- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरश्रीनगरको प्राकृतिक सुन्दरता

श्रीनगरको प्राकृतिक सुन्दरता

- Advertisement -spot_img

बसन्त ऋतुको सुरूवातसँगै अर्थात् चैत महिना लागेपछि तानसेनको श्रीनगरमा पर्यटकहरूको भिडभाड हुन थाल्दछ । प्रदेश नम्वर ५ को पाल्पा तानसेनको श्रीनगर हरियाली, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताका कारण घुमफिर गर्न पर्यटकहरूको रोजाईमा पर्दछ ।
श्रीनगरमा विभिन्न ठाउँबाट दैनिकजसो धेरै पर्यटकहरू पिकनिक मात्र होइन हिमालको दृष्यावलोकन गर्न पनि पुग्दछन् । अन्य दिनभन्दा बिदाको दिन पिकनिक खाने र घुमफिर गर्नेको भिड नै लाग्छ । श्रीनगर प्रकृति प्रेमीका लागि रोजाइको स्थलमा पर्दछ ।
करिब १ हजार ५ सय रोपनी क्षेत्रफलमा फैलिएको श्रीनगर शान्त वातावरण छ । श्रीनगरको जंगल क्षेत्रमा चितुवा, खरायो, दुम्सी आदि जनावरहरू र कालिज, तित्रा, कोइली प्रजातिका पंक्षीहरू रहेका छन् ।
श्रीनगर पुगेपछि पर्यटकहरू प्राकृतिक सौन्दर्यले एकैछिन त अचम्मित हुन्छन् । कतिपय पर्यटकहरूले धर्तीको स्वर्ग रहेछ भन्छन् । मौसम सफा भएको बेला श्रीनगरबाट तानसेनलाई हेदा बादलमाथिको सुन्दर नगरी जस्तो देखिन्छ ।
अझ माडी फाँटलाई बादलले ढाक्दाको दृश्यले तानसेन बादलमाथि तैरिइरहेको सुन्दर नगरजस्तो देखिन्छ । उत्तरतिरका सेतै टल्किने हिमशृङ्खला, सूर्योदय र सूर्यास्तपख देखिने मनोरम प्राकृतिक छटालार्ई आँखामा थुनिराखुझैं गराउँछ । श्रीनगर प्राकृतिक रूपले मात्र सिंगारिएको छैन,
यो स्थल ऐतिहासिक पनि हो । मुकुन्दसेन प्रथमका सन्तान मुकुन्द सेन द्वितीयका छोरा महादत्त सेनले गोर्खा राज्य विस्तारको क्रममा सहयोग गरेबापत अर्घा, खाँची र गुल्मी राज्यहरू उपहार पाएका थिए ।
राज्यको सीमा फैलिएपछि राज्यलाई सुव्यवस्थित बनाउन महादत्त सेनले श्रीनगरलाई पाल्पा राज्यको राजधानी बनाएका थिए । राज्य सञ्चालन गर्दाको बखत निर्माण भएका भवन र दरबारका भग्नाभेषहरू अहिले पनि पर्यटकहरूले देख्न सक्दछन् ।

तानसेनको प्रख्यात करूवा हो । कलात्मक विधिको प्रयोग गरी हातले नै कुदेका करूवा बलियो चमकदार देखिने भएकोले पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्दछ । तानसेन घुमफिर गर्न जाँदा चिनोस्वरूप पर्यटकहरू करूवा किनेर फर्कन्छन् । तानसेन नगरपालिका प्राङ्गणमा रहेको ठूलो करूवासँग सेल्फी लिने पर्यटकहरूको पनि कमि हुँदैन । तानसेनमा उत्पादन हुने पाल्पाली करूवा र ढाकाको नेपालभित्र मात्रै होइन विदेशमा पनि उत्तिकै माग हुने गर्दछ ।


श्रीनगरमा शान्त वातावरण, वरिपरी जंगल, सल्लाका रूख र लालीगुराँस फुल्ने समयमा त्यसको आनन्द लिदै श्रीनगर पार्कमा पुगिन्छ । पार्कको पूर्व दिशातिर बौद्ध स्तूप पर्दछ । बौद्ध स्तूपमा हात्ती एवं बाँदरका सुन्दर आकृति कुँदिएका छन् ।
