तुलसीपुर,२१ फागुन।
तुलसीपुर उपमहानगरपालिकाले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई साईकल वितरण गर्ने भएको छ । यसवर्षको १११ औँ अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर उपमहानगरले महिलाहरुको शसक्तिकरणका लागि पहिलो चरणमा दुईसय साईकल वितरण गर्न लागेको हो ।
किशोरीहरुको आर्थिक, सामाजिक ,सांस्कृति रुपान्तरण र साईकल सिटी निर्माणका लागि उपमहानगरले दिवसरको अवसर पारेर साईकल वितरण गर्न लागेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलमा नगरप्रमुख पाण्डेले तुलसीपुरलाई साईकल सिटीका रुपमा स्थापना गरी स्वच्छ र स्वस्थ नगर निर्माण गर्न सकिने बताए । बिशेषगरी सामुदायिक विद्यालयमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययन गर्ने किशोरीहरुलाई वितरण गर्न लागिएको उनले जानकारी दिए ।
उनका अनुसार तुलसीपुरका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने छात्राहरु करीव ५ हजारको संख्यामा रहेका छन् । त्यसमध्ये ३ हजार छात्राहरु आधाघण्टा वा सो भन्दा बढी समय हिँडेर बिद्यालय पुग्नुपर्ने बाध्यता रहेको छ । तर साईकल सिटी अभियानको सुरुवातीमा छात्राहरुको आवश्यकता र औचित्यलाई प्राथमिकतामा राखेर दुईसय साईकल वितरण गर्न लागिएको उनको भनाई छ ।
‘साईकल सिटी निर्माणका लागि हामीले सुरुवातीको समयमा दुईसयजनालाई साईकल दिने तयारी गरेका छौँ, उनले भने–‘ विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै यो अभियानमा सबै छात्राहरुको पहुँच पुग्ने छ ।’
साईकल वितरणलाई प्रभावकारी बनाउनका लागि उपमहानगरले आवश्यक मापदण्ड समेत तयार पारेको छ । साईकल लिने छात्राले कम्तिमा एसइई सम्म पढ्नुपर्ने, २० वर्ष नपुगि विवाह गर्न नपाईने, साईकलको दुरुपयोग गर्न नपाईने, साईकलको मर्मत संभार गर्नुपर्ने, स्थानीय सरकार, विद्यालय र अभिभावको त्रिपक्षीय सम्झौता हुनुपर्ने लगायतका विभिन्न मापदण्डहरु रहेका छन् ।
यदि कुनैपनि मापदण्ड पुरा नगरेमा उक्त साईकल उपमहानगरलाई फिर्ता गर्नुपर्ने उनले जानकारी दिए ।
तुलसीपुर उपमहानगपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको पत्रकार भेटघाटका अवसरमा गरेको कार्यक्रममा नगरप्रमुख पाण्डेले बालिकालाई आर्थिक तथा सामाजिक रुपमा शसक्त बनाउन उपमहानगरमा साइकल वितरण गर्न लागिएको बताए ।
तुलसीपुरलाई साईकल सहरका रूपमा विकास गर्ने उद्देश्यका साथ साईकले प्रयोग बढाउन अर्को वर्षदेखि साईकल बढी पुरस्कार वितरण गरिने नगरप्रमुख पाण्डेले बताए । तुलसीपुरलाई साईकल सिटीका रुपमा विकास गर्नका लागि आवश्यक पुर्वाधारहरु समेत निर्माण गर्दै जाने उपमहानगरको योजना रहेको उनले बताए ।
उपमहानगरले दिवसको अवसरमा स्मार्ट छोरी चेक हस्तान्तरण, मोबाईल एप्लिकेसन मोबाईल गेम सार्वजनिक गर्ने लगायतका कार्यक्रमहरु समेत तय गरिएको छ ।
तुलसीपुरमा अहिलेसम्म विभिन्न व्यक्ति तथा संघसंस्थाले ८७ वटा साईकल दिने प्रतिवद्धता जनाईसकेको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन् ।कार्यक्रम नगर उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको थियो