमताको विद्युत ट्रान्सफर्मर जडान गरिएको छ । वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)को पहलमा चिरेडाँडामा नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले उक्त विद्युत ट्रान्सफर्मर जडान गरेको छ ।
विद्युत प्राधिकरण तुलसीपुरको प्राविधिक टोलीले ट्रान्सफर्मर जडान गरेको मुलकोट टोल विकास संस्थाका अध्यक्ष रेखिराम पुनले जानकारी दिए । अहिले जडानको काम भएको र अबको केहि दिनमै लाईन सुचारू हुने उनले बताए । मुलकोटमै पहिलो पटक विद्युत ट्रान्सफर्मर जडान भएपछि अब बिद्युत लो भोल्टेजको समस्या अन्त्य भएको उनले बताए । दाङ–सल्यान विद्युत प्रशारण लाईन अन्तर्गत पैयाखोरे, खमारी हुँदै मुलकोटसम्म लाईन जडान गरिएकोमा बिद्युत भोल्टेज लो हँुदा समस्या हुने गरेको थियो ।
विद्युत भोल्टेज लो हँुदा सोलारबाट लिफ्टिङ गरी मुलकोट जुम्लेटाकुरा खानेपानी विस्तार गरिएको छ । तर अहिले मोटर बिग्रिएको हँुदा खानेपानी अबरूद्ध भएको उनले बताए । यस अघि पैयाखोरेमा १५ केभिए क्षमताको विद्युत ट्रान्सफर्मर राखिएको छ । अहिले मुलकोटमा छुट्टै अर्को ट्रान्सफर्मर जडान भएपछि आफूहरू खुशी भएको उनको भनाई छ ।