उमा भण्डारी दाङ,७ वैशाख ।
कोरोना व्यवस्थापनका लागि दाङका स्थानीय पालिकाहरूले १६ करोड ४२ लाख ८५ हजार ८ सय १६ रूपैयाँ रकम खर्च गरेका छन् । पहिलो चरणमा कोरोना प्रभाव सुरू भएपछि जिल्लाका १० स्थानीय पालिकाहरुे उक्त रकम खर्च गरेका हुन् । पालिकाहरूले अस्पताल निर्माण, क्वारेन्टाइन ब्यवस्थापन एवं सञ्चालन, सामग्री एवं औषधी खरिद, एम्बुलेन्स सञ्चालन, राहत वितरण, अनुदान, जोखिम भत्ता लगायतका शीर्षकमा कोरोना खर्च देखाएका छन् । केही स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन सञ्चालनमा समेत ल्याएको विवरण खर्चमा देखाएका छन् । पालिकाहरुले करीव ५ करोड १० लाख नौँसय १८ रुपैयाँ क्वारेन्टाइन एव. आईसोलेसन सञ्चालन र व्यवस्थापनमा खर्च गरेको देखाएका हुन् ।
कोरोना महामारी नियन्त्रण, कोरोना संक्रमितहरुको उचित व्यवस्थापन र उपचारका लागि पालिकाहरुले क्वारेन्टाइन निर्माण गरेका हुन् । क्वारेन्टाइन निर्माण र व्यवस्थापनका लागि सबैभन्दा बढी रकम खर्च गरेका हुन्
पालिकाहरूले कोभिड–१९को प्रकोप नियन्त्रणअन्तर्गत सबैभन्दा बढी रकम क्वारेन्टाइन सञ्चालन व्यवस्थापनमा खर्च गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा लागि मात्रै एक करोड ४५ लाख ३९ हजार रूपैयाँ बजेट खर्च गरेको छ ।
क्वारेन्टाइन व्यवस्थित भएमा मात्र कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न सकिने भएकाले पालिकाले क्वारेन्टाइन व्यवस्थापनमा सबैभन्दा बढी रकम खर्च गरेको तुलसीपुर उपमहानगरपालिकाको सुचना शाखाले जानकारी दिएको छ ।
यस्तै घोराही उपमहानगरपालिकाले क्वारेन्टाइन निर्माण, क्वारेन्टाइनमा आवश्यक सामग्री, खाद्यान्न लगायतको शीर्षकमा २६ लाख ७६ हजार ५ सय ४५ रूपैयाँ, लमही नगरपालिकाले वडास्तरीय क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन शीर्षकमा ३४ लाख ६६ हजार ७ सय ३२ रूपैयाँ खर्च गरेका छन् । खाद्यान्न, आवश्यक लत्ताकपडा, स्वास्थ्य सुरक्षा एवं सरसफाइका सामग्रीहरुको व्यवस्थापना गर्नुुपर्ने भएकाले क्वारेन्टाइनमा बढी रकम देखिएको घोराही उपमहानगरपालिकाले जानकारी दिएको छ ।
त्यस्तै राप्ती गाउँपालिकाले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनमा ४२ लाख ४२ हजार ६ सय १८ रुपैयाँ खर्च गरेको छ । दंगीशरण गाउँपालिकाले ९ लाख ८१ हजार ७ सय ४७ रुपैयाँ, बंगलाचुली गाउँपालिकाले क्वारेन्टाइन तथा आइसोलेसन सामग्री शीर्षकमा २५ लाख रूपैयाँ, राजपुर गाउँपालिकाले ९० लाख ६८ हजार ९ सय ३८ रूपैयाँ बजेट खर्च गरेका छन् ।
बबई गाउँपालिकाले विषयगत रूपमा नभई एकमुष्ठ रूपले एक करोड २५ हजार ३ सय ३८ रूपैयाँ खर्च गरेको गाउँपालिकाले जनाएको छ । शान्तिनगर गाउँपालिकाले ३५ लाख खर्च गरेको छ ।
कोरोना महामारी नियन्त्रण एवं रोकथामका लागि आवश्यक बजेट क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरिएको तुलसीपुर उपमहानगर–पालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए ।
क्वारेन्टाइनको उचित व्यवस्थापनले नै पहिलो चरणको कोरोना महामारीको संक्रमणलाई न्युनीकरण गरेको उपमहानगर पालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । शान्ति नगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले चाहिँ गाउँपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि पूर्णरूपमा कोरोना केन्द्रित हुँदा केही बढी बजेट खर्च हुनु स्वभाविक रहेको बताए ।