यी चित्रको प्रसंग भगवान् बुद्धको जीवनसँग गाँसिएको छ । प्राचीन समयमा भगवान् बुद्धले ध्यान गर्दा बाँदर तथा हात्तीले सहयोग गरेका थिए ।
श्रीनगर आफैमा प्राकृतिक भ्यूटावर हो । तर पनि पर्यटकहरूलाई थप आकर्षण गर्न श्रीनगरमा निर्माण भएको ३२ मिटर अग्लो ९ तले भ्यूटावर पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ । श्रीनगरको सुन्दर बगैंचा, एकान्त वातावरणले पनि सबै पर्यटकहरको मन लोभ्याउँछ ।

भ्यूटावरबाट तानसेन बजार, माडीफाँट, तराईका समथर भूभाग र विभिन्न हिम शृङ्खलाले पर्यटकहरूलाई आनन्दित बनाउँछ । मौसम सफा हुँदा श्रीनगरबाट माछापुच्छे«,
धौलागिरी, अन्नपूर्ण, मनास्लु, गौरीशंकरजस्ता सेतै टल्केका हिमश्रृङ्खलाहरू पर्यटकहरूले दृष्यावलोकन गर्न पाउँछन् । श्रीनगरमा बालबालिका खेल्नका लागि चिल्ड्रेन पार्क पनि निर्माण भएको छ । अर्कोतर्फ श्रीनगरमा हनुमान मूर्ति, बौद्ध स्तूपलगायत अन्य संरचनामा रमाउँदै सल्लाघारीको शिरशिरे हावा र प्राकृतिक सौन्र्दयतामा पर्यटकहरू रमाउँछन् ।
शनिबार बिदा मनाउन तानसेनबासी मात्र होइन छिमेकी जिल्ला रूपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, पर्वत, स्याङ्जा, कास्की एवं भारतको उत्तर प्रदेशबाट समेतबाट पर्यटकहरू श्रीनगर पुग्ने गर्दछन् । पछिल्लो समय श्रीनगर प्रदेश नम्बर ५ कै मुख्य वनभोजस्थल बन्न पुगेको छ ।
नयाँ बर्षको दिन र प्रणय दिवसको दिन युवायुवतीहरूको श्रीनगरमा भिड नै लाग्ने गर्दछ । फागुन र चैत महिनामा श्रीनगर डाँडा लालीगुराँसले वन क्षेत्रलाई नै शोभामय अर्थात् राताम्य बनाउने गर्दछ । श्रीनगरको जंगलमा पाइने काफल र एैसेलुको स्वादले पर्यटकहरू रमाउँछन् ।
पर्यटकमात्र होइन श्रीनगरमा बिदाका दिन जोडीहरू माया साटासाट गर्न पनि श्रीनगरलाई नै रोज्दछन् । पारिवारिक बन्धनमा बाँधिएकाहरू बिदा सदुपयोग गर्न र बालबालिका भुलाउन श्रीनगर पुग्दछन् । युवा पुस्तामाझ लोकप्रिय श्रीनगरले धेरै कलाकर्मीको ध्यान तानेको देखिन्छ ।

राष्ट्रियस्तरका चलचित्र तथा म्यूजिक भिडियो छायांकन गर्न पनि श्रीनगर पहिलो रोजाईमा पर्दछ ।
श्रीनगर घुमफिर गरेपछि प्रकृतिसँग रमाउने पर्यटकहरू फर्कन गाह्रो मान्छन् ।
थोरै समय भएपनि श्रीनगरको सौन्दर्यसँग प्रीति गाँस्न खोज्दछन् । श्रीनगरमा विशेष गरी तन्नेरी पुस्ताको आकर्षणको केन्द्र पनि मानिन्छ । बिदाका दिन सयौं जोडीहरू माया साटासाट गर्न र पारिवारिक रूपमा समय व्यतित गर्नका निम्ती श्रीनगर पुग्ने गर्दछन् ।
मनोरम र एकान्तमय वातावरणका कारण युवायुवतीको रोजाईमा श्रीनगर पर्ने गरेको छ । पछिल्लो समयमा श्रीनगरले धेरै कलाकर्मीको ध्यान खिच्न सफल भएको छ । श्रीनगरमा थुप्रै राष्ट्रियस्तरका राष्ट्रिय चलचित्र तथा म्यूजिक भिडियो छायांकन भएका छन् । पाल्पामा छायांकन हुने चलचित्र र म्यूजिक भिडियोका लागि निर्माण पक्षले श्रीनगरलाई प्रमुख गन्तब्य बनाउने गरेका छन् ।
