प्रचण्ड खत्री रुकुम पश्चिम,१५ वैशाख ।
यतिवेला कोरोना भाइरसको संक्रमणले सबैक्षेत्र भयावह अवस्थामा छ । संक्रमणको डर र त्रास बढिरहेको समयमा रुकुम पश्चिममा भने पिसीआर परिक्षण गर्ने प्रयोगशाला बन्द भएको छ ।
पिसीआर परिक्षणको दायरा बढाउनुपर्ने, उपकरणहरु गरी संक्रमितहरुको उपचारको उचित व्यवस्थापन गर्नुपर्ने समयमा भएको उपकरण बन्द गर्दा स्थानीयहरु थप त्रसित बनेका छन् । जिल्लाको चौरजहारी नगरपालिकामा रहेको पिसीआर परिक्षण प्रयोगशाला बन्द भएपछि समुदायमा कोरोना महामारीले थप भयावह अवस्था ल्याउन सक्ने जोखिम बढेको छ ।
प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्तिको व्यवस्था नहुँदा पिसीआर परिक्षण गर्न नसकिएको चौरजहारी नगरपालिकाले जनाएको छ ।
बन्द भएको प्रयोगशाला सञ्चालनमा ल्याई पिसीआर परिक्षण सुरु गर्न पहिल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । प्रदेश सरकारले मेसिन खरिदमा सहयोग गरेपनि त्यसको व्यवस्थापन र सञ्चालनका निम्ती कुनैपनि शिर्षकमा बजेटको व्यवस्थापन नगरेको उनले बताए । बढ्दो कोरोना महामारीको अवस्थालाई ध्यानमा राखेर राज्यले भएका उपकरणहरु सञ्चालनमा ल्याउने , परिक्षण दायरा बढाउने र संक्रमितहरुको उपचारमा गम्भीर बन्नुपर्ने भएपनि त्यसतर्फ ध्यानदिन नसकेको उनको भनाई छ ।
गतवर्ष असार महिनामा प्रदेश सरकारको सहयोगमा चौरहजारी नगरपालिकाले एककरोड २३ लाखको लागतमा उक्त मेसिन खरिद गरेर ल्याएको थियो । खरिद गरिएको मेसिन वडा नं. २ मा रहेको जिल्ला आयुर्वेदिक कार्यालयमा पिसिआर परिक्षणका लागि प्रयोगशाला स्थापना गरी राखिएको थियो । मेसिन खरिदका लागि लागेको खर्चमध्ये ८६ लाख २२ हार रुपैयाँ कर्णाली प्रदेश सरकारले अनुदान दिएको थियो ।
करोडौँको रकम खर्च गरेर स्थापना गरिएको प्रयोगशाला बन्द भएपछि अहिले बिरामीहरुको स्वाब संकलन गरेर प्रदेश अस्पतला सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज लगायतका विभिन्न प्रयोगशालामा पठाउने गरिएको छ ।
प्रयोगशाला सञ्चालन हुँदा सल्यान, जाजरकोट , रुकुम पश्चिम र डोल्पा लगायतका विभिन्न क्षेत्रमा नागरिहरुले सेवा लिने गरेका थिए । अत्यावश्यक परेको समयमा भएको प्रयोगशाला प्रयोगिविहिन हुँदा समयमै स्वाब परिक्षण गर्न सकिएको छैन । भने कोरोनाको त्रास समुदायमा थप बढ्दै गएको छ ।