Thursday, April 18, 2024
Homebreaking-newsदाङमा पनि देखियो सलह किरा

दाङमा पनि देखियो सलह किरा

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १५ असार । दाङमा पनि विनासकारी सलह किरा देखिएको छ । शनिबार नेपाल भित्रिएको सलह किरा आइतबार तुलसीपुर उपमहानगरापालिका विभिन्न वडामा देखिएको छ । अलि बढी वडा नं ४ का केही बस्तीमा देखिएको हो ।
तुलसीपर–४ मा सलह किरा देखिएपछि कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालसहित तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतमसहितको टोली पुगेर स्थानीयले संकलन गरेको सलह किराको फोटो खिचेर कृषि अनुसन्धान परिषदमा पठाउँदा उक्त किरा सलह नै भएको पुष्टि भएको हो ।
‘वडा अध्यक्षज्यूले फोन गरेपछि हामीहरू उक्त स्थानमा पुगेका थियौँ, स्थानीयले संकलन गरेको किराको फोटो खिचेर पठाएपछि सलह नै भएको पुष्टि भएको हो’ कृषि ज्ञान केन्द्रका प्रमुख धितालले भने– ‘अहिले झुण्ड नै देखिएको छैन्, केही छिटफुट रूपमा देखिएको छ, तर सतर्कता भने अपनाउनुपर्छ ।’
तुलसीपुर–४ को खाद्रेमा सलह किरा देखिएपछि स्थानीय चिन्तित बनेका छन् । शनिबार राति नै आएको किराले बालीनालीमा क्षति नगरेको भएपनि अझै पनि आउन सक्ने भन्दै किसान चिन्तित बनेका छन् ।
‘किरा देखिएको स्थानमा बालीमा क्षति भएको छैन्, हामीले तै पनि सतर्क हुन आग्रह गरेका छौँ’ प्रमुख धितालले भने– ‘अहिले छोप्ने नै हो, अलि बढी देखिन थालेपछि किटनाशक औषधि छर्कने विकल्प छैन् ।’
वर्षात भएका कारण पनि शनिबार राति थोरै मात्रै किरा आएको हुनसक्ने प्रमुख धितातले बताए । ‘यो किरा भनेको जता हावाको बहाव गयो, त्यतै जाने हो, अहिले पश्चिमतिर यो किरा देखिन थालेको छ ।’ उनले भने– ‘रोकथामका लागि प्रयासहरू गरिएका छन् ।’
वडा अध्यक्ष बालकृष्ण रानाका अनुसार ६० वर्षपछि सलह किरा देखिएको हो । ‘गाउँका अगुवासँग बुझ्दा यो किरा करिब ६०÷६५ वर्ष अघि देखिएको रहेछ, त्यो बेलामा पनि बालीनालीमा किराले क्षति पु¥याएपछि भोकमरी भएको थियो रे’ उनले भने ‘किरा देखिएपछि अहिले पनि किराले फेरि क्षति पु¥याउने हो कि भन्ने चिन्तामा परेका छन् ।’
प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पा पनि पसेको थियो । शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तमा र देवदह क्षेत्रमा सलह देखिएको हो । दिउँसो बुटवल, मर्चवार र लुम्बिनी क्षेत्रमा पनि देखिएको थियो ।
मध्याह्नसम्म फाट्टफुट्ट देखिएको सलह शनिबार दिउँसो साढे ३ बजेपछि हुलका हुल आकाशमा उडेको देखिएको हो  ।
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि सीमा क्षेत्र हँुदै सलह किराले रूपन्देहीको आकाश ढाकेको बताए । सलह बुटवलबाट पश्चिम र उत्तर दिशातर्फ लागेको निर्देशक देवकोटाले जानकारी दिए ।
यसैबिच दाङमा कुनै पनि ठाउँमा सलह किरा देखिएमा तुरून्तै खबर गर्न आग्रह गरिएको छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जिल्लाका कुनै पनि स्थानमा सलह किरा देखिए खबर तुरून्तै खबर गर्न आग्रह गरे ।
‘किरा देखिने बित्तिकै यसको नियन्त्रणका लागि प्रयास थाल्नुपर्छ, नत्र भने बालीनालीमा झन क्षति पुग्न सक्छ, त्यसैले पनि सकेसम्म स्थानीय तहका कृषि शाखा वा कृषि ज्ञान केन्द्र दाङमा सम्पर्क गरिदिन अनुरोध गर्दछु’ उनले भने–‘सर्तक हुनुपर्ने अवस्था छ, अहिले थोरै मात्रामा देखिएपनि भोलिका दिनमा झनै देखिन सक्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here