तानसेनको श्रीनगर घुमफिर गर्न जाने पर्यटकहरूले तानसेन पुगेपछि श्रीनगर जान भाडाका सवारी साधन पाइन्छ । जिप, भ्यानमा तानसेन तम्घास सडकखण्डको बतासेडाँडा कैलाशनगर हुँदै श्रीनगर पुग्न सकिन्छ ।
बसपार्कबाट श्रीनगर जाने अन्य भित्री सडक पनि छन् । पैदलयात्रा गर्न रूचाउनेहरूका लागि तानसेन बसपार्कबाट सितलपाटी, गणेशस्थान हुँदै करिव एक घण्टाको उकालो चढेपछि श्रीनगर पुग्न सकिन्छ । तानसेन पर्यटकहरू पुगेपछि भोक प्यास, निन्द्रा र आफूले आफूलाई नै बिर्सन पुग्दछन् ।
रातको समयमा तानसेनबाट पर्यटकले डाँडाभरी आकाशका तारा सर्लक्कै झरेझैंको दृश्य देख्न सक्दछन् । तानसेन कोलाहलपूर्ण स्थितिबाट केही समय आराम गर्नको लागि अति उत्तम ठाउँ हो ।
श्रीनगरको घुमफिरपछि तानसेन दरबार अवलोकन गर्ने सबै पर्यटकहरूको इच्छा हुन्छ ।
वि.सं.१९६३ सालमा तत्कालीन जनरल प्रताप शमशेरद्वारा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि दरबार निर्माण गरेका हुन् ।
राणा शासनको अन्त्यपछि २०१५ सालदेखि ऐतिहासिक दरबारलाई तत्कालिन सरकारले सरकारी कार्यालयको रूपमा परिणत गरेपछि करिब एक दर्जन विभिन्न कार्यालयहरू रहदै आएका थिए ।
माओवादी जनयुद्धमा ध्वस्त भएको तानसेनको दरवार पुनः निर्माण भएपछि दरबार परिसरभित्र रहेका सबै कार्यालय हटाई ऐतिहासिक संग्रालयको रूपमा परिणत गरिएको छ । तासेन दरबार बहुउद्देश्यीय सङ्ग्राहलय भएकोले ऐतिहासिक तथा पुरातात्विक महत्व झल्किने सम्पदाहरू सङ्ग्राहलयमा छन् ।
दरबार पसिरमा जोडिएको भगवती मन्दिर उजीरसिंह थापाले निर्माण गरेका हुन् । उजीरसिहं थापाले तत्कालीन पाल्पाको जीतगढीमा अंग्रेजहरूलाई परास्त गर्न सफल भएपछि भगवतीको मन्दिर निर्माण गरेका हुन् । भगवती मन्दिरमा विजयउत्सवकै प्रतीक स्वरूप प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विशाल रथयात्रा उत्सव मनाइन्छ ।
ब्रिटिश इण्डिया कम्पनीलाई पराजित गरेमा मन्दिर बनाउने भाकल उजीरसिंह थापाले गरेका थिए । खडक शमसेरद्धारा हावा खान र सैनिकहरूको जमघट गराउन वि.स. १९५० मा निर्माण गरिएको शितलपाटी र एसियाकै ठूलो मानिने काठबाट निर्मित शितलपाटीको मुलढोका, अमरसिंह थापाले निर्माण गरेका अमरनारायण मन्दिर पर्यटकहरूका लागि अध्ययन अनुसन्धान र अवलोकनका स्थलहरू बन्दछन् ।
इतिहासको कालखण्डमा प्रधानमन्त्रीको रोलक्रमबाट खेदिएका राणाहरूले पाल्पामा गरेका विकास निर्माण अहिले पाल्पाको पहिचान मात्र नभएर आन्तरिक एवं वाह्य पर्यटकहरूको गन्तब्य बनेको छ । चाहे नेपालको ताजमहल भनेर चिनेपनि,
