उमा भण्डारी
तुलसीपुर, १७ बैशाख । बैशाख महिनाको चर्को घाम । धुलोधुँवा र सडक पेटीमा दिन काटिरहेकी महिला । उमेरले ३७ वर्ष नाघेकी उनलाई न आफ्नो नाम थाहा छ, न त ठेगाना । मात्र उनलाई आफ्नो उमेर थाहा छ । मनोरोगी उनी त्यसैमाथि गर्भवती । न त उनलाई कसैले माया दियो, न त स्याहारसुसार नै । बेसहारा र बौद्धिक अपाङ्ग उनी गर्भमा रहेको सन्तान कस्को हो ? त्यो पनि भन्न सक्दिनन् ।
भोक, प्यास र स्याहारको अभावमा हिँडिरहेकी उनलाई त्यो एकसाँझ जसले उनको बाटो मोडिदियो । त्यो एकसाँझ जसले नयाँ जीवन दियो, सहारा, माया दियो । बस्ने घर र आफूलाई हेरचाह गर्ने आफन्तहरू दियो ।
उनलाई आश्रय दिने, माया दिने र सडकपेटीबाट उठाउने उनका आफन्त, घरपरिवार भने होइनन् । तर घरपरिवार भन्दा कम पनि छैनन् । तुलसीपुरमा भर्खरै स्थापना भएको मानव सेवा आश्रम सञ्चालन गर्दै आएका सेवकहरू जसले उनलाई नयाँ जीवन र एउटा परिचय दिए । सडकबाट उठाउँदा एक्ली उनी अहिले उनको साथमा एउटा छोरी समेत छिन् । जसले त्यही आश्रममा जन्म लिइन् र त्यही हुर्किरहेकी छन् ।
गर्भवती अवस्थामा सडक पेटीबाट उठाएर मानव सेवा आश्रममा राखिएको केहीदिनमै उनले छोरीलाई जन्म दिइन् । अहिले उनी २० दिनको सुत्केरी हुन् । आश्रमको माया, औषधी उपचार र स्याहारले अहिले उनमा केही परिवर्तन देखिएको छ । आफूलाई ‘काली कि आमा’ भनेर कसैले बोलाउँदा उनी निकै खुशी हुने गर्दछिन् । किनभने आश्रमका सेवकले राखिदिएको उनकी छोरीको नाम काली हो ।
भोक, प्यास र स्याहारको अभावमा हिँडिरहेकी उनलाई त्यो एकसाँझ जसले उनको बाटो मोडिदियो । त्यो एकसाँझ जसले नयाँ जीवन दियो, सहारा, माया दियो । बस्ने घर र आफूलाई हेरचाह गर्ने आफन्तहरू दियो ।
भारतको गोरखपुर आफ्नो घर बताउने क्रान्ति पनि सडक पेटीबाटै उद्धार गरिएकी महिला हुन् । तुलसीपुर बसपार्क क्षेत्रमा झुत्रा र फोहोर लुगाको भारी बोकेर हिँडिरहेको अवस्थामा उनलाई मानव सेवा आश्रमले उद्धार गरेर संरक्षित गरेको छ ।
नाम, ठेगाना बताउन नसक्ने अवस्थाबाट गुज्रिएकी क्रान्ति अहिले धेरै कुराहरू बोल्न सक्ने, परिवारको बारेमा जानकारी दिन सक्ने र कितावमा लेखेका कुराहरू पढेर सुनाउन सक्नेसम्म भएकी छन् । माया र स्नेहको अभावले गर्दा मनोरोगी बन्दै गएकी क्रान्तिमा आश्रमको बसाइले सकारात्मक परिवर्तन आइरहेको छ ।
सडकपेटीबाट उठाएर ल्याउँदा अस्वभाविक क्रियाकलाप तथा गतिविधिहरू देखाउनेहरूमा क्रमिक रूपमा सुधार आउँदै गरेको मानवसेवा आश्रम तुलसीपुर शाखाका संयोजक उर्वीन सापकोटाले बताए । विभिन्न कारणले घरपरिवार बिहीन भएका उनीहरूलाई स्याहारसँगै औषधी उपचारसमेत गर्ने भएकाले व्यवहारमा परिवर्तन हुँदै गएको उनले बताए । ‘हामीले उहाँलाई खाना, नाना, माना र स्वास्थ्य उपचारको व्यवस्था गर्ने गरेका छौँ’ उनले भने ।
