उमा भण्डारी दाङ,१३ वैशाख
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा एक वर्ष अघि शुभारम्भ गरिएको आइसियु सेवा सञ्चालन हुन सकेको छैन । दुई करोड मुल्य बराबरको आईसीयु मेसिन प्रतिष्ठानमा ल्याएर सेवाको सुभारम्भ गरे पनि अहिले प्रयोग विहिन भई थन्किएको छ ।
सेवा सुरु भयो भनेको एकवर्ष वितिसक्दा पनि विभिन्न कारण देखाउँदै प्रतिष्ठानले आईसीयु मेसिन सञ्चालनमा ल्याएको छैन । नेपाली चिकित्सकहरुको संस्था नेपाल अमेरीकन फाउण्डेसन मार्फत प्राप्त भएको आईसीयु मेसिन स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रष्तिष्ठानलाई उपलव्ध गराएको थियो । आईसीयु मेसिन नहुँदा विरामीहरुको उपचारमा थप समस्या भएको भन्दै प्रतिष्ठानले आइसियु मेसिनको माग गरेपछि मन्त्रालयले करीव दुईकरोड बरावरको आइसीयु मेसिन प्रतिष्ठानलाई उपलव्ध गराएको थियो ।
आइसियु मेसिन वि.सं २०७७ वैशाख ४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले धुमधामका बीच उद्घाटन गरेका थिए । तर त्यसले अहिले समम सेवा दिन सकेको छैन । अहिले उक्त मेसिन प्रयोग विहिन अवस्थामा छ । मेसिन सञ्चालन गर्नका लागि चाहिने पुर्वाधारहरु बजेट नहुँदा व्यवस्थापन हुन नसकेको प्रतिष्ठानले दावी गर्दे आएको छ ।
बिरामीहरुको स्वास्थ्य उपचारका लागि भन्दै प्रतिष्ठानमा भित्र्याइएको मेसिन सञ्चालनमा नआउँदा विरामीहरु उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् । ंसरकारले उपलव्ध गराएका उपकरणहरु समयमै सञ्चालनमा नआउँदाको असर र त्यसको प्रभाव बिरामीहरुले भोग्नुपरेको छ । सरकारी अस्पतालमा भएका उपकरणहरु प्रयोग विहीन अवस्थामा हुँदा विरामीहरु निजी अस्पतालमा चर्को मुल्य तिरेर स्वास्थ्य उपचार गराउन बाध्य छन् ।
आईसीयु मेसिन सञ्चालनका लागि सरकारले समयमै बजेट उपलव्ध नगराउँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुँदै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । पटक–पटक सरकारलाई आईसीयु मेसिन सञ्चालन गर्नका लागि चाहिने पुर्वाधारको व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिदिन अनुरोध गरेपनि सरकारले बजेट नँदिदा प्रतिष्ठानको आईसीयु सेवा सञ्चालन गर्न नसकेको प्रतिष्ठानका कायममुकायम रजिष्टार झँकार लामिछानेले बताए ।
‘हामीलाई आईसीयु मेसिन सञ्चालन गर्नका लागि पर्याप्त अक्सिजन हुन जरुरी हुन्छ, उनले भने–‘ अक्सिजन प्लान्ट जडान नहुनदा सम्म यो सोवा सञ्चालनहु समस्या छ । तर प्रत्येक मिटिङमा अक्सिजन प्लान्टका लागि बजेट चाहियो भनेर माग गरेपनि समयमा बजेट दिएन, त्यसैले ढिलो भएको हो ।’ लामिछानेले भने ।
आईसीयु मेसिनलाई प्रयोगमा ल्याउनका लागि भेन्टीलेटर, लिफ्ट, ¥याम, अक्सिजन प्लान्ट लगायतका पूर्वाधार आवश्यक पर्छ । त्यो पूर्वाधार नहुदा आईसियु मेसिन सञ्चालनमा केहि ढिलाई भइरहेको उनले बताए । अबको केहि समयभित्रमा नै उक्त मेसिन सञ्चालनमा आउने बताए ।
प्रतिष्ठानले एकवर्ष अघि देखि नै अक्सिजन प्लान्ट निर्माण गरी आईसीयु सञ्चालन गर्ने योजना राखेको थियो । योजना सम्पन्न गर्न प्रतिष्ठानले धैरैपटक सरकारसंग आवश्यक बजेट समेत माग ग¥यो । तर प्रतिष्ठानको उक्त माग सरकारको योेजनाभित्र परेन । यसवर्ष भने प्लान्ट निर्माणका लागि सरकारले बजेट उपलव्ध गराएको छ ।
बजेट उपलव्ध भएसगै उक्त योजना प्रकृयामा समेत गइसकेको प्रतिष्ठानको भनाई छ । प्रतिष्ठानका कायममुकायम रजिष्टार लामिछानेका अनुसार पटक–पटकको अनुरोध पछि सरकारले यसपटक अक्सिजन प्लान्टका लागि दुईकरोड ५० लाख रुपैयाँ बजेट उपलव्ध गराएको छ । बजेट उपलव्ध भएसंगै अक्सिजन प्लान्टका लागि आवश्यक मेसिन खरिद पक्रृयामा रहेको छ । भने प्लान्ट सञ्चालनका लागि चाहिने भवन समेत निर्माण भइसकेको छ ।
युरोपियन राष्ट्रहरुबाट अक्सिजन प्लान्ट मेसिन ल्याउनुपर्ने भएकाले मेसिन ल्याए र आईसीयु सेवा सुरु गर्न समय लाग्ने भएको हो । मेसिन आएलगत्तै सबै प्रकृया पुरा गरी प्रतिष्ठानले आईसीयु सेवा सञ्चालन गर्ने छ ।
यसैगरी आईसीयु सञ्चालनका लागि जनशक्तिको समेत अभाव भएको प्रतिष्ठानले जनाएको छ । अहिले प्रतिष्ठानमा १० वेडको आईसीयु सेवा सञ्चालनमा छ । जहाँ दुईजना मात्र मेडिकल अधिकृत मात्र छन् । पर्याप्त मात्रामा विशेषज्ञ चिकित्सक, तालिम प्राप्त नर्सहरु समेत छैनन् ।