रानीमहल भनेपनि, सच्चा प्रेमको प्रतिक ठानेपनि राणाहरूले पाल्पा गौडाको लागि तैनाथ गरी पठाएका सेनापति खडक शमसेरले आफ्नो दिवंगत भएकी रानी तेजकुमारीको सम्झनामा निर्माण गरिएको दरबार हो, कालीगण्डकी किनारमा रहेको रानीमहल ।
वि.स. १९५० सालमा शिलान्यास भएर १९५४ साल निर्माण सम्पन्न भएको रानीदरबार नागबेलीको स्वरूप बग्दै आएको कालीनदी उत्तर फर्किएको मोडमा चट्टानमाथि बनाइएको छ । पश्चिमीकला र कौशलको उत्कृष्ट नमुनाबाट तयार पारिएको रानीमहलमा खडक शमसेरले महत्वपूर्ण साजसज्जा र फर्निचरबाट कोठा सजाएका थिए ।
पाल्पा र स्याङ्जा जिल्लाको सीमामा रहेको कालीगण्डकी किनारको रानीमहल अहिले पाल्पा घुमफिरमा जाने पर्यटकहरू धेरैजना पुग्ने गर्दछन् । तानसेनबाट १७ किलोमिटर दूरीमा रहेको रानीमहल नेपालमा ताजमहलका रूपमा चिनिन्छ ।
तानसेनबाट भुसलडाँडा, बराङ्दी हुँदै पैदल ३ घण्टा र मोटरबाट १ घण्टामा पुग्न सकिने रानीदरबार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवायुवतीहरू आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस् भन्ने उद्देश्यले रानी दरबारलाई साक्षी राख्न पुग्ने गर्दछन् । रानी दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विश्वासले प्रेममा भुलेका जोडीहरूले भित्तामा नाम लेख्ने गर्दछन् ।
पाल्पा पुगेपछि भैरवस्थान पुगेन भने घुमघाम नै अधुरो हुन्छ । भैरवस्थान मन्दिर तानसेनदेखि ९ किलोमिटर पश्चिम रिब्दीकोट गाउँपालिकामा पर्दछ । पहाडको टुप्पोमा ठूलो त्रिशुल रहेको यो मन्दिरमा प्रायः सधैभरि तीर्थाटनका पर्यटकहरू पुग्ने गरेता पनि विशेषगरी मंगलबार र शनिबारका दिन धेरै तीर्थाटनका लागि पर्यटक पुग्दछन् ।
विभिन्न चाडपर्वहरूमा बोका, हाँस, कुखुरा र पाडाहरूको बली कालभैरवलाई दिने प्रचलन छ । भैरवस्थानबाट अधिकांश हिमशिखरहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
कालभैरव मन्दिरमा ‘रोट’ प्रसादले भिन्न किसिमको पूजा र दर्शनको अनुभव गराउँछ । जुन रोट चामलको पिठो र घ्यूबाट माना, पाथी अथवा दर्शनार्थीहरूको मागअनुसार तयार गरिन्छ ।
तानसेनको ऐतिहासिक पृष्ठभूमि अत्यन्त रोचक छ । मुसलमानहरूले भारतमा आक्रमण गर्दा धेरै राज्यका हिन्दू वंशहरू उत्तरी क्षेत्रतर्फ भागेर आए । १५औं शताब्दीमा तिनीहरू हिमाली प्रदेशतर्फ प्रवेश गरे र तिनीहरूले आफनै छुट्टै राज्य स्थापना गरे ।
त्यस समयमा रूद्र सेनले पाल्पामा सेन वंशीय राज्य विस्तार भयो । रूद्र सेनले जंगललाई फडानी गरी तानसेनको बस्ती बसाएका हुन् । जसको राजधानी तानसेन बन्न पुग्यो । पौराणिक किम्बदन्ती अनुसार तानसेन भन्ने शब्द सेन वंशका राजाको नामबाट ताम्रसेनको रूपमा रहेको मान्यता पनि छ ।
तर अर्को मान्यताअनुसार मगर शब्द तान्सिङबाट तानसेन बन्न गयो । जसको अर्थ उत्तरी बस्ती भन्ने बुझाउँछ । मगर भाषामा सल्लाको एक प्रजातिलाई ‘टानसिङ’ भनिन्छ । ‘टानसिङ’ सल्ला प्रजातिको काठलाई कपडा बुन्ने तान बनाउन प्रयोग गरिन्थ्यो ।
