उमा भण्डारी दाङ,१६ फागुन ।
कोभिड–१९ का कारण दाङको ईट्टा उद्योग क्षेत्र आर्थिक संकटमा देखिएको छ । लामो समयसम्मको बन्दाबन्दीका कारण ईट्टा उत्पादन र कारोबार कम हुदा जिल्लामा रहेका ४२ वटा ईट्टा उद्योगहरुमा आर्थिक सुधार हुन नसकेको ईट्टा व्यवसायी महासंघका जिल्ला अध्यक्ष रोम बहादुर वलीले बताए ।
कोभिड–१९ का कारण करीव ६ महिनासम्म ईट्टाको कारोबार पुर्णरुपमा बन्द भएपछि उद्योगहरु पुरानै अवस्थामा फर्किन हम्मे–हम्मे परेको दाङ देउखुरी ईट्टा उद्योग व्यवसायी संघका सचिव प्रेमनाथ योगीले बताए । ईट्टाको माग बढ्ने समयमा करोडौँको कारोवार बन्द भएपछि बैकिंङ कर्जा लिएर व्यवसाय सञ्चालन गर्नुपर्ने वाध्य भएको बताए ।
लाखौँ रुपैयाँ लगानी गरेर उत्पादन गरिएको ईट्टा कोभिड–१९ का कारण समयमा बिक्रि गर्न नपाउँदा व्यवसाय घाँटामा गएको हुनमान ईट्टा उद्योग सञ्चालक मोहन घर्ती बताउँछन् । कोभिड–१९ले कामदार कटौती गर्नुपर्ने, कच्चा पदार्थको अभाव र पोलिएको सामान समेत थन्काएर राख्दा ६ महिनाको अवधीमा ६० लाख रुपैयाँ बराबरको कारोबार घाटाँमा गएको उनले बताए ।
‘कोरोना महामारीले हामी ईट्टा उद्योगीहरुलाई निकै मारमा पा¥यो, उनले भने–‘केहि समय आगो निभाएर बस्नुपर्ने अवस्था समेत सिर्जना भयो, अहिले ऋण लिएर काम गर्नुपरेको छ ।;
कोरोना महामारीका कारण उद्योग बन्द भएपछि पुनः सञ्चालनका लागि घर्तीले ग्लोवल आईएमई बैँक मार्फत ३ करोड रुपैयाँ ऋण लिएका छन् । पाँचसय जना कामदारहरुले नियमित रोजगार पाउने उनको उद्योगमा बन्दावन्दीका कारण ५० जनाले मात्र काम गरे । अहिले बैँकमार्फत ऋण लिएपछि पुनः व्यवसायलाई निरन्तरता दिएका घर्तीले आफु पुरानै अवस्थामा फर्किन ३÷४ वर्ष अझै संघर्ष गर्नुपर्ने योगीको भनाई छ ।
ईट्टाको कारोबार बढ्ने समयमा लकडाउन हुँदा मासिक साढे दुईलाख बराबरको कारोबार घाँटामा गएको संघका सचिव तथा शिव ईट्टा उद्योग बिजौरीका सञ्चालक योगीले बताए । लकडाउनका कारण ईट्टा बनाउन चाहिने कच्चा पदार्थ, ईन्धन, बालुवा लगायतका सामग्रीहरु भारतबाट ल्याउन नपाउँदा व्यवसाय धरासयमा पुगेको उनको भनाई छ । ६ सय जना मजदुरहरुले काम गर्दै आएको उनले उद्योगमा अहिले साढे तीनसय जना मजदुरहरु काम गरिरहेका छन् । भने लकडाउनको अवधीले सबै मजदुरहरु कटौती गरी एकसय जना मजदुरहरु राखेका थिए ।
कोभिड–१९ ले व्यवसाय पुर्ण रुपमा धरासय भएपछि उनले बैँकबाट ६० लाख रुपैयाँ ऋण लिएर पुनः उद्योगलाई सञ्चालन गरेका छन् । ऋण लिएको रकमले मजदुरलाई तलव तथा ज्याला व्यवस्थापन, खानवस्नको व्यवस्था, आवश्यक कच्चा पदार्थको आपुर्ती र ढुवानीमा खर्च गरेको उनले बताए ।