एकमहिना अघि आश्रमको कान्छो शाखाको रूपमा तुलसीपुर स्थापना भएको उक्त आश्रममा सडकपेटीबाट उठाईएका १७ जना असहाय र बेसारा व्यक्तिहरू रहेका छन् ।
जसमध्ये सातजना मनोरोग भएका व्यक्तिहरू छन् भने एकजना गर्भवती र एकजना सुत्केरी महिला समेत छिन् । वि.सं २०६९ सालमा स्थापना भएको मानवसेवा आश्रम अहिले १६ जिल्लामा २५ वटा शाखा विस्तार गरी असहायहरूलाई सेवा गर्दै आएको छ । २५औँ शाखामध्ये कान्छो शाखाको रूपमा तुलसीपुर रहेको उनले बताए ।
आश्रममा सामाजिक अभियान्ता र दाताहरूबाट जुटेको सहयोगले काली कि आमा र क्रान्तिजस्ता व्यक्तिहरूको आश्रय लिइरहेको उनले बताए । उनका अनुसार आश्रममा कोही परिवार र आफन्ती गुमाएका छन्, कोही मानसिक सन्तुलन गुमाएका छन् ।
प्रकाश गौतम अहिले मानव सेवा आश्रममा मानव सेवकको रूपमा सहयोग गर्दै आएका छन् । उनको घर बाग्लुङ जिल्ला पर्दछ । एकवर्ष अघि प्रकाश बुटवलमा मजदुर गरेर जीविकोपार्जन गर्ने गर्दथे । एकदिन काम गर्दैगर्दा उनको खुट्टामा ठूलो चोट लाग्यो जसका कारण उनलाई हिँडडुल गर्न गाह्रो भयो ।
सँगै काम गर्ने साथी र आफन्तीहरू नजिक नहुँदा उनी त्यस रात भोकै सडकमा बसिरहेका थिए । भोकोपेट र घाइते अवस्थामा सकडमा रात बिताइरहेका उनलाई मानव सेवा आश्रम लिएर गयो । उनको स्याहार, उपचार, गाँस, बासको व्यवस्था ग¥यो ।
मानव सेवा आश्रमले गरेको व्यवहार र सहयोगले प्रकाशको मनलाई छोयो र उनी त्यही सेवा गरी बस्ने निर्णय गरे । मानव सेवा नै सबैभन्दा ठूलो कर्म हो भन्ने महसुस भएपछि आफू त्यही संस्थामा सेवकको रूपमा काम गरिरहेको उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाईडहरमा रहेर उक्त संस्थाले विगत एक महिनादेखि असहायहरूको खोजी गरी उनीहरूलाई सहारा दिने, खानपान र स्वास्थ्य उपचार उपलब्ध गराउने र परिवारहरूको खोजी गरी उनीरूलाई परिवारमा पुनस्र्थापना गर्ने काम गर्दै आएको छ । यस वर्ष नेपाललाई सडक मानवमुक्त बनाउने उद्देश्यले आफूहरूले सडक मानवहरूको खोजी गरी उनीहरूलाई उद्धार एवं परिवारमा पुनस्र्थापना गर्दै आएको उनले बताए ।
हालसम्म देशभरका करिब ६ हजारजनालाई सडकमुक्त गरिएको छ भने जसमध्ये दुई हजार बढीलाई परिवारमा पुनस्र्थापना गरिएको छ । आश्रमलाई अहिले सहयोगी मनहरूकाहरूको सहयोगबाट सञ्चालन भइरहेको भन्दै मासिक तुलसीपुर शाखा सञ्चालनका लागि ४ लाख रूपैयाँ खर्च लाग्ने गरेको सापकोटाको भनाई छ । हाम्रो संस्था सबैको सहयोगबाट चलेको छ, सहयोगी दाताहरूको खोजीमै छौँ ।