मगरहरूले पहिलेदेखि नै आफैंले बुनेका कपडा लगाउँथे, जसलाई ‘घरबुना’ कपडा भन्ने गरिन्थ्यो । तान बनाउन प्रयोगमा आउने यस प्रजातिको सल्ला प्रशस्त पाइने हुनाले यस ठाउँको नाउँ ‘टानसिङ’ रहेको हो । मगर भाषाबाट ‘टानसिङ’ भनी नामकरण भएको यस ठाउँको नाउँ बोल्ने क्रममा अपभ्रम्स हुँदै ‘टानसिङ’ बाट ‘तानसिङ’ हुँदै ‘तानसेन’ रहन गएको हो ।
सेन वंशी शासकहरूले जग बसालेको तानसेन बजार, तानसेनमा राणाकालीन शासनमा आएको नयाँ परिर्वतन तानसेनको इतिहास छ । तानसेनको अमरनारायण मन्दिर, कालभैरवको मन्दिर र रानीमहल निर्माणमा प्रयोग गरिएका कलात्मक काठका बुट्टाहरू,
ईट र रानी महलको कोठा–कोठा र बार्दलीमा छापिएका तेलिया ईटहरूलाई हेर्दा तानसेन घुमफिर गर्ने पर्यटकहरूलाई काठमाडाँं उपत्यकातिरकै मन्दिर, दरबारको सम्झना गराउँछ ।
यतिमात्र नभई तानसेन बजारभित्रको टोलको नामहरू असनटोल, मखनटोल, बसन्तपुरजस्ता तानसेन बजारका नामहरूले पर्यटकहरूलाई कता–कता काठमाडौं नै हो कि भन्ने अनुभूति हुन्छ । प्रकृतिको सुन्दर उपहार तानसेन अवलोकन गर्न कम्तीमा पनि तीन दिनको बसाइ आवश्यक छ । यहाँका हेर्न भने एक हप्ता पनि लाग्न सक्दछ ।
तानसेनको घुमफिरमा टुडिखेल सबै पर्यटकहरू पुग्दछन् । टुडिखेलबाट माडी फाँट, मदनपोखरा र आसपासका सुन्दर ग्रामीण बस्तीहरू देख्न सकिन्छ भने उत्तरतिर श्रीनगर डाँडाको सल्लाघारी र तानसेन बजारको नारणस्थान, मेलधारालाई नजिकैबाट देख्न सकिन्छ ।
अंग्रेजसँगको युद्धमा नेपाललाई विजयी बनाएका तत्कालीन कर्णेल उजिर सिंह थापाले पूर्णकदको शालिक नि टुडिखेलमा राखिएको छ । वि.सं. १८७१ देखि १८७२ सम्म बुटवल जितगढी नुवाकोट क्षेत्रमा भएको युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेका कर्णेल उजिर सिंह थापाको शालिकमा सेल्फी खिच्ने पर्यटकहरू पनि धेरै हुन्छन् ।
तानसेनको प्रख्यात करूवा हो । कलात्मक विधिको प्रयोग गरी हातले नै कुँदेका करूवा बलियो चमकदार देखिने भएकोले पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्दछ । तानसेन घुमफिर गर्न जाँदा चिनोस्वरूप पर्यटकहरू करूवा किनेर फर्कन्छन् ।
तानसेन नगरपालिका प्राङ्गणमा रहेको ठूलो करूवासँग सेल्फी लिने पर्यटकहरूको पनि कमि हुँदैन । तानसेनमा उत्पादन हुने पाल्पाली करूवा र ढाकाको नेपालभित्र मात्रै होइन विदेशमा पनि उत्तिकै माग हुने गर्दछ । तानसेन बजारको बसाइमा होटल,
लज र होमस्टेको आतिथ्य सत्कार र पर्यटकहरूले कहिल्यै भुल्न सक्दैनन् । तानसेनमा पाइने पाल्पाली खाना मात्र होइन झिनियाँ रोटी, बटुक, चुकौनी र हाँसको छोइलाको स्वादले पर्यटकहरू रमाउँछन् । तानसेन बुटवलदेखि ३९ किमी र काठमाडौं देखि ३१० किमीको दूरीमा रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here