तुलसीपुर–११ कटाहामा किसान ईट्टा उद्योग सञ्चालन गर्दै आएका भरत चौधरीले पनि कोभिड–१९ ले उद्योग सञ्चालन गर्न सकस भएपछि बैँक मार्फत ऋण लिएर पुनः व्यवसाय सञ्चालन गरेका छन् ।
विगत ९ वर्ष देखि उद्योग चलाउँदै आएका चौधरीले कोरोनाका कारण उद्योगको अवस्था दयनिय बनेपछि गत माघ महिनामा मेघा बैँक मार्फत ८५ लाख रुपैयाँ कर्जा लिएर उद्योग सञ्चालन गरेको बताए । एक करोड बरावरको कारोबार बन्द हुँदा उद्योगको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने विषयले अन्यौलमा पारेको उनी बताउँछन् । उनी मात्र नभई जिल्लाका सबै ईट्टा उद्योग सञ्चालन गर्दै आएका उद्योग मालिकहरुको अवस्था उस्तै छ । सरकारले कोभिड–१९ प्रभावित उद्योगीहरुका लागि कुनै पनि राहत नदिँदा आफुहरु संकटमा परेको उनीहरुको भनाई छ ।
उत्पादनमा समस्या
दाङमा अँझैपनि सहज रुपमा ईट्टा उत्पादन हुन सकेको छैन । लामो समयसम्मको बन्दाबन्दी कारण ईट्टा उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरुको मुल्य बृद्धि हुँदा सहज रुपमा ईट्टा उत्पादन हुन नसकेको हो ।
उत्पादनमा लाग्ने लागतको मुल्य बढ्दै जाँदा ईट्टाको मुल्य स्वतः बढ्ने सञ्चालकहरु बताउँछन् । तर ईट्टाको मुल्यमा बृद्धि भएको भन्दै ईट्टा खरिद गर्नेहरुको सँख्या कमी हुँदै गएको छ । जसका कारण प्रशस्त मात्रामा ईट्टाको उत्पादन गर्न सकिएको छैन । लामो समयसम्म बन्द भएका उद्योगहरु विस्तारै सञ्चालनको तयारीमा रहेको बेला कच्चा पदार्थमा भएको मुल्यबृद्धिले थप समस्यामा पारेको उनीहरु बताउँछन् ।
सुनुवाई नभएको गुनासो
लामो समयसम्म भएको बन्दाबन्दीका कारण उद्योगहरु बन्दा हुँदा पनि सरकारले यस विषयमा चासो नदिएको उद्योग सञ्चालकहरु बताउँछन् । कोभिड–१९ प्रभावितहरुका लागि राहतको व्यवस्था गरिएको भनिएपनि हालसम्म आफुहरुले कुनैपनि राहत नपाएको संघका सचिव प्रेमनाथ योगीले बताए । गत बैशाखमा जिल्ला प्रशासन कार्यालय , स्थानीय सरकार लगायतका निकायहरुलाई कर छुट र राहत उपलव्ध गराउन लविङ गरेपनि अहिले सम्म कुनै प्रतिकृया नआएको बताए । ‘उद्योगको कारोवार सुन्य अवस्थामा पुग्दा पनि सरकारले कर लियो, उनले भने–‘ पटक–पटक अनुरोध गर्दा पनि कर समेत छुट भएन ।’ भारतिय मजदुरहरु अल्पत्र परेको समयमा जिल्ला प्रशासनले मजदुर उद्धार बाहेक अन्य कुनैपनि किसिमको सहयोग नगरेको उनीहरुको गुनासो छ ।
आन्तरीक निर्माण र रेमिटान्स बढ्न आवश्यक
उद्योगलाई पुरानै अवस्थामा ल्याउनका लागि आन्तरीक निर्माणका कामहरु बढ्न आवश्यक रहेको ईट्टा उद्योग मालिकहरु बताउँछन् । जतिधेरै निर्माणका कामहरु हुन्छ त्यती धेरै ईट्टा उत्पादन र कारोबार हुन उनीहरुको भनाई छ ।
