रोल्पा , १५ बैशाख ।
रोल्पामा भिषण आगलागीबाट एउटा गाउँ नै सखाप भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर दुईको पिराले भन्ने गाउँमा मंगलबार राती आगलागीबाट ४६ घरगोठ जलेर नस्ट भएका छन् । बनको बिचमा रहेको गाउँमा बनबाट फैलिएको आगोले गाउँमा २४ घर, ४ वटा भान्छा घर र १८ वटा गोठ जलेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए ।
सामुदायिक बनमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगो नियनन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी , जनप्रतिनिधि निरन्तर लागेपनि बनको ठुलो क्षेत्रफलमा आगो लागेका कारण आगो नियन्त्रण गर्न चुनौति रहेको अध्यक्ष वलीले जानकारी दिए । क्षतिको एकिन विवरण आउन अझै बाँकी रहेको छ । आगोबाट अरु घर पनि जोखिममा रहेको उहाँले बताए ।
आगोले १० बाख्रा, सात वटा गाइ गोरु, सुंगुर १ वटा जलेर नष्ट भएको वडा नम्बर २ का वडा अध्यक्ष कबिराज बुढामगरले जानकारी दिए । आगो साविक नुवागाउँ गाविसको वडा नम्बर १, २, ३ र ४ मा फैलिएको उनको भनाई छ । आगो अझै नियन्त्रणमा आउन नसकेको र रामपुर, दहबन लगायतका गाउँ जोखिममा रहेको उनले बताए । सोमबारदेखि फैलिएको आगा टुनिखोला सामुदायिक बन, मुलाबारी सामुदायिक बन, रामपुर सामुादायिक बन, सल्लेरीडाँडा सामुदायिक बन र ठाडो लेख सामुदायिक बनक्षेत्र फैलिएको छ ।
आगोले घरगोठ जलेपछि ४५ बढी घरपरिवार खुल्ला आकासमुनि बस्न बाध्य भएका छन् । गएराती आगलागी पिडितलाई चाउचाउ वितरण गरिएको र वुुधबार चामल , लत्ताकपडा वितरण गरिने भएको छ । लिबाङबाट प्रमुख जिल्ला अधिकारीसहितको टोलि घटनास्थलमा आउन लागेको उनले बताए ।