तुलसीपुर, १८ बैशाख । कोरोना विषेश अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव भएको छ । संक्रमित बिरामी बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले अस्पतालाई १ सय बेडको बनाउने निणर्य गरेपनि अक्सिजन अभावमा अहिले ५० बेडमात्रै संचालन भएका छन् ।
अक्सिनको पर्याप्तता भएमा १०० बेड संचालन गर्न सकिने अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
अस्पतालमा अहिले दैनिक १२० सिलिण्डर अक्सिन खपत हुने गरेको उनको भनाई छ । आज रातीसम्ममा अक्सिजन नआएमा भर्ना भएका बिरामीलाई पनि समस्या हुने उनले बताए ।
अस्पताललाई सय बेडमा संचालन गर्नका लागि दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक वलीले बताए ।
अक्सिजनको पर्याप्तता गर्न सकेपछि जनशक्तिको व्यवस्थापनमा समस्या नहुने उनको भनाई छ । ‘बिरामी राखेरमात्र के गर्नु , अक्सिजन छैन्’ उनले भने-‘यदि अक्सिजनको व्यवस्था गरिदिएमा जनशक्तिको व्यवस्थापन तुरुन्त हुन्छ ।’
अस्पतालाई आवश्यक जनशक्तिको लागि आइतबार (भोलि) नै विज्ञापन खोल्न लागेको उनले जानकारी दिए।
अस्पतालमा पछिल्लो समय संक्रमित थपिदैँ गर्दा अक्सिजन अभावमा उपचार गर्न समस्या भएको हो ।
‘अक्सिजन भएपछि बिरामीलाई भर्ना गर्न ठुलो कुरा भएन्, तर अक्सिजन नै छैन्’ उनले भने- ‘पछिल्लो समय संक्रमित बिरामी अस्पतालमा भर्ना हुनका लागि आफन्तको फोन आउँदा पनि के जवाफ दिने भन्ने चिन्ताको विषय हुन्छ ।’
अस्पतालमा शुक्रबारमात्रै ४२ जना बिरामी रहेकोमा आज बढेर ५० जना पुगेका छन् । बेड अभावमा अस्पतालले भवन बाहिर बरण्डा र कोलियामा राखेर बिरामीको उपचार गरेको थियो ।
पछिल्लो समय अस्पतामा बेड संख्या बढाउने निणर्य भएको तर आवश्यक अक्सिजन पाउन नसकेको व्यवस्थापक वलीले बताए ।