निर्माणका कामहरु सञ्चालन हुनका लागि रेमिटान्स बढन आवश्यक रहेको उनीहरुले बताए । अन्र्तराष्ट्रिय आवागन सञ्चालन, वैदेशिक रोजगारीमा बृद्धि, स्वदेशी लगानीमा बृद्धि भएर रेमिटान्स बढेमा निर्माणका कामहरु बढ्ने र उद्योगहरुले काम पाउने उनीहरु बताउँछन् । ‘नेपालको उद्योग तथा व्यवसाय सञ्चालन हुने र टिक्ने भनेको वैदेशिक रोजगारी र रेमिटान्स रहेछ भन्ने कुरा कोभिड–१९ महामारीबाट बुझियो, उनीहरु भन्छन् ,– उद्योग सञ्चालन हुन र पुरानै अवस्थामा फर्किन निर्माणका कामहरु बढ्न आवश्यक छ ।’
भोको पेटको चिन्ता
लकडाउनका कारण उद्योग बन्द हुँदा सयौँ मजदुरहरु रोजगार विहिन हुन वाध्य भए । उद्योगहरुमा कच्चा पदार्थको आपुर्ती बन्द, उत्पादन र उत्पादित बस्तुको माग शुन्य भएपछि उनीहरु कामबाट बाहिरिनु पर्ने अवस्था आयो । कोही आफ्नै ठाउँ फर्किए कोही अल्पत्र बन्न पुगे । काम गर्दै गरेको उद्योग बन्द हुँदा अधिकाँश मजदुरहरुको रोजिरोटी नै बन्द भएको छ । आम्दानीको स्रोत नै नहुँदा परिवारको खर्च जोहो गर्न निकै मुस्किल परेको श्रमीक मजदुरहरु बताउँछन् ।
सरकारले जारी गरेको बन्दाबन्दीले भएको रोजगार गुम्दा साँझ बिहानको छाक टार्न समस्या हुने गरेको मजदुर चन्दन ठाकुरले बताए । आफुले काम गर्दै आएको उद्योगमा कामदार कटौती गरेपछि आफ्नो रोजगार गुमेको उनले बताए । कुनै समयमा उद्योगको भरमा महिना भरीको खर्च धान्न सजिलो हुने उनलाई अहिले बिहान–साँझको खानाको व्यवस्था गर्न निकै समस्या परेको छ । नियमीत रुपमा काम गर्न नपाउँदा परिवारको पेट कसरी भर्ने भन्ने एउटै पिरलो ठाकुरलाई छ ।
यसैगरी राम श्रीवास्तवले पनि पहिले जसरी सहज रुपमा खान लाउन नपुग्ने बताउँछन् । उनले जसोतसो दैनिक ज्याला मजदुर गरी परिवार पाल्ने गरेको बताए । ‘कोरोनाले गर्दा हामी गरिव दुखीलाई निकै समस्यामा पारेको छ, उनले भने–‘ काम गरेको ठाउँमा जाने हो राख्दैन, अन्यत्र सँधै काम पाईदैन ।’
श्रमीकहरुले काम गर्ने उद्योगहरुमा प्रशस्त काम नहुने र भनेको समयमा रकम नपाउने समस्या देखिएको छ । लामो समयसम्म बन्द भएका उद्योग व्यवसाय भर्खर सञ्चालनमा आउन लागेको समयमा कच्चा पदार्थमा भएको मुल्य बृद्धि, उपभोक्ताको माग नहुनु, बैँकको चर्को ब्याज, बजारीकरणमा समस्या लगायतका विविध कारणले उद्योग सञ्चालनमा समस्या रहेको छ । जसका कारण मजदुरहरुको रोजरोटीमा समेत प्रत्यक्ष प्रभाव परेको छ । अहिले स्वदेशी श्रमिकहरुले उद्योगहरु सञ्चालन भइरहेको अध्यक्ष रोम बहादुर वलीले बताए ।